संखुवासभा हत्याकाण्डः लोकबहादुरको बयानपछि प्रहरीले समात्यो मुख्य योजनाकार खड्गबहादुर

सामूहिक हत्याकाण्ड मच्चाएका अन्य चार जना सार्वजनिक


काठमाडौं– संखुवासभा सामूहिक हत्याकाण्ड प्रकरणमा प्रहरीले नयाँ तथ्य सार्वजनिक गरेको छ। हत्याको मुख्य योजनाकारसहित प्रहरीले चार जनालाई पक्राउ गरेर सार्वजनिक गरेको छ। यसअघि प्रहरीले हत्यामा एक जनालाई पक्राउ गरेर सार्वजनिक गरेको थियो।

२६ भदौमा प्रहरीले २५ वर्षीय लोकबहादुर कार्कीलाई पक्राउ गरेको थियो। लोकबहादुरको बयानसहित विभिन्न अनुसन्धानबाट अरुको पनि संलग्नता खुलेपछि प्रहरीले थप ४ जनालाई पक्रेर सोमबार सार्वजनिक गरेको हो। २१ भदौमा  मादी नगरपालिका–१ स्थित उम्लिङमा ६ जनाको सामूहिक हत्या भएको थियो।

लोकबहादुरको बयानपछि ४७ वर्षीय खड्गबहादुर कार्की, उनका छोरा २८ वर्षीय हस्तबहादुर कार्की, ४९ वर्षीय रणबहादुर कार्की र १७ वर्षीय नरेश कार्कीलाई पक्राउ गरेको संखुवासभाका प्रहरी प्रमुख (डिएसपी) लालध्वज सुवेदीले जानकारी दिए।

लोकबहादुरसहित ५ जना मिलेर योजनाबद्ध रुपमा हत्या गरेको अनुसन्धानबाट खुलेको डिएसपी सुवेदीले बताए। हत्याको मुख्ययोजनाकार लोकबहादुरका काका खड्गबहादुर कार्की रहेको प्रहरीले दावी गरेको छ।  घटनाको अघिल्लो रात लोकबहादुरको घरमा बसेर खड्गबहादुरसहित चार जना मिलेर हत्याको योजना बनाएका थिए।

‘२१ भदौमा खेताला बोलाउन घरबाट तेजबहादुर कार्की निस्केको मौकामा हत्या गर्ने संगठित योजना बनाएको देखिन्छ,’ डिएसपी सुवेदीले अनलाइनन्यूजसँग भने, ‘पाँच जना मिलेर कसैले चिपर्ट र कसैले छुरीले हानेर सामूहिक हत्या गरेको अनुसन्धानबाट खुलेको छ।’

उम्लिङका एकै परिवारका ५५ वर्षीय तेजबहादुर कार्की, आमा पार्वती कार्की, श्रीमती कमला, बुहारी ३२ वर्षीया रञ्जना कार्की, ८ वर्षका विपिन कार्की र पाँच वर्षीया गोमा कार्कीको हत्या भएको थियो।

प्रतिक्रिया