संखुवासभा सामूहिक हत्याकाण्डमा थप कोही पक्राउ परेका छैनन्ः प्रहरी


काठमाडौं – संखुवासभाको मादी नगरपालिका–१ उम्लिङ, खोलागाउँमा एकै परिवारको ६ जनाको सामूहिक हत्याकाण्डमा थप कोही व्यक्ति पक्राउ नपरेको प्रहरीले जनाएको छ।

जिल्ला प्रहरी कार्यालय संखुवासभाले प्रेस विज्ञप्तिमार्फत घटनामा थप व्यक्ति पक्राउ गरेको भन्दै केही मिडियामा प्रकाशित समाचारप्रति ध्यानाकर्षण भएको बताएको छ।

संखुवासभा प्रहरी प्रवक्ता प्रहरी निरीक्षक (इन्स्पेक्टर) शुभेश अधिकारीले समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको र थप व्यक्ति कोही पनि पक्राउ नपरेको प्रष्ट्याए।

सामूहिक हत्याकाण्डमा थप एकजना पक्राउ परेको र लोकबहादुरको घरमा हत्या गरिएकी रञ्जना कार्कीको मोबाइल भेटिएको भन्दै समाचार आएपछि जिल्ला प्रहरी कार्यालयले विज्ञप्ति निकाल्दै खण्डन गरेको हो।

‘प्रहरीले घटना भएको दिनबाटै घटनास्थलमा बसी अनुसन्धान गरिरहेको र हाल ईलाका प्रहरी कार्यालय चैनपुरबाट प्रहरी निरीक्षक योगराज खतिवडाको कमाण्डमा खटिएको १० जना प्रहरी टोलीले सो घटना सम्बन्धमा खानतलासी, सोधपुछ, प्रमाण संकलन लगायतको कार्यहरु गरिरहेको छ’, जिल्ला प्रहरी कार्यालयको विज्ञप्तिमा भनिएको छ।

९० वर्षीय बुद्धमान कार्कीको परिवारका उनीबाहेक ६ सदस्यको गत २१ भदौमा हत्या भएको थियो। प्रहरीले हत्यामा संलग्न लोकबहादुर कार्कीलाई पक्राउ गरी कारवाही प्रक्रिया अघि बढाइसकेको छ।

प्रतिक्रिया