साढे ५ महिनापछि रविले बजाए ‘घन्टी’ !

‘दुई तिहाईको सरकारले मलाई जिउँदो छोडेको छ यही नै मेरो जीत हो’


काठमाडौं — सहकारी ठगी प्रकरणमा पक्राउ परेको साढे ५ महिनापछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपां का सभापति रवि लामिछाने पार्टी राजनीतिमा फर्किएका छन् ।

कात्तिक २ गते विभिन्न सहकारी ठगी प्रकरणमा पक्राउ परेका लामिछाने पार्टीको केन्द्रीय समिति बैठकमा सहभागी हुन सोमबार बनस्थलीस्थित पार्टी कार्यालयमा पुगेका हुन् ।

पार्टी कार्यालय पुगेलगत्तै लामिछानेले घण्टी बजाएका थिए । यसअघि लामिछानेले गत कात्तिक २ गते पक्राउ परेपछि घन्टी बजाउँदै प्रहरीको नियन्त्रणमा गएका थिए ।

पार्टी कार्यालय पुगेका लामिछानेले सञ्चारकर्मी र पार्टीका कार्यकर्तालाई सम्बोधन गर्दै सरकारले आफूलाई सकेजति मुद्दा लगाउन चुनौती दिएका छन् । उनले दुई तिहाईको सरकारले आफूलाई जिउँदो छोड्नु नै आफ्नो जित भएको बताएका छन् । उनले उक्त अवसरमा सरकारलाई अझै पनि केही कसुर बाँकी छ भने मुद्दा लगाउन चुनौती दिएका छन् ।

उनले भने, ‘षड्यन्त्रको यो सिलसिला अझै सकिएको छैन । तर, मैले कुनै दिन पनि हार मानेको थिइनँ र मान्ने छैन पनि । सत्यको पक्षमा म जस्तोसुकै जुनसुकै सामाना गर्न पनि तयार छु।’

उनले आफू न्यायको जुनसुकै तराजुमा तौलिन पनि तयार भएर बसेको बताए । उनले आफूलाई फसाउन सरकारले सबै शक्ति खर्चिएको समेत जिकिर गरे ।

प्रतिक्रिया