प्रहरी प्रमुख ज्यू ! इतिहास बनाउने कि जागिर मात्रै पकाउने ?

उल्टो दिनगन्ती सुरु भएका आईजीको कमजोर कमाण्ड !


अब प्रहरी महानिरीक्षक (आईजीपी) शैलेश थापा क्षेत्रीको कार्यकाल १८४ दिन बाँकी रहेको छ। जुन ६ महिनाभन्दा अलिक बढी हो। असल नियतका साथ कुनै ठाउँमा बसेर काम गर्ने हो भने यो समय काफी पुग्छ।

समयावधि छोटो भएर केही हुँदैन, मनदेखि नै लागेर गर्ने हो भने राम्रै नतिजा निकाल्न सकिन्छ। जस्तो विद्युत प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ एउटा उदाहरणका पात्र बनेका थिए। १८ घण्टासम्म लोडसेडिङको मार खेपेका जनताहरुलाई राहत दिएपछि छोटो समयमै उनको सर्वत्र तारिफ भयो।

साँच्चै नै कोही मानिसलाई केही गरेर देखाउनु छ भने समयले छेक्दैन। आजको भोलि हरकुरा सम्भव छ। अझ भनौं नेपाल प्रहरीले चाहेको अवस्थामा के कुरा चाहिँ सम्भव छैन? आवश्यक स्रोतसाधन बिना पनि नेपाल प्रहरीले गरेको कामको बेला–बेला प्रशंसा भइरहन्छ।

नेपालको हरेक ठाउँमा नेपाल प्रहरीको उपस्थिति छ। जनतासँग हरेकदिन ‘किप एण्ड टच’ मा रहन्छ। सर्वेन्द्र खनाल संगठन प्रमुख हुँदा समुदाय–प्रहरी साझेदारी अभियान सञ्चालन भयो। जुन अभियान अहिलेको नेतृत्वले पनि गर्दै आइरहेका छन्। उक्त अभियानको अहिले पनि प्रशंसा भइरहेको छ।

२३ असार २०७७ मा बसेको मन्त्रिपरिषद बैठकले क्षेत्रीलाई प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) बाट आईजीमा बढुवा गरेको हो। आईजी हुँदै गर्दा क्षेत्रीलाई निश्कलंक प्रहरी अधिकृतको रुपमा लिइन्थ्यो। क्षेत्रीको कार्यकाल पनि थुप्रै नयाँ अभियानहरुसहित प्रहरीभित्र हुने विसंगती, विकृतिलाई पूर्ण रुपमा नष्ट हुने अनुमान गरिएको थियो।

संगठन बद्नाम भए आईजी क्षेत्री त्यसको जिम्मेवार हुनुपर्छ। संगठनलाई बद्नाम हुनबाट जोगाउन क्षेत्री आफ्नो अडानबाट पछि हट्नहुन्न। ७३ हजार प्रहरी संगठनको कमाण्ड सम्हालेका क्षेत्रीले गलत गर्नेलाई कारबाही र राम्रो गर्नेलाई पुरस्कृत गर्छन् भन्ने आशा थियो।

शक्ति केन्द्रको प्रभाव र हस्तक्षेपले संगठन चलायमान हुन सक्दैन भन्ने कुरामा आईजी क्षेत्री पूर्ण रुपमा जानकार छन्। आफ्नो कमाण्डमा रहेका प्रहरीहरुलाई कुन ठाउँमा पठाउने निर्णय प्रहरी संगठनको नेतृत्वको हातमा हुन्छ।

पछिल्लो समय संगठन प्रमुखले अडान लिन नसक्दा राम्रो काम गर्ने प्रहरी अधिकृतमाथि डण्डा बर्सिन थालेको छ भने नराम्रो काम गर्नेलाई प्रोत्साहन गर्दै राम्रो–राम्रो ठाउँमा इन्चार्ज पठाउन थालिएको छ।

यद्यपी, शक्ति केन्द्र हाबी भएको खण्डमा जस्तो सुकै कदम चाल्न पनि पछि हट्नहुँदैन। हुनत प्रहरी भनेको शक्ति केन्द्रको प्रभाव र हस्तक्षेपले चल्ने संगठन भनेर ‘ट्याग’ नै लागिसकेको भए पनि क्षेत्रीले संगठनको नेतृत्व सम्हालेपछि यस्तो नहुने मा धेरै प्रहरी अधिकारीहरुले अपेक्षा गरेका थिए ।

तर, आईजी क्षेत्रीको कार्यकाल ६ महिना बाँकी रहँदा प्रहरी संगठन झनै अस्तव्यस्त बन्न पुगेको आरोप छ। क्षेत्रीको कार्यकालमा शक्ति केन्द्रहरुको स्वार्थको कारण प्रहरीलाई एउटा खेलौनाको रुपमा उनीहरुले खेलाइरहेका छन्। यसको कारण हो– क्षेत्रीको निरिहपन!

