

भाटभेटनीले साहसिक सुरक्षा गार्ड तथा कर्मचारीलाई सम्मान गर्ने

काठमाडौं- शुक्रबार राजावादी आन्दोलनका क्रममा भाटभेटनी सुपरमार्केटमा भएको लुटपाटको दौरान साहसिक भूमिका निभाएका सुरक्षा गार्ड कृष्णप्रसाद पराजुली लगायत कर्मचारीहरूलाई सुपरमार्केटले सम्मान गर्ने भएको छ ।
लुटपाटको समयमा आफ्नो कर्तव्य पूरा गर्दै अग्रपंक्तिमा खटिएका सुरक्षा गार्ड तथा व्यापार निरन्तर सञ्चालन गर्न रातभर मर्मत कार्यमा जुटेका कर्मचारीहरूलाई सम्मान गर्न बुधबार बिहान विशेष कार्यक्रम आयोजना गरिएको छ ।
सामाजिक सञ्जालमा हाल पराजुलीको बहादुरीको चर्चा भइरहेको छ, जसमा उनले लुटपाटमा संलग्न दर्जनौँ व्यक्तिहरूलाई लिस्टीले कुट्दै भगाएको दृश्य देख्न सकिन्छ ।
सुपरमार्केटका अनुसार घटनामा करिब ८० लाख रुपैयाँ बराबरको क्षति पुगेको छ, जसमध्ये ६४ लाख ८८ हजार रुपैयाँ बराबरको सामान लुटिएको छ ।
घटनापछि पनि सुपरमार्केट शनिबार बिहानदेखि पुनः सञ्चालनमा आएको थियो । सरसफाइ तथा अन्य व्यवस्थापनका लागि कर्मचारीहरूले रातभर खटिएर काम गरेका थिए ।

