

पूर्वराजाले लफंगालाई जनकमान्डर बनाउनुभयो : भट्टराई

काठमाडौं- नेकपा (एमाले)का सांसद योगेशकुमार भट्टराईले पूर्वराजा ज्ञानेन्द्र शाहमाथि गम्भीर आरोप लगाएका छन् । उनले शाहले निर्मल निवासबाट केही व्यक्तिलाई माला लगाएर जनताको घर जलाउन पठाएको दाबी गरेका छन् ।
सोमबार (चैत १८) प्रतिनिधिसभा बैठकमा बोल्दै भट्टराईले पूर्वराजाले राज्यसँगको सम्झौता भंग गरेको भन्दै उनलाई दिइएको सेवा सुविधा कटौती गर्ने विषयमा विचार गर्न सरकारलाई आग्रह गरे।
“पूर्वराजा शाहलाई पूर्वराष्ट्राध्यक्षको हैसियतले राज्यले सेवा र सम्मान दिएको हो । तर आज शाह स्वयंले त्यो सम्झौता भंग गर्नुभएको छ,” उनले भने, “अब प्रश्न उठ्छ— सम्झौता भंग भएपछि उहाँलाई दिइएको सेवा सुविधा कायम रहन्छ कि रहँदैन ?”
उनले पूर्वराजामाथि लफंगाहरूलाई जनकमान्डर बनाएर अशान्ति सिर्जना गरेको आरोपसमेत लगाए । “उहाँले तीनकुनेमा ताण्डव नृत्य गराउन पठाउनुभयो, निर्मल निवासबाट लफंगाहरूलाई माला लगाएर जनताको घर जलाउन पठाउनुभयो,” भट्टराईले थपे, “सम्झौता भंग भइसकेपछि सरकारले पूर्वराजालाई दिइएको सेवा सुविधाबारे जवाफ दिनुपर्छ ।”
साथै, उनले पृथ्वीनारायण शाह र बहादुर शाहबाहेक अन्य राजाहरूले राष्ट्र जोगाउने भूमिका खेल्न नसकेको टिप्पणी समेत गरे ।