आईजी क्षेत्रीको घर जाने दिन जति नजिँकिदै गयो त्यति प्रहरी संगठनमा हस्तक्षेप बढेको महसुस हुन्छ। पछिल्लो समय संगठन प्रमुखले अडान लिन नसक्दा राम्रो काम गर्ने प्रहरी अधिकृतमाथि डण्डा बर्सिन थालेको छ भने नराम्रो काम गर्नेलाई प्रोत्साहन गर्दै राम्रो–राम्रो ठाउँमा इन्चार्ज पठाउन थालिएको छ।

कतिपय जिल्लादेखि परिसर, वृत्त, प्रभागका सिनियर प्रहरी अधिकृतहरुको नियमित सरुवाको अवधि पुगिसकेको भए पनि यतिबेला बालुवाटार र गृह मन्त्रालयको हस्तक्षेपले भटाभट काज सरुवा निस्किन थालेको छ। तर, नियमित सरुवा अझै पनि अन्यौल नै छ।

काज सरुवा भनेको कोही प्रहरी अधिकृतले गल्ती गरेको अवस्थामा निकालिन्छ। तर, राम्रो काम गर्दागर्दै पनि केही प्रहरी अधिकृतहरुको काज सरुवा निकालिएको प्रहरी कर्मचारीहरु नै बताउँछन्। विवादित व्यक्तिलाई भने काज सरुवामा आकर्षक मानिने ठाउँमा पठाउने गरिएको छ।

गत एक हप्ताको बीचमा गृह मन्त्रालयले ४ जना प्रहरी नायब उपरीक्षक (डिएसपी), ४ जना प्रहरी उपरीक्षक (एसपी) र २ जना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) को काज सरुवा निकाल्यो। डिएसपी, एसपी र एसएसपी सरुवा नै विवादित बन्न पुग्यो।

शक्ति केन्द्रको प्रभाव र हस्तक्षेपले संगठन चलायमान हुन सक्दैन भन्ने कुरामा आईजी क्षेत्री पूर्ण रुपमा जानकार छन्।

आईजी क्षेत्री आँफैले कारबाही गरेका डिएसपी विश्वराज खड्कालाई काठमाडौं उपत्यकाको आकर्षक मानिने महानगरीय प्रहरी वृत्त, दरबारमार्गको प्रमुख बनाएर पठाउन बाध्य भए। यहिँबाट प्रष्ट हुन्छकी शक्ति केन्द्रको दबाबको कारण खड्कालाई रोक्न क्षेत्रीको केही जोड चलेन।

यदी मैले आफैंले कारबाही गरेको अधिकृतलाई त्यहाँ पठाउन हुन्नँ भनेर अडान लिन सकेको भए आईजी क्षेत्रीको प्रशंसा हुन्थ्यो। तर, उनले अडान लिने कुरा त धेरै टाढाको थियो। एक शब्द समेत खर्चिएको प्रतीत कतै भएन।

खड्कासँगै इलाका प्रहरी कार्यालय बुटवल, रुपन्देहीका डिएसपी मदन कुँवरको चार महिनामै काज निस्कियो। कुँवर दुई दिनअघि मात्र जिल्लाको सर्वोत्कृष्ट प्रहरी घोषित भएका थिए।

जिल्लाको शान्ति सुरक्षामा राम्रो भूमिका खेलेको भन्दै कुँवरलाई जिल्ला प्रहरी कार्यालय, रुपन्देहीका प्रहरी प्रमुख एसपी मनोज केसीले सम्मानसहित पुरस्कृत गरेका थिए। यसरी राम्रो काम गर्दागर्दै कुँवरमाथि कारबाहीको डण्डा बर्साइयो।

