नेपाली भूमि चीनविरुद्ध प्रयोग हुन दिँदैनौँ : देउवा


काठमाडौं– नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले चीनको खिलाफमा नेपालको भूमि प्रयोग नदिइने स्पष्ट पारेका छन् ।

जीपी कोइराला फाउन्डेसनले सोमबार काठमाडौंमा आयोजना गरेको नेपाल–चीन सम्बन्ध दर्साउने फोटो प्रदर्शनीमा देउवाले एक चीन नीति नेपालले लिएको भन्दै चीनको खिलाफमा नेपालको भूमि प्रयोग नदिइने स्पष्ट पारे ।

उनले दुई मुलुकबीचको सांस्कृतिक आर्थिक, सामाजिक साझेदारी सदैव मजबुत रहेको धारणा राखे । पारस्पारिक सहकार्य र अन्तर्राष्ट्रिय सम्बन्धहरूमा पनि नेपाल र चीन सहकार्य गर्दै आएको उनले बताए ।

उनले नेपालको पूर्वाधार विकास, व्यापार, पर्यटन, सांस्कृतिक, शैक्षिक आदानप्रदान, जलवायु परिवर्तन एवं वातावरणीय सहकार्य लगायतका क्षेत्रमा चीनले सहयोग गर्दै आएको भन्दै आगामी दिनमा पनि थप सहयोग गर्ने विश्वास व्यक्त गरे ।

उनले नेपाल–चीन सम्बन्ध दर्साउने फोटो प्रदर्शनीले चीनसँगको सहकार्यलाई थप मजबुत बनाउँदै दुई देशको सम्बन्धलाई थप उचाइमा पुराउने विश्वास व्यक्त गरे ।

प्रतिक्रिया