रास्वपाका दुई ‘हिरोइनहरु’को दम्भ !
घटना नं. १
अघिल्लो साता प्रतिनिधिसभा संसदमा राष्ट्रिय स्वतन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं. २ बाट निर्वाचित भएकी सांसद सोबिता गौतमले आफूलाई आफ्नै क्षेत्रका मतदाताबाट दूव्र्यवहार भएको भन्दै आवाज उठाइन् । निर्वाचन क्षेत्रमा कार्यकर्ता भेटका लागि गएकी सोविताले आफ्नै निर्वाचन क्षेत्रका मतदाताले प्रश्न उठाउँदा अपमान भएको महसुस गर्दै संसद्लाई नै आफूप्रति ध्यानाकर्षित गर्न खोजिन् ।
घटना नं. २
शुक्रबार बिहान ७ बजे सुर्खेतका लागि उड्नुपर्ने श्री एयरलाइन्सको विमान टेकअफ हुनै लाग्दा धावनमार्गबाटै फर्कियो । त्यस विमान फर्काउनुमा रास्वपाकै अर्की सांसद विनिता कठायत नै प्रमुख कारण रहेको खुल्यो । यात्रुसँग झगडामा उत्रिएकी विनिताले सोबिताकै ‘पारा’मा व्यक्तिगत झगडा संसदमा उठाउँछु भन्ने किसिमको अभिव्यक्ति दिएपछि चर्किएको विवादले जहाज धावनमार्गबाट फर्किएर ३ घन्टा पछिमात्र उडेको खुलेको छ ।
आम जनताले यी दुईजना सांसदहरुलाई कुनै बेला रोलमोडल ठानेका थिए । २७ वर्षको उमेरमा चुनावी मैदानमा उत्रिएर पूर्वसभामुख जस्तो गरिमामय पदमा बसेकी स्थापित दल नेकपा माओवादी केन्द्रकी उम्मेदवारलाई पराजित गर्दै संसदमा कान्छी निर्वाचित सांसदको रुपमा प्रवेश गरेकी सोबिता आम नेपाली युवा/युवतीहरुमा प्रेरणाकी स्रोत थिइन् । उपत्यका बाहिरबाट आएर पहिलोपटक चुनावमा होमिएकी युवतीले राजधानीबासीको मन जित्दै प्रतिनिधिसभाको सांसद बन्नु कम्ती गौरवको कुरा होइन ।
त्यस्तै कर्णालीको जुम्लाबाट राजधानी आएर केही नेपाली चलचित्रसहित ग्ल्यामर्स क्षेत्रमा ‘कस्ट्युम स्टाइलिस्ट’ का रूपमा काम गर्दागर्दै रवि लामिछाने जोडिएको टेलिभिजनमा जोडिएर काम गर्दागर्दै सांसद बनेकी विनिताले कर्णालीको प्रतिनिधित्व गरेकी छिन् । त्यस क्षेत्रबाट राजधानीमा आएर त्यस क्षेत्रका जनताको दुःख पीडालाई आम देशबासी र सरकारलाई सुनाउन सक्ने गरी यो उच्च ओहदामा पुग्न सकिन्छ भन्ने प्रेरणाकी स्रोत बनेकी थिइन् । एक हिसाबमा कर्णाली अनि जुम्लाबासीका लागि मात्रै नभएर उनी सम्पूर्णदेशभरका युवतीहरुका लागि प्रेरणाको स्रोत बन्ने क्रममा थिइन् ।
तर यीनै दुई प्रेरणाको स्रोत मानिएका युवा सांसदहरुको यस्तो व्यवहारले कतिपयमा नैराश्यता उत्पन्न भएको मात्र होइन रास्वपाप्रति वितृष्णा नै देखिन थालेको आभास भेटिएको छ । एक्कासी सांसद बनेपछि देखिएका यी दुई घटना पछिल्लो समयका प्रतिनिधि घटना हुन् । स्थापनाको पहिलो वर्षमा नै सत्ताको स्वाद चाखेको रास्वपाका सांसदहरुले आफूहरु जनताप्रति उत्तरदायी भएको भन्दा पनि जनताभन्दा माथि भएको ‘दम्भ’ लुकाउन नसकेको प्रष्ट देखिन्छ ।
कागेश्वरी मनोहरा नगरपालिकाको वडा नं. ६ मा पुग्दा केही युवाहरुले प्रश्न सोध्दा आक्रोशित बनेकी सोविताले आफूलाई सांसदको रुपमा भन्दा पनि महिलाको रुपमा मात्र पुष्टी गर्ने प्रयास गरिन् । दोलखाबाट उच्च शिक्षाका लागि काठमाडौं आएर जनताको मतले निर्वाचित भएर जनप्रतिनिधि बनेको कुनै पनि व्यक्तिले जनताको प्रश्नको उत्तर दिनुभन्दा भाग्नु र आक्रोशित हुनुलाई शोभनीय मानिएको छैन ।
सांसद भइसकेपछि राजनीतिमा प्रवेश गरेकी अर्की सांसद विनिता कठायतकै कारण उड्ने अवस्थामा पुगेको विमान फर्काइनु पनि पक्कै सामान्य होइन । टेकअफ हुनै लागेको विमानभित्र यात्रुहरुबीच झगडा भइरहेको अवस्थामा त्यस जहाजका पाइलटले कसरी जहाज उडाउलान् ?