एसएसपी सरुवामा पनि त्यस्तै भयो। महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख रहेका एसएसपी अशोक सिंहको अचानक काज सरुवा निस्क्यो। सिंहको ठाउँमा एसएसपी सुदीप गिरीलाई पठाइएको थियो।

तर, एसएसपी सिंहको सरुवा रोकिएको छ। बिना कारण एसएसपी सिंहको सरुवा अचानक निस्किएको परिसरका प्रहरीहरु नै बताउँछन्। जनताको शान्ति सुरक्षामा दिनरात खटिएका सिंहमाथि गृह मन्त्रालयले डण्डा बर्साउन खोजेको थियो।

एसएसपी अशोक सिंहको एक वर्ष पुग्न चार हप्तामात्र बाँकी छ। थुप्रै एसएसपीहरुको अवधि एक वर्ष पुगे पनि सिंहलाई नराम्रो ‘ट्याग’ भिराउने नियतले सरुवा निकालिएको हुन सक्ने अनुमान गर्न सकिन्छ।

कारण आफ्नो मान्छेलाई काठमाडौं प्रहरी प्रमुख बनाउने नियत। तर, बालुवाटारले दबाब दिएपछि गृहमन्त्री बालकृष्ण खाँण आफैले निकालेको एसएसपी सरुवाको निर्णय रोक्न बाध्य भए।

सिंहको एक वर्ष पुग्न चार हप्तामात्र बाँकी छ। थुप्रै एसएसपीहरुको अवधि एक वर्ष पुगे पनि सिंहलाई नराम्रो ‘ट्याग’ भिराउने नियतले सरुवा निकालिएको हुन सक्ने अनुमान गर्न सकिन्छ।

त्यतिमात्र होइन, संगठन प्रमुख क्षेत्री निरिह हुँदा २ नम्बर प्रदेशका प्रमुख प्रहरी नायब महानिरीक्षक (डिआईजी) उमेश रञ्जितकारले एक महिला राखेर पैसा उठाउने गरेको अडिओ सार्वजनिक हुँदा समेत न महिलालाई कारबाही गर्न सके, न डिआईजी रञ्जितकारलाई नै।

डिआईजीको नाम भजाएर महिलाले पैसा बार्गेनिङ गरेको अडिओ प्रमाण हुँदाहुँदै आईजी क्षेत्री मौन बसेका छन्। महिलालाई केही दिन समातेको जस्तो देखाएर ९ दिनपछि बिना कुनै सजाय छाडिएको छ।

यदि ती महिलाले पैसा बार्गेनिङ नगरेको भए कारबाही किन नगरेको? प्रश्न गम्भीर छ। डिआईजी रञ्जितकारकै मिलेमतोमा ती महिलाले पैसा उठाउने गरेको भएरै ती महिलामाथि कारबाही नभएको २ नम्बर प्रदेशका एक प्रहरी अधिकारीको गुनासो छ ।

दसैंको समयमा डिआईजी रञ्जितकारले आफू मातहतका प्रत्येक प्रहरी युनिटबाट रक्सी र पैसा समेत उठाएको चर्चा चल्यो । पैसा र रक्सी नदिने युनिटका इन्चार्जलाई धमाधम तान्दै आफूले भनेको मान्ने प्रहरीलाई उक्त स्थानमा पठाउने गरेका छन्।

डिआईजीको नाममा महिलाले पैसा बार्गेनिङ नगरेको भए कारबाही किन नगरेको? प्रश्न गम्भीर छ। डिआईजी रञ्जितकारकै मिलेमतोमा ती महिलाले पैसा उठाउने गरेको भएरै ती महिलामाथि कारबाही नभएको २ नम्बर प्रदेशका एक प्रहरी अधिकारीको गुनासो छ ।

यसरी खुलेआम रुपमा संगठनलाई चुनौती दिने डिआईजी रञ्जितकारलाई कारबाही गर्न संगठन प्रमुख क्षेत्री किन पछि हटेका छन् ? सुरक्षा विज्ञहरुका अनुसार आईजी क्षेत्रीलाई अब कसरी हुन्छ आफ्नो ६ महिनाको कार्यकाल मात्र टिकाउनु छ। त्यहि भएर क्षेत्री मौन बसेका हुन्।

आफ्नो कार्यकाल मात्र टिकाउन बसेको भए आईजी क्षेत्रीलाई संगठन प्रमुखको हैसियतमा कुर्सीमा बस्न सुहाउला? होइन भने संगठनलाई किन पेन्डुलम बनाइरहेका छन्। किन संगठन प्रमुखको हैसियतमा अडान लिन सक्दैनन्?

