

कार्यकर्ता रिहाइको माग गर्दै माइतीघरमा राप्रपाको प्रदर्शन

काठमाडौं – राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का सम्पूर्ण कार्यकर्ताहरूको रिहाइको माग गर्दै विरोध प्रदर्शन गरिएको छ ।
सोमबार माइतीघर मण्डलामा राप्रपा र निकटका संगठनहरूले नेताहरूलाई झूठा मुद्दामा पक्राउ गरेर कारबाही थालिएको भन्दै रिहाइको मागसहित प्रदर्शन गरेका हुन् ।
प्रदर्शनकारीहरूले झूठा मुद्दामा पक्राउ परेका राप्रपा नेताहरूलाई र अन्य राष्ट्रवादी नेताहरूलाई तत्काल रिहाइ गर्नुपर्ने, शुक्रवारको घटनाका मृतकहरूलाई शहीद घोषणा गर्नुपर्ने र घटनाको न्यायपूर्ण छानबिन गर्ने मुख्य माग राखेका छन् ।
शुक्रबारको प्रदर्शनको क्रममा हिंसात्मक क्रियाकलापमा उक्साएको आरोपमा राप्रपाका वरिष्ठ नेता रवीन्द्र मिश्र, महामन्त्री धवलसमशेर राणा लगायत अन्य नेता तथा कार्यकर्ताहरूलाई पक्राउ गरिएको थियो ।

