यसकारण दिएकी रहिछन् सुमनाले राजीनामा


काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) की सांसद सुमना श्रेष्ठले पार्टीको सह-महामन्त्री पदबाट दिएको राजीनामाको कारणहरू सार्वजनिक भएका छन् । उनले चैत्र १७ गते नै सभापति रवि लामिछाने पार्टी काममा फर्किएको दिन राजीनामा बुझाए पनि लामिछाने सहकारी प्रकरणमा जेल चलान भएको करीब डेढ सातापछि मात्रै यो विषय बाहिर आएको हो ।

सुमनाले आफ्नो राजीनामा ‘अनावश्यक चर्चा’ नहोस् भन्ने हेतुले तत्कालै सार्वजनिक नगरेको स्पष्ट पार्दै, पद त्याग गर्नुका पछाडि तीन मुख्य कारण प्रस्तुत गरेकी छन् ।

१. ‘एक व्यक्ति, एक पद’ को सिद्धान्त
सुमनाले पहिलो कारणका रूपमा ‘एक व्यक्ति, एक पद’को एजेन्डा अघि सारेकी छन् । संघीय सांसद जस्तो जिम्मेवार भूमिकासँगै पार्टीको सह-महामन्त्री जस्तो पूर्णकालीन पद सम्हाल्दा दुबै भूमिका प्रभावकारी रूपमा निर्वाह गर्न नसकिने ठहर गर्दै उनले सह-महामन्त्री पद त्यागेकी हुन् ।

२. जनआशा उच्च, कार्यक्षमता न्यून
दोस्रो कारणका रूपमा उनले पार्टीमाथि जनताले राखेको उच्च अपेक्षा र त्यसअनुसार परिणाम दिन नसकेको अवस्थालाई उल्लेख गरेकी छन् । उनले भनिन्, “जनताले अभूतपूर्व विश्वास देखाएका थिए, तर त्यो विश्वासअनुसार पार्टीले डेलिभरी गर्न सकेको छैन ।” पार्टीको आन्तरिक कामकाज र प्रदेशस्तरीय संरचनाको निष्क्रियता पनि उनले आलोचना गरिन् ।

३. कर्मकाण्डी प्रवृत्ति र अपारदर्शिता
तेस्रो कारण सुमनाले पार्टी भित्रको ‘धेरै कर्मकाण्डी प्रक्रिया’प्रति असन्तुष्टि जनाउँदै प्रस्ट पारेकी छन् । उनले बैठकमा पदाधिकारीलाई अनावश्यक प्राथमिकता दिइने, महत्त्वपूर्ण निर्णयहरूमा समावेश नगरिने र निर्णयहरूबारे जानकारी नै नदिइने अवस्था देखिएको गुनासो गरेकी छन् ।

श्रेष्ठको भनाइमा, पदाधिकारी भएर पनि वजनविहीन महसुस गर्नु पर्‍यो । “कयौं पटक बैठकको प्रस्तावमा वास्ता गरिएन, विद्यार्थीको मुद्दामा सदन अवरुद्ध गरौँ भनेकोमा पनि सुनुवाइ भएन,” उनले राजीनामा पत्रमा लेखेकी छन्।

श्रेष्ठले सह-महामन्त्री पद त्यागलाई हल्का रूपमा नलिन आग्रह गर्दै, पार्टीभित्र वैकल्पिक राजनीतिक संस्कारको अपेक्षा गर्दै आएकी थिइन् । उनले आफूले देखेको ‘संघीय सांसद’को भूमिका र समयको आवश्यकतालाई प्राथमिकता दिँदै अब सम्पूर्ण ध्यान संसदीय भूमिकामै केन्द्रित गर्ने संकेत गरेकी छन् ।

 

प्रतिक्रिया