मादी हत्याकाण्ड अभियुक्तको बयानः ‘तेजबहादुर थिए निशाना, अरुले देखेपछि एउटै चिर्पटले हानें’


संखुवासभा– मादी नगरपालिका–१ मा २१ भदौमा सामूहिक हत्याकाण्ड गरेका अभियुक्त लोकबहादुर कार्कीले काका तेजबहादुरलाई मात्र टार्गेट गरे पनि सबैले देखेपछि एउटै चिर्पटले हत्या गरेको प्रहरीसमक्ष बयान दिएका छन्।

चैनपुरमा आइतबार पत्रकार सम्मेलन गर्दै अभियुक्तको बयानबारे प्रदेश १ प्रहरी प्रमुख नायव महानिरिक्षक (डीआईजी) अरुण बिसीले यस्तो जानकारी दिएका हुन्। प्रहरीसमक्ष लोकबहादुरले भनेका छन्,‘निक्कै अपमान गरेपछि काकालाई मार्ने लक्ष्य लिएको थिएँ, सबैले देखेपछि चिर्पटले हानें अनि उक्त चिर्पट अगेनामा डढाएँ।’

दाउराको चाङबाट चिर्पट निकालेर खोल्सामा तेजबहादुरमाथि आक्रमण गर्दा गुहार गुहार गरेपछि परिवारका अन्य सदस्यले पनि देखेको लोकबहादुरले प्रहरीसमक्ष कबुलेका छन्।

मादी नगरपालिका–१, उम्लिङको खोला गाउँमा ८५ वर्षीय बौद्धमान कार्कीकी श्रीमती ८४ वर्षीया पार्वती कार्की, ५२ वर्षीय छोरा तेजबहादुर कार्की, ५२ वर्षीया बुहारी कमला कार्की, तेजबहादुरकी ३२ वर्षीया बुहारी रञ्जना कार्की, तेजबहादुरकै ११ वर्षीय नाति दीपेन कार्की र नातिनी सात वर्षीया गोमा कार्कीको सामूहिक हत्या भएको थियो। घटनामा परिवारका सात जनामध्ये आँखा कम देख्ने र कम सुन्ने बौद्धमान मात्र जीवित छन्।

सामूहिक हत्यकाण्डपछि जिल्ला प्रहरी कार्यालय संखुवासभा, संघीय प्रहरी ईकाई धरान, प्रदेश प्रहरी कार्यालय बिराटनगर र केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी)को टोलीले अनुसन्धान गरेको थियो। सो क्रममा अभियुक्त लोकबहादुर बैदेशिक रोजगारमा पुगी असफल भएर फर्किएको पनि पत्तो लागेको छ। सोही कारण मानसिक दबाबमा रहेका उनले हत्याकाण्ड मच्चाएको प्रहरीको अनुसन्धानले देखाएको छ।

प्रतिक्रिया