पूर्वआईजी सर्वेन्द्र खनाल किन राजनीतिमा आउन चहान्छन्?


काठमाडौं– नेपाल प्रहरी महानिरिक्षक (आईजी) कार्यकालको उत्तरार्धमा सर्वेन्द्र खनालले संवाददातासँग अनौपचारिक संवादमा भनेका थिए,‘मेरो करिअर त भर्खर सुरु भयो, अझै उर्जासहितको उमेरलाई सेवामा समर्पित गर्नेछु।’

सेवा निवृत्त भएको बर्ष दिनसम्म उनले भविष्यमा कुन दिशातिर मोडिने भन्ने खासै संकेत दिएनन्। ३० बर्षको जागिरे जीवनबाट फूर्सद पाएका उनी बर्ष दिनसम्म त्यस समयको व्यस्ततालाई भूल्न ‘होलिडे’ मनाइरहेका थिए, सायद।

तर खनाल यसबीचमा संवैधानिक आयोगमा नियुक्तिको तयारीमा रहेको हल्लाखल्ला पनि चलेको थियो। तत्कालिन प्रधानमन्त्री केपी शर्मा ओलीसँग सन्निकट रहे पनि कोभिड–१९ को प्रभावका बेला रहेको बन्दाबन्दीमा उनको नाम चर्चामा आयो, सांसद सुरेन्द्र यादव प्रकरणमा।

एमाले सांसद महेश बस्नेत, तत्कालिन एमाले सांसद हालका श्रममन्त्री किसान श्रेष्ठ र खनालले यादवलाई महोत्तरीबाट काठमाडौंसम्म अपहरण गरेको भन्ने अभियोग लाग्यो। पूर्वप्रधानमन्त्री समेत रहेका डा. बाबुराम भट्टराईसहितका नेताले उनीलगायतविरुद्ध महानगरीय प्रहरी परिसर काठमाडौंमा उजुरी दिन पुगेका कारण यो विषयले केही समय चर्चा पाएको थियो।

तर खनालले उक्त अभियोगलाई प्रतिवाद गर्दै भनेका थिए,‘सांसद यादव आफ्नो राजीखुसीमा आएका थिए, कसरी अपहरण हुन्छ? यो बेकारको राजनीतिक स्टन्ट मात्र हो।’

नेपाल प्रहरीको एउटा संक्रमणकालिन संगठनात्मक अवस्था रहेका बेला खनाल आईजीमा नियुक्त भएका थिए। उनको नियुक्तिका केही पराकम्पन पनि देखिएका थिए। खनाल आईजी हुनासाथ असन्तुष्ट रहेका तत्कालिन प्रहरी नायव महानिरिक्षक (डीआईजी) रमेश खरेलले राजीनामा दिएका थिए। खरेल पनि राजनीतिमा सक्रिय हुने तयारीमा अभियानमा जुटे र अब पार्टी खोल्ने तरखरमा छन्।

खनाल त्यस बेला आईजी नियुक्त भए जतिबेला प्रहरी संगठन उनीअघिका आईजी प्रकाश अर्यालले भताभुङ्ग पारेका थिए। खनालको नियुक्तिसँगै त्यसबेला प्रतिबन्ध रहेको नेक्रविक्रम चन्द विप्लव समूहका कयौं कार्यकर्ता र आपराधिक गतिविधिमा संलग्न रहेका व्यक्ति सिलसिलेबार पक्राउ गरिए।

सोही बेला सर्लाहीमा कुमार पौडेलको इन्काउन्टर भयो, जुन प्रकरणमा अहिले खनालसहित तत्कालिन गृहमन्त्री रामबहादुर थापालाई समेत उजुरी गर्नुपर्ने भन्दै आवाज उठेको छ।

यी विभिन्न प्रकरण र चर्चाबीच खनाल राजनीतिमा सक्रिय हुने विवरण सतहमा आएका छन्। उनी प्रमुख प्रतिपक्षी दल नेकपा एमालेमा सक्रिय हुने बताइएको छ। तनहुँ गृहजिल्ला भएका खनालले एमालेबाट राजनीतिक करिअर सुरु गर्न लागेको बताइएको छ।

‘अहिले सोही हिसाबले चर्चा भएको छ। मैले खुलेर यो पार्टी भनेको छैन, राजनीतिमा आउने पक्का हो’, खनाल भन्छन्,‘आगामी आम चुनावअघि त म खुलस्त भइसकेको हुनेछु।’

उनी एमालेबाट तनहुँ जिल्लामा सक्रिय हुने तयारीमा छन्। तर प्रहरी सेवामा लामो समय बिताए पनि राजनीतिमा आउनुको चाहना किन राख्छन् खनाल?

‘स्थायीत्वको त कुरा नै सम्भव भएको छैन, राजनीतिमा कुनै न कुनै रुपमा भित्र र बाहिर पनि सुधार आवश्यक छ’, उनी भन्छन्। एउटा फौजी संगठनलाई २२ महिनासम्म चलायमान बनाउनका लागि सफल भएका कारणले नै उनी संगठनात्मक ढाँचामा हुने कम्युनिस्ट राजनीतिमा प्रवेश गर्न लागेका हुन्।

संगठनमा रोष र समर्थन गर्ने मानिसको समूह भए पनि सबल परिचालनले मात्र राजनीतिक दल सफल हुन्छ भन्ने खनाल ठान्छन्। उनले देशमा रहेका विविध प्रकारका अपराधदेखि बेथितिसम्मका विषयलाई मिहिन ढंगले बुझेका कारणले पनि राजनीतिक दल नै उनका लागि उपयुक्त प्ल्याटफर्म रहन गएको बताइन्छ।

जनकपुरलगायतका केही ठाउँमा सार्वजनिक मञ्चमा उनको एउटा भाषणले चर्चा पाएको थियो। त्यसमा खनालले भनेका थिए,‘यो देशमा भएका अपराध र त्यसका नालीबेलीलाई चिर्न आवश्यक छ।’

धेरैले शक्तिमा रहने तिर्खाका कारण खनालले यस बाटो समात्न लागेको बताए पनि जीवनको बाँकी समयको उर्जा मुलुकको सेवाका लागि नै राजनीतिबाटो समातेको खनालको भनाई छ।

प्रहरीमा लामो समय सेवा गरे पनि राजनीतिलाई करिअरका रुपमा लिने खनाल मात्र पहिलो पात्र होइनन्। यसअघि आईजीका लागि दाबेदार रहेका तर विभिन्न शक्तिका कारण उक्त जिम्मेवारी नपाएका पूर्वडीआईजी नवराज सिलवाल पनि एमाले राजनीतिमा सक्रिय छन्। उनी एमालेमा लाग्नासाथ ललितपुर–१ बाट प्रत्यक्ष निर्वाचित प्रतिनिधि सभा सदस्य हुन्।

उपत्यकाको कर्णाली मानिने सिलवालको क्षेत्र विकट भए पनि स्थानीय जनताका समस्या, पीरमर्का र सुविधाका लागि उनको सक्रियता एउटा नमूना मानिन्छ।

प्रतिक्रिया