

रक्सीको नशाले बनायो हत्यारा, धादिङमा २० वर्षीय युवकले पहिलो भेटमै गरे हत्या

काठमाडाैं- धादिङमा मापसेका क्रममा भएको सामान्य विवादले ज्यानै लिने रूप लिएको छ। निलकण्ठ नगरपालिका–४ रायोटारमा मादक पदार्थ सेवनपश्चात उत्पन्न विवादका कारण ५० वर्षीय सुकबहादुर तामाङको ज्यान गएको हाे।
घटनामा संलग्न रहेको आशंकामा गजुरी गाउँपालिका–५ न्यौपानेगाउँका २० वर्षीय सुमन सुनारलाई प्रहरीले पक्राउ गरेको छ। उनी हाल रायोटारमै बसोबास गर्दै आएका थिए।
प्रहरीका अनुसार बिहीबार साँझ पहिलो पटक भेट भएका सुकबहादुर र सुमन सँगै बसेर मदिरा सेवन गरेका थिए। तर मदिराको नशामै सामान्य भनाभन झगडामा परिणत भयो, जसले ज्यानसमेत जाने गरी हिंसात्मक रूप लियो। प्रहरीले शुक्रबार बिहान सडक किनारमा सुकबहादुरको शव फेला पारेपछि अनुसन्धान अघि बढाएको थियो।
जिल्ला प्रहरी कार्यालय धादिङका प्रवक्ता प्रहरी नायव उपरीक्षक सुवास हमालका अनुसार प्रारम्भिक अनुसन्धानबाट सुमनले मदिरा सेवनका क्रममा विवाद बढ्दै गएपछि कुटपिट गरेका थिए।
सुनारले आफूबाट घटना घटेको स्वीकार गरिसकेको प्रहरीले जनाएको छ। हाल उनीमाथि ज्यानसम्बन्धी कसुरमा अनुसन्धान भइरहेको छ र जिल्ला अदालत धादिङबाट ६ दिनको म्याद लिइएको छ।

