

गाजामा हमासले पक्रिएका ३ अमेरिकी बन्धकको मृत्यु, २१ मात्रै जीवित : ट्रम्प

वासिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गाजामा हमासले पक्रिएका २४ जना अमेरिकी बन्धकमध्ये ३ जनाको मृत्यु भइसकेको र २१ मात्रै जीवित रहेको विश्वास व्यक्त गरेका छन्।
मङ्गलबार एक कार्यक्रमका क्रममा ट्रम्पले भने, “आजको मितिसम्म २१ जना जीवित छन्, तीन जनाको मृत्यु भएको छ।” यद्यपि, उनले मृत्यु भएको विश्वास गरिएका व्यक्तिको पहिचान वा मृत्युबारे कसरी जानकारी प्राप्त भएको भन्ने विवरण खुलाएका छैनन्। उनले भने, “त्यहाँ २१ जना छन् र धेरै मृत शरीर पनि।”
२४ जीवित बन्धकमध्ये एडन अलेक्जान्डर नामका एक अमेरिकी नागरिक पनि भएको विश्वास गरिएको छ। हमासले सन् २०२३ को अक्टोबर ७ मा इजरायलमाथि हमला गरेपछि अमेरिकी बासिन्दाहरूको शव पनि उनीहरूको कब्जामा परेको थियो।
ट्रम्पको यो टिप्पणी इजरायल सरकारले गाजाको कब्जा लिने र हमास विरुद्ध युद्ध जारी राख्ने निर्णय गरेपछि आएको हो। इजरायलको यो योजना कार्यान्वयनमा आए गाजामा अपरेसन थप विस्तार हुनेछ र अन्तर्राष्ट्रिय विरोध बढ्न सक्ने अनुमान गरिएको छ।
यसैबीच, अमेरिकी विदेश मन्त्रालयका अनुसार सोमबार १७ जना अमेरिकी नागरिक तथा कानुनी स्थायी बासिन्दाहरूलाई गाजा छोड्न सहयोग गरिएको छ। मन्त्रालयले इजरायल र जोर्डन सरकारलाई यस कार्यका लागि धन्यवाद दिएको छ।
विदेशमन्त्री मार्को रुबियोले पनि सोमबार वासिङ्टनमा जोर्डनका राजा अब्दुल्लाह द्वितीयसँग भेटवार्ता गरेका छन्।

