

फाइनलमा देउवा र शेखरको भिडन्त, कांग्रेस सभापतिमा स्पर्धाको रोचक जोड–घटाऊ
मैदानमा देउवा, निधि, शेखर नै कायम हुने प्रक्षेपण यस्तो छ

काठमाडौं– नेपाली कांग्रेसको आसन्न १४ औं महाधिवेशन जति–जति नजिक आइरहेको छ त्यति त्यति रोचक परिदृश्य खुल्न थालेका छन्। सभापतिका लागि नयाँ पुस्ताको बहस र समीकरणका खेलहरुले यस पटक नेपाली कांग्रेसको नेतृत्व कसको हातमा जाला भन्ने रोचक अड्कलबाजी छन्।
विविध कोण र प्रभावका आधारमा महाधिवेशनमा सभापतिका उम्मेदवार तीन जना फाइनल हुने देखिन्छ। दोहोरिने अध्यायमा लागेका सभापति शेरबहादुर देउवा, कोइराला विरासतको दाबी गरिरहेका शेखर कोइराला र १३ औं महाधिवेशनको पृष्ठभूमीको सहमति रहेको भनिएका विमलेन्द्र निधिबीच भिडन्त हुने सम्भावना बलियो छ।
यद्यपि सभापतिको दौडमा बरिष्ठ नेता रामचन्द्र पौडेल, पूर्वमहामन्त्री प्रकाशमान सिंह, महामन्त्री शशांक कोइराला, पूर्वमहामन्त्री कृष्ण सिटौला र सुजाता कोइरालासम्मका दाबी छन्। यदाकदा तेस्रो पुस्ताबाट गगन थापा, कल्याण गुरुङलगायतका चर्चा पनि छन्। तर परिणाममा तेस्रो पुस्ता उपसभापति र महामन्त्रीमा ‘एडजस्ट’ हुनेछन्।
तर सांगठनिक सक्रियता, नेतृत्व र दाबीका आधारमा प्रक्षेपण गर्दा विमलेन्द्र, शशांक र प्रकाशमानको समूहबाट विमलेन्द्र गरी एक जना सभापतिको मैदानमा हुनेछन्। अहिले विमलेन्द्र र शशांकले दाबी गरिरहेका छन्। तर, विमलेन्द्र कुनै पनि हालतमा सभापति नछाड्ने पक्षमा छन्। शशांक माथि भने शेखरको दबाब पनि पर्नेछ।
आम चुनावमा एमालेका लालबाबु पण्डितसँग मोरङ–६ मा पराजित भएपछि शेखर कांग्रेस महाधिवेशनको तयारीमा जुटेका थिए। खासगरी उनीसँग दुईवटा दबाब थिए। कांग्रेसलाई कोइराला परिवारको विरासतमा फर्काउने र मोरङमा फेरि चुनावी मैदान बलियो बनाउने। यसैका लागि तीन बर्षदेखि उनी कांग्रेसको नेतृत्वका लागि सक्रिय भएर पार्टीका काममा अभ्यस्त भए।
संस्थापन र त्यसइतरकै भिडन्त महाधिवेशनमा हुनेछ। कुनै पनि हालतमा सभापतिको निर्वाचन नै हुने दाबी शेखरले गरिरहनुको अर्थ उनी छाड्नेवाला छैनन्। कोइराला परिवारको लिगेसीलाई जोगाउन पनि उनलाई सुजाता र शशांकको साथ अनिवार्य हुनेछ। किनभने पारिवारिक रुपमा पनि उनी दुवै जनाका दाजु हुन्। सांगठनिक रुपमा १३ औं महाधिवेशनमा केन्द्रीय सदस्यमा सबैभन्दा लोकप्रिय मत ल्याउने नेता हुन्।
बरिष्ठ नेता पौडेलले सभापतिमा इच्छा देखाए पनि दाबी गरेका छैनन्। किनभने उनको समूहमा आफैं कमजोर भएका छन्। बरु, पौडेलले शेखरको प्रस्तावमा सहमति जनाउन सक्ने आधार पाइन्छ। उनी आगामी प्रधानमन्त्रीको उम्मेदवारका रुपमा महाधिवेशनमा शेखरको प्रचारमा जुट्नेछन्।
