संखुवासभा सामूहिक हत्याकाण्डः घटना योजनाबद्ध, लुटपाटको समेत योजना


काठमाडौं– संखुवासभा सामूहिक हत्याकाण्ड प्रकरणमा प्रहरीले मुख्य योजनाकारसहित चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। लोकबहादुर कार्कीको बयानसहित विभिन्न अनुसन्धानबाट अरुको पनि संलग्नता खुलेपछि प्रहरीले थप ४ जनालाई पक्रेर सोमबार सार्वजनिक गरेको हो।

यसअघि प्रहरीले २६ भदौमा हत्यामा संलग्न २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेर सार्वजनिक गरेको थियो। २१ भदौमा मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको थियो।

लोकबहादुरको बयानपछि ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको संखुवासभाका प्रहरी प्रमुख डिएसपी लालध्वज सुवेदीले जानकारी दिए।

हत्याको मुख्ययोजनाकार लोकबहादुरका काका खड्गबहादुर कार्की रहेको प्रहरीले दावी गरेको छ। लोकबहादुरसहित ५ जना मिलेर योजनाबद्ध रुपमा हत्या गरेको अनुसन्धानबाट खुलेको डिएसपी सुवेदीले बताए।

घटनाको अघिल्लो रात लोकबहादुरको घरमा बसेर खड्गबहादुरसहित चार जना मिलेर हत्याको योजना बनाएको प्रहरी अनुसन्धानबाट खुलेको डिएसपी सवेदी बताउँछन्।

घटनाको दिन २१ गते बिहान मृतक तेजकुमार खेताला बोलाउन लोकबहादुरको घरमा आउने र सोही अवसरमा मौका छोपी तेज कुमार र कमलाको हत्या गर्ने योजना थियो। अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने साथै अनुकूल मिलेमा तेजकुमारको घरमा भएको धनमाल समेत लैजाने आरोपितहरुको तयारी थियो।

उम्लिङका एकै परिवारका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

प्रहरीका अनुसार यसरी भयो हत्या

-घटना योजनावद्धढंगबाट ५ जनाको समुहले घटाएको जुन योजना अभियुक्त लोकबहादुर कार्कीको घरमा घटनाको अघिल्लो रात राति ८ बजे मुख्य योजनाकार खड्ग बहादुर कार्कीसहित हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश कार्की समेत वसि बनाएको। योजना अनुसार घटनाको दिन २१ गते बिहान मृतक तेजकुमार कार्की खेताला बोलाउन लोकवहादुरको घरमा आउने र सोहि अवसरमा मौका छोपी तेजकुमार र कमला कार्कीको हत्या गर्ने अन्यले थाहा पाए भने उनीहरूको पनि हत्या गर्ने साथै अनुकुल मिलेमा तेजकुमारको घरमा भएको धनमाल समेत लाने योजना रहेको।

-घटनाको दिन मृतकको पिप्लेस्थित खेतमा अभियुक्तहरू खड्ग बहादुर कार्की, हस्त बहादुर कार्की, लोक बहादुर कार्की र नरेश कार्की समेत खेताला जाने कुरा पहिला नै निश्चित भएको।

-योजना अनुसार मृतक तेजकुमार कार्की बिहान आउने निश्चित गर्न खड्ग बहादुर कार्की विहान ५ बजे तेजकुमार कार्कीको घरमा गई ‘लोक बहादुर अल्छी छ घरमै गएर खेताला निश्चित गर्नु’ भनि तेजकुमार कार्कीलाई लोक बहादुर कार्कीको घरतर्फ जान अभिप्रेरित गरि घरतर्फ फर्केको र तेजकुमार लोक बहादुर कार्कीको घरतिर जाँदै गरेको देखेपछि खड्ग बहादुर र हस्त बहादुर निजको घर पछाडि चिर्पट बोकी तयारी हालतमा बसेको।

-मृतक तेजकुमार कार्की विहान ५ बजे उठी लोक बहादुरको घरमा खेताला निश्चित गई सुतिरहेको लोक बहादुरलाई ‘अल्छि अझैसम्म उठेको छैनस्’ भन्दै कराएपछि लोक बहादुर उठेको, लोक बहादुरको भाई नरेश कार्की र बाबु रण बहादुर कार्की समेत घरमै रहेको। घरबाट फर्केने क्रममा योजना अनुसार लोक बहादुरले भाई नरेशलाई इसारा गरि आफुले दाउराको चिर्पट र अलैची काट्ने चक्कु बोकी पछि पछि गइ घर पछाडिको गोगनेको रूख नजिक मृतक तेजकुमारको टाउकोमा प्रहार गरि लडाएको र खड्ग बहादुर र हस्त बहादुर दाउराको चिर्पट लिई आई तेजकुमारमाथि प्रहार गरेको र हस्त बहादुरले चक्कुले पेटमा प्रहार गरि डिलबाट लडाई बाटोमा झारी हत्या गरि घोप्टो पारेको।

