सिंह, धानुक र पन्त एआईजी बढुवा सिफारिस भएसँगै प्रहरी नेतृत्वमा परिवर्तन होला?
काठमाडाैं – आउँदो २०७९ वैशाख १८ गते ३० वर्षे सेवा अवधिका कारण हालका प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीले प्रहरी सेवाबाट अनिवार्य अवकाश पाउँदैछन्। क्षेत्री निवृत्त भएसँगै नेपाल प्रहरीले आउँदो वैशाख १९ गते प्रहरी संगठनको २९औं आईजीपी पाउनेछ।
नेपाल प्रहरीमा अहिले हरि पाल, निरज शाही, प्रद्युम्न कार्की , विश्वराज पोखरेल र सहकुल थापासमेत पाँच जना प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) छन्। उनीहरुमध्ये ३० वर्षे सेवा अवधिका कारण आईजी थापासँगै एआईजीहरु पाल, शाही र कार्की पनि आउँदो वैशाख १९ गते नै अनिवार्य अवकाशमा जानेछन्। त्यसपछि एआईजीद्वय पोखरेल र थापा बाँकी रहन्छन्।
नयाँ थपिएको दरबन्दीमा प्रहरी नायब महानिरीक्षक (डिआईजी) हरु धिरजप्रताप सिंह, रविन्द्र धानुक र बसन्त पन्त बढुवा सिफारिस भएपछि अब भावी नेतृत्वमा परिवर्तन हुनसक्ने सम्भावना बढेको छ। मंगलबार गृह सचिव टेकनारायण पाण्डेको अध्यक्षतामा बसेको बढुवा समितिले डिआईजीत्रय सिंह, धानुक र पन्तलाई एआईजी बढुवाका लागि सिफारिस गरेको छ।
५ फागुनमा सरकारले नेपाल प्रहरीमा एआईजीको ३ वटा नयाँ दरबन्दी थप्ने निर्णय गरेको थियो। थपिएको दरबन्दीमा सिंह, धानुक र पन्तलाई बढुवा सिफारिस गरिएको हो। अब नेपाल प्रहरीमा ८ जना एआईजी रहनेछन्। सरकारले एआईजीमध्ये जसलाई चाहन्छ, उसैलाई आईजीपी बनाउन सक्छ।
प्रहरी नियमावली २०७१ को दफा ४० अनुसार ज्येष्ठता, कार्यकुशलता, कार्यक्षमता उत्तरदायित्व वहन गर्नसक्ने क्षमता, नेतृत्व प्रदान गर्नसक्ने कुशलता तथा आफूभन्दा मुनिका प्रहरीलाई प्रोत्साहन र परिचालन गर्नसक्ने क्षमताको आधारमा एआईजी र एआईजी नभएको अवस्थामा डिआईजीबाट सरकारले प्रहरी महानिरीक्षकमा बढुवा गर्नसक्ने उल्लेख छ।
नियमावलीमा भनेजस्तो ज्येष्ठताका आधारमा वर्तमान आईजीपी क्षेत्रीको अवकाशपछि नयाँ आईजीको बलियो दाबेदार पोखरेल हुन्। तर, पोखरेल राजनीतिक रुपमा नेकपा एमाले निकट नेताको प्रस्तावमा एआईजीमा नियुक्त भएका थिए। उनलाई एमालेको ‘ट्याग’ लागेको छ।
पोखरेल केपी शर्मा ओली प्रधानमन्त्री रहेका बेला एआईजीमा बढुवा भएका हुन्। त्यतिबेला पोखरेलको लागि एआईजीको एकल नयाँ दरबन्दी थपेर ओली सरकारले बढुवा गरेको थियो। जबकी सुरक्षा संगठनमा दरबन्दी बढाउने वा घटाउने विषयमा ओएन्डएम हुनुपर्ने कानुनी मान्यता प्रावधान छ। तर, पोखरेल एआईजी बढुवा सिफारिस हुँदा नयाँ ओएन्डएम नभइकन दरबन्दी थपिएको हो।
प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) र डिआईजीमा अस्वाभाविक छलाङ मारेका पोखरेलले त्यतिबेला एआईजी बढुवामा पनि त्यसैलाई निरन्तरता दिँदै भावी आईजीपीको स्थान सुरक्षित गरेका थिए। जतिबेला पोखरेल प्रहरी नेतृत्वको लागि एकल दाबेदार थिए।
तर, आईजी बन्नकै लागि राजनीतिक शक्तिको आडमा सिनियर प्रहरी अधिकृतहरुलाई पाखा लगाउँदै एआईजीसम्म बनेका पोखरेलको सपना कतै तुहिने त होइन? भन्ने आशंका उब्जिएको छ।
११ चैत २०४९ सालमा नेपाल प्रहरीमा सँगै प्रवेश गरेपनि पोखरेल एसएसपी हुँदासम्म सिंह र धानुकभन्दा पछि नै थिए। तर, बीचमा तत्कालीन उपप्रधानमन्त्री ईश्वर पोखरेलको जोडबलमा खाली रहेको डिआईजीको दरबन्दीमा पोखरेलले एकल फड्को मारेका हुन्।
डिआईजीमा पोखरेलले ‘सिंगल प्रमोसन’ पाएपछि त्यो उनका ब्याचीहरुलाई सह्य थिएन। त्यतिबेला प्रहरी अधिकृतहरुले पोखरेलका कारण प्रहरी संगठनमा बाह्य शक्तिको प्रभाव नांगो रुपमा देखिएको आरोप समेत लगाएका थिए।
१५ मंसिर २०७७ मा बरीयताक्रम मिचेर आईजीपी बन्ने प्रतिस्पर्धा अन्त्य गर्ने गरी पोखेरेललाई बढुवा गरिएको भन्दै संसदको राज्य व्यवस्था समितिले निर्णय सच्याउन सरकारलाई निर्देशन पनि दिएको थियो। तर, त्यसलाई बेवास्ता गर्दै पोखरेललाई एआईजी बनाइएको थियो।
प्रहरी सेवामा प्रवेश गरेदेखि नै सिंहलाई भावी आईजीको प्रतिस्पर्धीका रुपमा लिइन्थ्यो। सोहीअनुरुप प्रधानमन्त्री शेरबहादुर देउवाले उनीहरुमध्ये एक जनालाई प्रहरी संगठनको नेतृत्व दिनसक्ने सम्भावना बढेको छ।
त्यसैले पोखरेललाई प्रहरी संगठनको नेतृत्व दिए नेपाली कांग्रेसलाई असहयोग हुने दाबीसहित प्रधानमन्त्री देउवा आफूले भनेको मान्ने व्यक्तिलाई एआईजीमा बढुवा गरेर नेतृत्व दिन खोजिरहेको स्रोतले बतायो
त्यस्तै पोखरेलकै ब्याची रहेका सहकुल थापा पनि आईजी बन्नको लागि चर्को लबिङ गरिरहेका छन्। सरकारबाट बाहिरिनै लाग्दा ओली नेतृत्वको मन्त्रिपरिषद्ले एआईजीको नयाँ दरबन्दी थप गर्दै थापालाई पनि बढुवा गरेको हो।