प्रकाशमानले दाबी गरे पनि तीन जनाको समूहमा उनलाई आगामी प्रधानमन्त्रीको प्रस्ताव गरिएको छ। बिमलेन्द्र भने सबैभन्दा बढी चासोका साथ सभापतिकै तयारीमा जुटेका छन्।
यता १३ औं महाधिवेशनमा सभापतिको उम्मेदवार बने पनि कृष्ण सिटौलाको ग्राउन्ड बलियो नभएका कारण यस पटक कोइराला समूहमा कुनै एक पदको समझदारीमा सहयोगी बनेर बस्न सक्ने स्वभाविक अनुमान छ। कतिपयले आगामी चुनावमा सिटौलालाई सभामुखको जिम्मेवारी दिने वाचासहित महाधिवेशनमा शेखरलाई सघाउनुपर्ने सहमति बन्ने प्रक्षेपण छ। यद्यपि, सिटौलाले यस विषयमा मुख खोलीसकेका छैनन्। सुजाता निवासमा भएको छलफलमा सिटौलाको सहभागीता भनेकै कोइराला लिगेसीमा पुग्नु रहेको प्रष्ट छ।
यस हिसाबले शेखर संस्थापनइतरका स्वभाविक र बलिया उम्मेदवार हुनेछन्। यद्यपि, यहि समूहका बढी विवाद रहेको देखिन्छ।
सभापति देउवा आफैंमा एउटा बलिया उम्मेदवार हुन्। उनी संस्थापनको नेतृत्व गरिरहेका छन् भने कांग्रेसमा बलियो बन्नका लागि विलय भएका प्रभावशाली नेतासहितको टिम लिएर खडा भएका छन्।
विमलेन्द्रले उनको साथ छाडे पनि लोकतान्त्रिक फोरमलाई विलय गराउने बिजयकुमार गच्छादारको लिगेसीमा मधेसको मतलाई क्यास गर्ने देउवाको दाउ छ। गच्छादारलाई उपसभापति बनाउनु पनि यहि धेय रहेको थियो। महाधिवेशन नजिकिँदै जाँदा धनकुटामा राम्रो प्रभाव पारेका सुनिलबहादुर थापासहितलाई कांग्रेसमा समाहित गरेका देउवा पूर्वको मत पाउने आशमा छन्।
प्रकाशशरण महत, बालकृष्ण खाँडलगायत संगठनका विभिन्न निकायमा प्रभाव छाड्ने नेताको टिमसहित देउवा मैदानमा छन्।
पहिलो चरणमा तीनको भिडन्त, फाइनल शेखरको पक्षमा!
महाधिवेशनमा सभापतिका लागि दुई चरणको निर्वाचन हुने स्पष्ट आधार देखिन थालेको छ। आकाश–जमिन जोडिने कुनै सहमति नभएको खण्डमा देउवा, शेखर र विमलेन्द्रको भिडन्त निश्चितप्रायः छ।
पहिलो चरणमा कुनै पनि पक्षले बहुमत ल्याउने र निर्वाचित हुने अवस्था रहन नसक्ने अनुमानित तथ्य हो। जसरी १३ औं महाधिवेशनमा सिटौलाको उपस्थितिले धक्का दिएको थियो। यस पटक बिमलेन्द्रको सांगठनिक ताकतले पनि सोही प्रकारको धक्का दिनेछ।
सभापतिका लागि सहयोग नगरी देउवा अघि बढेका कारण दोस्रो राउन्डमा भने बिमलेन्द्रले शेखरसँग कुनै प्रकारको सहमतिका आधारमा सहयोग गर्न सक्ने अनुमान गर्न सकिन्छ। नेतृत्व अर्को पुस्तामा आउने भएपछि निधिले जेन्टलमेन एग्रीमेन्टमा शेखरलाई सहयोग गर्नेछन्।
त्यसैले फाइनल भिडन्त देउवा र शेखरबीच हुने र कांग्रेस नेतृत्व कोइराला विरासतमा फर्कन सक्ने विश्लेषण अस्वभाविक नहुने पाइन्छ।

