

जेलमा बसेको एक ‘कैदी’, जसले बनायो बाबु र श्रीमतीलाई सांसद !

रेशम चौधरी- भन्ने बित्तिकै एउटा तप्काको मानसपटलमा एउटा चित्र आउँछ, जेलभित्रैबाट निर्वाचन आयोगमा दल दर्ता गर्नका लागि जाँदा राजसी ठाँट, अनि अर्का तप्काको मानसपटमा आउँछ, दर्जनौं प्रहरीहरुलाई घाइते र आधादर्जन प्रहरीको ज्यान जाने २०७२ सालको कैलाली टिकापुर घटना ।
कुनै बेला राजधानीको तत्कालिन रत्नराज्य लक्ष्मी क्याम्पसमा कराँते गुरु बनेका रेशम समयक्रमसँगै राजनीतिमा होमिए ।
उनी राजनीतिमै लागेका बेला गृह जिल्ला कैलालीको टिकापुर घटना घट्यो । जुन घटनामा नेपाल प्रहरीले एसएसपीलाई गुमायो, त्यस घटनाका प्रमुख पात्रका रुपमा रेशमलाई सर्वोच्चले जन्म कैद सुनाईसकेको छ, त्यही फैसलाको सजाय भोगी रहेका बेला श्रीमती रञ्जीता श्रेष्ठको अध्यक्षतामा राजनीतिक दल दर्ता गरे रेशमले–नागरिक उन्मुक्ति पार्टी नाम दिएर ।
आफू जेलभित्रै बसेर पार्टीमार्फत श्रीमतीलाई राजनीतिमा सक्रिय बनाउँदै गर्दा मंसिर ४ मा सम्पन्न निर्वाचनमा श्रीमतीसहित ३ जनालाई पार्टीको नामबाट प्रतिनिधिसभामा पुर्याउन सफल भए ।
उता, आफू पनि छिमेकी जिल्ला बर्दियाबाट उम्मेदवारी दिएता पनि फौजदारी अभियोग लागेर सजाय भोगिरहेका व्यक्ति उम्मदेवार बन्न नपाउने प्रावधानका कारण उम्मेदवार खारेजीमा परेका रेशमले आफूले उम्मेदवारी दिएकै स्थानमा स्वतन्त्र उम्मेदवारका रुपमा उभ्याए । रेशम चौधरीको उम्मेदवारी खारेजीसँगै खुशीयाली मनाएका अन्य दलका उम्मेदवारहरु स्वतन्त्र उम्मेदवार लालविर चौधरीले रेशमको समर्थन पाएपछि पुनः शशंकित बने ।
जसबाट उनी राजनीतिमा लागेको मात्र नभएर चतुर रहेको पनि प्रष्ट भयो । उनले आफ्नो उम्मेदवारी खारेज भइसपछि बुवालाई समर्थन गर्दै स्वतन्त्र उम्मेदवारका रुपमा बुवालाई जिताउन सफल रहे ।
बर्दिया क्षेत्र नं. २ बाट उम्मेदवारी दिएका लालविर चौधरीले नेकपा माओवादी केन्द्रका उम्मेदवार सुरेश पन्थलाई झिनो मतान्तरले पराजित गरे । चौधरीले २६ हजार ५२० मत ल्याउँदा पन्थले २६ हजार ३८४ मत ल्याए । यी दुई उम्मेदवारबीच जम्मा १३६ मतको मतान्तर रहेको छ । यद्यपि जित जितै हो, सफल भए रेशम जेलभित्रैबाट ।
त्यस्तै पार्टी र उनको राम्रो प्रभाव रहेको गृह जिल्ला कैलालीमा उनकी श्रीमती रञ्जिता श्रेष्ठले कैलाली १ बाट नेपाली कांग्रेसका चर्चित उम्मेदवार रामजनम चौधरीलाई विशाल मतान्तरले पराजित गर्दै प्रतिनिधिसभाको ढोका खोलिन् । श्रेष्ठले ३० हजार ४०४ मत ल्याउँदा चौधरीले १८ हजार ८ मत मात्र ल्याउन सफल भए ।
त्यस्तै कैलालीकै २ र ३ मा पनि उनको दल नागरिक उन्मुक्ति पार्टीका उम्मेदवारहरुले फराकिलो मतसहित विजयी भए । क्षेत्र नं. २ मा अरुण कुमार चौधरीले नेकपा एमालेका झपट बहादुर रावललाई र क्षेत्र नंं. ३ मा गंगाराम चौधरीले नेकपा माओवादी केन्द्रका कृष्ण कुमार चौधरीलाई पराजित गरे ।
यसअघिको स्थानीय निर्वाचनमा पनि नागरिक जनमुक्ति पार्टीले कैलालीमा राम्रो प्रभाव जमाएको छ । उक्त निर्वाचनमा कैलालीका टिकापुर नगरपालिका, भजनी नगरपालिका, जोशीपुर गाउँपालिका, जानकी गाउँपालिकाका प्रमुखमा नागरिक उन्मुक्तिका उम्मेदवारहरुले जित हात पारेका छन् ।
सरकार निर्माणका लागि कुनै परिस्थितिमा ४ सिट नपुगे भएको खण्डमा उनी निर्णायक बन्न सक्छन् । किनकी उनकै राजनीतिक दलको नामबाट ३ जनाले जित हात पारेका छन् भने उनका बुवाले स्वतन्त्रबाट चुनाव जितेका छन् ।
यसरी अहिले आएर रेशम चौधरीले राजनीतिबाट आफ्नो राम्रो प्रभाव पारेका छन् । कतिपय अवस्थामा सरकार गठन गर्ने सम्बन्धमा उनी निर्णायक बन्ने अवस्थामा पनि देखा परेको छ । कुनै बेला उनको दल सरकारमा गएको र उनकी श्रीमती मन्त्री बन्न सक्ने सम्भावना छ ।
यसअघि २०७४ को निर्वाचनमा उनी भूमिगत हिसाबै उम्मेदवारी दिए पनि प्रतिनिधिसभाका लागि विजयी भएका थिए । तर, सर्वोच्चले दोषी ठहर गरेपछि संसदको सपथ लिए पनि जेलमुक्त भने हुन सकेनन् । उनले अहिले पनि जेलमा सजाय काटि नै रहेका छन् ।

