भारत–पाकिस्तानबीच युद्धविराम: अमेरिकाको पहल सफल भएको ट्रम्पको दाबी


काठमाडौं- भारत र पाकिस्तानबीच पूर्ण युद्धविरामको सहमति भएको छ। दुवै देशका उच्च अधिकारीहरूले तुरुन्त लागू हुने गरी स्थल, आकाश र समुद्र तीनै माध्यमबाट हुने सबै प्रकारका सैन्य गतिविधिहरू रोक्ने निर्णयमा पुगेको जानकारी दिएका छन्।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफ्नो सामाजिक सञ्जाल ‘ट्रुथ सोसल’मा लेख्दै संयुक्त राज्य अमेरिकाको मध्यस्थतामा रातभरि भएको लामो वार्तापछि भारत र पाकिस्तान पूर्ण युद्धविरामका लागि सहमत भएको उल्लेख गरेका छन्। ट्रम्पले उक्त पोस्टको स्क्रिनशट एक्स (पूर्व ट्विटर) मा सेयर गर्दै दुवै देशलाई साझा समझदारी र उच्च बुद्धिमत्ताको प्रयोग गरेकोमा बधाई पनि दिएका छन्।

भारतका विदेश सचिव विक्रम मिश्रीले जानकारी दिएअनुसार, पाकिस्तानका सैन्य अपरेशन्स प्रमुख (डीएमजीओ) ले आज दिउँसो भारतीय समकक्षीसँग टेलिफोन संवाद गर्दै युद्धविरामको सहमति जनाएका हुन्। यो सहमति शनिबार साँझ ५ बजेबाट लागू हुनेछ।

छोटो विज्ञप्तिमा सचिव मिश्रीले भने, “दुवै पक्षबीच स्थल, आकाश र समुद्र तीनै क्षेत्रबाट हुने सबै प्रकारका सैन्य कारबाही तुरुन्त रोकिने सहमति भएको छ। यसका लागि दुबै देशका डीएमजीओहरूलाई निर्देशन दिइसकिएको छ।” साथै, आगामी मे १२ मा दिउँसो १२ बजे पुनः संवाद हुने पनि बताइएको छ।

पाकिस्तानका उपप्रधानमन्त्री तथा विदेशमन्त्री इशाक डारले जियो टिभीसँगको कुराकानीमा यो सहमति आंशिक नभई पूर्ण युद्धविराम सम्झौता भएको स्पष्ट पारेका छन्। उनले भने, “यो सम्झौतासँगै भारत र पाकिस्तानबीचको सैन्य संवाद र हटलाइन प्रणाली पनि सक्रिय बनाइएको छ।”

यसअघि अमेरिकी विदेशमन्त्री मार्को रूबिओले पाकिस्तानका विदेशमन्त्री डार र सेना प्रमुख असिम मुनिरसँग टेलिफोन वार्ता गरेका थिए, जसले युद्धविराम समझौतालाई टुंगोमा पुर्‍याएको बताइएको छ।

प्रतिक्रिया