

जन्मोत्सवको पाँचौ दिनमा सुपरमोडलको निधन

लण्डन(एजेन्सी)–ब्रिटिस सुपरमोडल स्टेला टेनेन्टको ५० वर्षको उमेरमा गत मंगलबार निधन भएको छ । स्टेलाको परिवारले बुधबार ब्रिटिस सुपरमोडलको निधनको जानकारी दिएका हुन् । स्टेला टेनेन्टले सन् १९९० मा करियरको शुरुवात गरेकी थिइन् र करिब तीन दशकसम्म टप मोडलका रुपमा मोडलिङ उद्योगमा आफ्नो दबदबा कायम गरेकी थिइन् ।
स्टेलाको निधनको खबर उनको पचासौं जन्मदिनको पाँच दिनपछि सार्वजनिक भएको थियो । स्टेलाको परिवारले उनको निधनको पुष्टि गर्दै आफूहरुले निकै दुःखका साथ २०२० डिसेम्बर २२ मा आकस्मिक निधन भएको जनाएका छन् । परिवारले स्टेला वृहत शानदार मान्छे भएकाले सबैका लागि एउटा प्रेरणाको स्रोत रहेको उल्लेख गरेका छन् ।
यद्यपि स्टेलाको के कारणले मृत्यु भयो भन्ने आधिकारिक जानकारी आउन सकेको छैन । स्थानीय प्रशासनले उनको शंकास्पद मृत्यु भएको हुनसक्ने कुरालाई अस्वीकार गरेको छ । ९० को दशकको सुरुवाती समयमा काम शुरु गरेकी स्टेला एन्ड्रोजीनियस स्टाइल र पिक्सी कटका लागि आफ्नो फ्यान माझ लोकप्रिय थिइन् । उनले कैयौं चर्चित हाइप्रोफाइल शोमा सहभागिता जनाइन् । सँगै उनले प्रख्यात ब्राण्डका लागि स्टेला एक चिरपरिचित अनुहार थिइन् ।

