

देशभरीका ३३ नगर अस्पतालमध्ये कटारी अस्पताल उत्कृष्ट

उदयपुर – उदयपुरको कटारी नगर अस्पताल यस वर्ष पनि देशभरका नगर अस्पतालमध्ये उत्कृष्ट बन्न सफल भएको छ। स्थानीय तह अन्तर्गत सञ्चालित ३३ नगर अस्पतालहरूमध्ये कटारी अस्पतालले सबैभन्दा उच्च अंक प्राप्त गर्दै शीर्ष स्थान हासिल गरेको हो।
स्वास्थ्य मन्त्रालयले तोकेको न्यूनतम सेवा मापदण्डअनुसार प्रदेश सरकारका प्रतिनिधिहरू सम्मिलित टोलीले अनुगमन गरेको थियो। उक्त मूल्याङ्कनमा कटारी नगर अस्पतालले १०० मध्ये ८८ अंक प्राप्त गरेको प्रदेश स्वास्थ्य निर्देशनालय धनकुटाका अधिकृत पशुपति खनालले जानकारी दिए।
उनका अनुसार अघिल्लो ६ महिनाअघि गरिएको मूल्याङ्कनमा अस्पतालले ८३ अंक प्राप्त गरेको थियो। यसपटक सेवा सुधारसँगै ५ अंकले वृद्धि भई ८८ अंक पुगेपछि अस्पताललाई ‘हरियो क्षेत्र’ अर्थात् ग्रीन जोनमा राखिएको छ।
कटारी नगर अस्पतालका प्रमुख, मेडिकल सुपरिटेन्डेन्ट (मेसु) डा. गौरव साहका अनुसार, नगरपालिकाको मातहतमा सञ्चालित ३३ वटै अस्पतालहरूमध्ये कटारीले लगातार दोस्रो पटक पहिलो स्थान हासिल गरेको हो। “हामी लगातार सफल हुँदै आएका छौँ। यो उपलब्धिले हाम्रो मनोबल अझै बढाएको छ,” डा. साहले भने।
वि.सं. २०७६ सालदेखि नगरपालिकाको व्यवस्थापनमा आएको यो अस्पतालले पछिल्ला वर्षहरूमा गुणस्तरीय सेवा दिँदै आएको छ। १५ शैय्याको स्वीकृति पाएको अस्पतालले आन्तरिक स्रोतबाट १० शैय्या थप गर्दै हाल २५ शैय्याको सेवा दिइरहेको छ। अस्पतालमा दैनिक ५ सयभन्दा बढी सेवाग्राही उपचारका लागि आउने गरेका छन्।
अस्पतालमा सबै प्रकारका सामान्य उपचार सेवा उपलब्ध छन् भने प्रसूति सेवामा जटिल अवस्थाका शल्यक्रियाहरू (सी-सेक्शन) समेत प्रभावकारी रूपमा सञ्चालन हुँदै आएका छन्।
डा. साह भन्छन्, “यसपटकको सफलताले हामीलाई अझै राम्रो काम गर्न प्रेरणा दिएको छ। यो उपलब्धि सम्पूर्ण कटारीबासीका लागि गौरवको कुरा हो।”