-घटनाको बेला मृतकले ‘लोकेले मार्यो, मलाई नमार’ भन्दै गरेको हारगुहार सुनेपछि ‘मेरो श्रीमानलाई नमार’ भन्दै तेज बहादुरको श्रीमती र बुहारी आएकोमा लोक बहादुरले कमला कार्कीलाई प्रहार गरेको, कमलाको घाँटीमा हस्त बहादुरले छुरा प्रहार गरेको र बुहारी रञ्जनालाई नरेशले ठेली खोल्सामा झारेको र खडक बहादुर, लोक बहादुर र हस्त बहादुर मिलि हत्या गरेको। मृतक रञ्जनाको लास रण बहादुर र नरेश समेतले कमलाको लास भएको स्थानसम्म पुर्याउन सहयोग गरेको।

-उक्त घटनाको बेला मृतक नाबालकहरू दिपेन र गोमा समेत घर नजिकको बाटोमा आएको देखि हस्त बहादुर र लोक बहादुरले बाटो छेकी मुख थुनि लोक बहादुरले चिर्पटले हिर्काई घाँटी बटारी हत्या गरेको।

-तत् पश्चात पाँचैजना अभियुक्तहरू मृतकको घरतर्फ गएको र घरमा मृतक ८४ वर्षीय पार्वती कार्की मकै नंग्याइरहेको अवस्थामा हस्त बहादुरले समाती घर पछाडिको गोठ नजिक लगि लोक बहादुरले टाउको भित्तामा ठोक्काई घाँटी बटारी हत्या गरेको र सबैजनाले घटनामा प्रयोग गरेको चिर्पट र छुरी बोकी लोक बहादुरको घरमा गई लागेको रगत पखाली छुरी घुई बुईकलमा लुकाएको, चिर्पटहरू अगेनामा डढाएको, रगत लागेको कपडाहरू समेत लुकाएको। खड्ग बहादुर र निजको छोरा हस्त बहादुर घरतर्फ गएको। फर्कने क्रममा रञ्जनाको ओप्पो मोबाइल नरेशले लिएर आई स्विच अफ गरि घरमुनिको ओडारमा लगि लुकाएकोमा अनुसन्धानको क्रममा फेला परेको।

-पुनः खड्ग बहादुर र निजको छोरा हस्त बहादुर लोक बहादुरको घरमा गई सबैजना मिलि कसैले सोधेमा घटनाको बारेमा कुनै पनि कुरा नसुनेको र थाहा नपाएको भनि भन्ने यदि प्रहरी आई पत्ता लगाएमा लोक बहादुरले मानसिक औषधी पनि खाने कारण निजले जिम्मा लिने भन्ने सल्लाह गरि फर्केको।

-घटनामा संलग्न चारै जनालाई नियन्त्रणमा लिई अनुसन्धान भई रेहेको र अनुसन्धानको क्रममा सबै अभियुक्तहरूले घटना स्वीकार गरेको र घटनामा प्रयोग भएको छुरी, कपडा र हराएको मोवाइल समेत वरामद गरि थप अनुसन्धान भइरहेको।

घटना घटनुका कारणहरुः

-अभियुक्तहरूमध्ये खड्ग बहादुर नियमित रूपमा रक्सी खाने र घरमा श्रीमती र परिवारका सदस्यहरूलाई कुटपिट गालिगलौज गर्ने र तेज कुमारले ‘तँ जड्याहा किन यसो गर्छस’ भनि गाली गर्ने र खड्ग बहादुरले पनि ‘तलाई के मतलब तलाई मार्छु’ भन्दै झगडा गर्ने गरेको र लोक बहादुरलाई ‘तँ पागल, अल्छी, केहि काम गर्न सक्दैनस’ भन्ने नरेशलाई ‘तँ डुडे काम नलाग्ने भईस’ भन्ने र रण बहादुरलाई समेत ‘तँ लठेव्रो केही गर्ने सक्दैनस’ भन्ने गरेको, जहिले पनि हेप्ने र आफु सम्पन्न भएको फुर्ति दिने गरेको भनि मनमा इख पालेको र घटनाको दिने अभियुक्तहरू समेत मृतकको खेतमा खेताला जानुपर्ने कारण सोहि मौका छोपि योजना बनाई हत्या गरेको।

प्रतिक्रिया