अझै त्यसैमाथि प्रश्न उठाउने युवकलाई पक्राउ पूर्जी जारी गराएर घर छाड्नुपर्ने अवस्थामा पुर्याउनु सोबिताको पदको दुरुपयोग भन्न मिल्ने कि नमिल्ने ? ती युवाले आफ्नो क्षेत्रको समस्या सुन्ने कर्तव्य सांसद गौतमको रहेको जनाउँदै सोविताले नै समग्र युवाहरुलाई गँजडी र जंड्याहाको संज्ञा दिएकोमा रोष प्रकट गरेका छन् ।
जनताको मतले सांसद जस्तो जिम्मेवार पदमा रहेकी व्यक्तिले आफ्ना मतदाताको प्रश्नको उत्तर दिन इन्कार गर्दै कारबाहीको तहसम्म पुग्नुलाई पक्कै पनि आम जनताले सकारात्मक रुपमा लिन सकेका छैनन् । व्यक्तिगत रिसिइबी वा जनताले उठाएको प्रश्न दिन नसकेर संसद जस्तो गरिमामय स्थानमै आवाज उठाउनु उनको ‘बचपन’मात्र नभई ‘दम्भ’ भएको पुष्टी हुन्छ ।
त्यस्तै सांसद भइसकेपछि राजनीतिमा प्रवेश गरेकी अर्की सांसद विनिता कठायतकै कारण उड्ने अवस्थामा पुगेको विमान फर्काइनु पनि पक्कै सामान्य होइन । टेकअफ हुनै लागेको विमानभित्र यात्रुहरुबीच झगडा भइरहेको अवस्थामा त्यस जहाजका पाइलटले कसरी जहाज उडाउलान् ? उनीहरुमा कस्तो प्रभाव पर्ला ? झन् पछिल्ला दिनमा हवाई दुर्घटना बढ्दै गएको अवस्थामा यात्रुहरुको त्यस किसिमको व्यवहारबाट विमानचालक र कर्मचारीहरुमा कस्तो मनोभावना पैदा गराउला ? त्यहीमाथि सांसद जस्तो जिम्मेवार र गरिमामय पदमा बसेको व्यक्तिबाट त्यस किसिमको व्यवहार हुनुलाई कसरी लिन सकिन्छ ?
कठायतले पनि विमानभित्र विवाद भएपछि त्यसकुरालाई संसदमा उठाउने भन्ने अभिव्यक्ति दिएपछि विवाद समाधानतर्फ भन्दा झन् उग्ररुप लिएर विमान ३ घन्टा डिले भएको जनाइएको छ ।
सबैभन्दा कान्छो राजनीतिक दल भएर पनि पटकपटक सत्ताको स्वाद चाखेको रास्वपा पछिल्लोपटक सत्ताबाट बाहिरिनुपरेपछि आकुल-ब्याकुल देखिएको छ । चरम् विवादित सभापति रवि लामिछानेले सत्ताबिमुख हुनासाथ गरेको सार्वजनिक यातायातको प्रयोग गर्ने निर्णय गरेसँगै झन् अर्को नौटंकी देखिएको छ ।
मिडियासँग नजिक रहेका रास्वपाका अधिकांश नेताहरु औपचारिक कार्यक्रमहरुमा करोडमाथिको गाडीलाई साइडमा राखेर क्यामेरासँगै लिएर सार्वजनिक सवारीको यात्रा गरिरहेको उनीहरुले नै राखेको कतिपय सामाग्रीबाट देखिएको छ । मिडियाबाजी गर्नका लागि माहिर रवि लामिछानेले उनीमात्र होइन सम्पूर्ण पदाधिकारीलाई मिडियाबाजी गर्न प्रशिक्षित गरेको देखिएको छ ।
यी र यस्ता गतिविधि र विवाद बढ्दै गएमा आम जनताले आशा गरेको रास्वपाले पक्कै पनि आगामी निर्वाचनसम्म आफ्नो स्थान बढाउने भन्दा पनि अहिलेसम्म भएको साख नै गुमाउने निश्चित छ ।
पार्टी सभापतिको विवादका लाम, संस्थापक महामन्त्रीको बहिर्गमन पछि र अघिका रहस्योद्घाटनहरु, मन्त्री बन्नकै लागि २/३ करोडको डिल गरेको ढाकाकुमार प्रकरण जस्ता घटनाहरुले रास्वपा जनताको पार्टी बन्न सक्नेमा संशय नै देखिएको छ ।