

‘दुई शब्द’ले खोसेको सुदीपको जीवन !

काठमाडाैं – वैशाखको ९ गते अर्थात् अप्रिल २२ मंगलबार । आमा, बहिनी र ज्वाईंसँगै बिदा मनाउने सुरमा भारतको कश्मिर पुगेका बुटवल–१४, बेलबरियाका सुदीप न्यौपानेले आतंककारीले भनेका ‘२ शब्द’ नभन्दा जीवन नै गुमाएका छन् ।
उनीसँगै गएका ज्वाईं उज्ज्वल काफ्लेका अनुसार आतंकवादीको समूहले ‘अल्लाह मुस्लिम’ भन्ने दुई शब्द भन भन्दा नभनेपछि २ गोली हानेर २७ वर्षे नौजवान सुदीपसहित २७ जनाको ज्यान लिएको जनाएका छन् ।
आतंककारीहरुले भनेका ती दुई शब्द भनेपछि आमा, बहिनी र ज्वाईं कालको मुखबाट फर्किएका थिए भने सुदीपले ती दुई शब्द नभन्दा आतंककारीको गोलीको निशाना बन्न पुगे । पहिलो गोली हातमा लागेर घाइते भएका सुदीपलाई दोस्रो गोली ताकेरै छातीमा हानेको उनका ज्वाईं काफ्लेले बताए । यदि सुदीपले पनि उनका आफन्तले जस्तै अल्लाह मुस्लिम भनिदिएको भए ज्यान बच्ने थियो कि? बेलबरियामा सुदीपको अन्तिम अनुहार हेर्न भएका बुटवलबासीको अनुत्तरित प्रश्न रहेको छ । उज्ज्वलले भने आफूहरुले आतंककारीहरुले भनेको शब्द दोहोर्याएको जनाए ।
सुदीप ढलेपछि आमा र श्रीमतीलाई सम्हालेर सुरक्षित घरसम्म ल्याइपुर्याएका उज्जवलले त्यसपछि के–के भयो आफूले सोच्नै नसकेको जनाए । ‘त्यहाँको परिवेशबारे एक शब्द पनि बोल्न सक्ने हिम्मत ममा छैन,’ उनले थपे ।
आतंककारीहरुले पर्यटकहरुलाई नाम र धर्म के हो ? भन्दै प्रश्न गरेको र त्यसको उत्तर सुनेपछि एकाएक गोली हानेको पनि काफ्लेले जनाए ।
सुदीपको शवसहित काफ्लेले श्रीमती र आमा (सासु)लाई लिएर बिहीबार बिहान बुटवलस्थित घरमा ल्याइएको थियो ।
घटनामा काफ्लेकी सासु एवं सुदीपको आमा रिना पाण्डे सामान्य घाइते भएकी छिन् । तर, उनले आफ्नो शारिरीक चोटभन्दा छोरा गुमाउनु परेको ठूलो चोट जीवनभर भोगेकी छिन् ।
जब सुदीपको शव भएको बाकस घरमा आइपुग्यो तब, उपस्थितहरु डाँको छाडेर रोएका पीडा पोखिरहेका थिए ।
अहिले यतिबेला सुदीपको शव त्रिवेणी घाटमा अन्तेष्टीका लागि लगिसकिएको छ भने घरमा आफन्तका साथै आम बुटवलबासी भेला भएका छन् ।
उक्त घटनामा सुदीपसहित केही विदेशीसहित २७ जनालाई गोली हानेर हत्या गरिएको थियो ।
उक्त घटनाको जिम्मेवारी ‘लस्कर ए तोयवा’नामक आतककारी समूहले जिम्मा लिएको जनाइएको छ ।
घटनापछि साउदी अरब भ्रमणमा रहेका भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी तत्काल भारत फर्किएका थिए भने भारतले पाकिस्तानविरुद्ध महत्वपूर्ण कदम चालेको छ ।
भारत सरकारले १९६० मा गरिएको सिन्धु जलसन्धीलाई निलम्बन गर्नुका साथै पाकिस्तानी नागरिकहरुलाई जारी गरिएको सम्पूर्ण भिषा रद्द गर्नुका साथै ४८ घन्टाभित्र भारत छाड्न आदेश दिएको छ ।
त्यस्तै भारतले इस्लामाबादमा रहेका भारतीय उच्चायोगबाट आफ्ना रक्षा/नौसेना एवं सल्लाहकारहरुलाई फिर्ता बोलाउने समेत निर्णय गरेको छ ।