यत्रो समय आईजी भइसकें, यहाँ भन्दा अगाडि जे–जे भयो भयो। सकियो। अब ६ महिना त बाँकी छ। उनले संगठनको हित विपरित जाँदिन र हस्तक्षेप हुन दिन्न भनेर अडान लिनुपर्ने होइन?

नेपाल प्रहरी अस्पतालकी प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) आशा सिंहको अनियमितताबारे अनुसन्धान गर्न छानबिन समिति गठन भएको छ। आफ्नो मातहतको अस्पतालमा अनियमितता भएको खबर आएपछि आफै लागेर छानबिन समिति गठन गर्ने कि अरुले निर्देशन दिएपछि मात्र गर्ने?

‘जतिबेला अस्पतालमा डिएसपी राजकुमार केसीको मृत्यु भयो,’ एकजना बहालवाला डिआईजी भन्छन्, ‘म संगठन प्रमुख भएको भए त्यतिबेलै आशा सिंहलाई कारबाही गरेर प्रधान कार्यालयको एउटा कुनामा ल्याएर राखिदिन्थें ।’

त्यत्रो आफ्नो कर्मचारीको मृत्यु लापरबाहीको कारण भएको थाहा पाउँदा–पाउँदै पनि संगठन प्रमुखको निरिहताले एआईजी सिंहमाथि कसैले कारबाही गर्न आँट नगरेको ती डीआईजीको भनाइ छ।

नियत सफा राखेर राम्रो काम गर्दा कतै केही समस्या देखिएको अवस्थामा संगठन प्रमुखले परिस्थितिलाई बुझिदिनुपर्छ। अनाहकमा कसैले दुःख नपाउन् र गल्ती गर्नेलाई ढाकछोप नगरियोस्।

प्रहरी संगठनमा शक्ति केन्द्र निकट व्यक्तिहरुको व्यापक आतंक छ। राम्रो काम गर्नेलाई रोक्ने, सही गर्न नमान्ने, जिम्मा नलिने प्रवृत्ति देखिएको छ। यो राम्रो होइन, गलत गर्नेलाई कारबाही गर्न सक्नुपर्छ भने राम्रो गर्नेलाई पुरस्कृत गरेर प्रोत्साहन गर्नुपर्छ।

तर, शक्तिकेन्द्र निकट व्यक्तिहरुले फैलाएको आतंकतर्फ चाहिँ संगठन प्रमुख सचेत हुनैपर्छ। काम गर्नेलाई प्रोत्साहन र गलत गर्नेलाई दुरुत्साहन दिन संगठन प्रमुख लाग्नुपर्ने बहालवाला एक एसएसपीको सुझाव छ।

नियत सफा राखेर राम्रो काम गर्दा कतै केही समस्या देखिएको अवस्थामा संगठन प्रमुखले परिस्थितिलाई बुझिदिनुपर्छ। अनाहकमा कसैले दुःख नपाउन् र गल्ती गर्नेलाई ढाकछोप नगरियोस्।

प्रहरी संगठनको प्रमुख भएपछि इतिहास बनाउने कि निरन्तरता मात्र कायम गरेर जाने? ६ महिनासम्मका जागिर टिकाउने कि संगठनमा यादगार छवि बनाएर जाने भन्ने विषयलाई आईजी क्षेत्रीले खासै विवेचना गरेको देखिँदैन। जागिर टिकाउनका लागि राजनीतिक हस्तक्षेपको मनोपोलीलाई अव्यवाहारिक रुपमा नै स्वीकार गर्नु भनेको संगठन चलायमान बनाउने नियत नै होइन। यावत् समस्या र प्रश्नहरूमा क्षेत्रीको निरिहता केबल बाँकी ६ महिने जागिर टिकाउने स्वार्थ भन्दा केही देखिँदैन, अन्यथा संगठन भद्रगोल अवस्थामा चल्ने नै थिएन।

प्रतिक्रिया