भारतले स्वीकार्‍याे पाकिस्तानसँगको झडपमा सैन्य क्षति भएको कुरा


नयाँ दिल्ली — भारतले पाकिस्तानसँग हालै भएका सैन्य झडपका क्रममा क्षति बेहोरेको कुरालाई पहिलो पटक सार्वजनिक रूपमा स्वीकार गरेको छ।

आइतबार नयाँ दिल्लीमा आयोजित पत्रकार सम्मेलनमा भारतीय वायुसेनाका एयर मार्शल एके भारतीले सैन्य कारबाहीको क्रममा क्षति हुनु सामान्य प्रक्रिया भएको बताए। यद्यपि उनले यो क्षति विमान, उपकरण वा जनशक्ति मध्ये कुनमा भएको हो भन्ने स्पष्ट भने गरेनन्।

भारतले पाकिस्तान र पाकिस्तान प्रशासित कश्मीरका नौ स्थानमा हवाई आक्रमण गरेपछि चार दिनसम्म चलेको सैन्य तनाव शनिबार युद्धविराममा टुंगिएको हो। अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उक्त युद्धविराम आफूले मध्यस्थता गरेर गराएको दाबी गरेका छन्।

भारतीय वायुसेनाका मार्शल भारतीले भने, “हामी लडाइँको स्थितिमा थियौं, क्षति हुन्छ नै। तर प्रश्न यो हो कि के हामीले आतंककारी संरचना ध्वस्त गर्न सफल भयौं? यसको उत्तर ठुलो स्वरमा हो भन्ने हो।”

पाकिस्तानी अधिकारीहरूले भारतका तीनवटा रफाल विमान, एक सु–३० र एक मिग–२९ लडाकु विमान ढालेको दाबी गरेका छन्। भारतले भने ती दाबीहरूको पुष्टि वा खण्डन गरेको छैन। तर फ्रान्सेली गुप्तचर स्रोतले कम्तीमा एक रफाल विमान गुमाएको पुष्टि सीएनएनसँग गरेको बताइएको छ।

त्यस्तै, दुई जना अमेरिकी अधिकारीहरूले रोयटर्सलाई भनेअनुसार, चीनले बनाएको एक आधुनिक पाकिस्तानी लडाकु विमानले मे ७ मा दुईवटा भारतीय विमान खसालेको बताएका छन्।

रफाल विमान खसालिएको दाबी पुष्टि भएमा भारतका लागि यो निकै लाजमर्दो हुने ठानिएको छ। किनभने ती विमान भारतको रणनीतिक हवाई क्षमता मजबुत बनाउने उद्देश्यले खरिद गरिएका थिए।

एयर मार्शल भारतीले पाकिस्तानबाट गरिएका ड्रोन आक्रमणहरू ‘सफलतापूर्वक प्रतिकार’ गरिएको र थोरै मात्र क्षति भएको दाबी पनि गरेका छन्। “ती ड्रोन आक्रमणहरू हाम्रो नागरिक क्षेत्र र सैन्य ठाँउहरूमा लक्षित थिए, तर धेरैजसोलाई रोक्न सफल भयौं,” उनले भने।

भारतले आफ्नो आक्रामकता सहन नहुने सन्देश दिएको र सबै पाइलटहरू सुरक्षित घर फर्किएको उनले बताए।

भारतले अप्रिल २२ मा कश्मीरमा २६ पर्यटकको ज्यान लिएको आतंकवादी आक्रमणको जवाफस्वरूप हवाई आक्रमण सुरु गरेको थियो। भारतले यस हमलाका लागि पाकिस्तान समर्थित आतङ्ककारी समूहलाई दोष दिएको थियो।

युद्धविरामपछि राष्ट्रपति ट्रम्पले भारत र पाकिस्तान दुवैलाई धन्यवाद दिँदै कश्मीरबारे वार्ता गराउने इच्छा व्यक्त गरेका थिए। तर भारतले तेस्रो पक्षको हस्तक्षेप अस्वीकार गर्दै कश्मीर विषय दुई देशबीच प्रत्यक्ष वार्तामार्फत समाधान हुनुपर्ने अडान दोहोर्‍याएको छ।

भारतीय विपक्षी सांसद प्रियंका चतुर्वेदीले ट्रम्पको टिप्पणीको प्रतिक्रिया दिँदै भनिन्, “हामीलाई कश्मीर समस्याको समाधान गर्न अमेरिका वा अरू कुनै देशको हस्तक्षेप चाहिँदैन। त्यो हाम्रो जिम्मेवारी हो।”

कांग्रेस नेता राहुल गान्धीले अमेरिकी हस्तक्षेपको चर्चा भएको विषयमा संसदको संयुक्त बैठक बोलाउन माग गरेका छन्।

यद्यपि भारतले ट्रम्पको युद्धविराम मध्यस्थताको दाबी स्वीकार नगरी उक्त सहमति दुई देशबीच प्रत्यक्ष रूपमा भएको स्पष्ट पारेको छ। शनिबार सुरु भएको युद्धविराम आइतबारसम्म कायम रहेको बताइएको छ। यद्यपि सीमा क्षेत्रमा छिटपुट तोपगोलाको आवाज सुनिएको छ।

प्रतिक्रिया