रेशम चौधरी रिहा हुँदै, गलत पत्र लेख्ने शाखा अधिकृत विष्ट पक्राउ


काठमाडौं– नागरिक उन्मुक्ति पार्टीका संरक्षक तथा पूर्व सांसद रेशम चौधरी तत्काल रिहा हुने भएका छन्। सर्वोच्च अदालतको आदेशअनुसार उनलाई थुनामुक्त गर्न पठाइएको पत्र प्रहरीमा पुगिसकेको छ।

यसअघि, सर्वोच्च अदालतको मुद्दा शाखाबाट चौधरीलाई पक्राउ गर्न आदेश भएको भनी पत्र लिएर गएका शाखा अधिकृत महिमानसिंह विष्टलाई प्रहरीले पक्राउ गरेर हिरासतमा राखेको छ। विष्टले गैरकानुनी रूपमा “कर्तव्य ज्यान, ज्यान मार्ने उद्योग र डाँका चोरी” अभियोगमा चौधरीलाई नियन्त्रणमा राख्नुपर्ने पत्र तयार पारेका थिए।

प्रहरी स्रोतका अनुसार विष्टलाई सोधपुछका लागि नियन्त्रणमा लिइएको हो। सर्वोच्च अदालतका सूचना अधिकारी निराजन पाण्डेले पनि विष्टलाई प्रहरीले नियन्त्रणमा लिएको पुष्टि गरेका छन्।

पक्राउ परेपछि विष्टले आफूलाई हिंसामा मरेका आत्माहरूले सताएको दाबी गर्दै त्यही कारणले पत्र लेखेको बयान दिएका छन्। यस घटनाले सर्वोच्च अदालतको शाखा कार्यशैलीप्रति गम्भीर प्रश्न उठाएको छ।

चौधरी टीकापुर घटनाका प्रमुख आरोपी हुन्। उनलाई २०७२ सालमा भएको घटनापछि जन्मकैदको सजाय सुनाइएको थियो। तर २०८० साल जेठ १५ गते गणतन्त्र दिवसको अवसरमा सरकारको सिफारिसमा राष्ट्रपतिको निर्णयबाट उनी कैदमुक्त भएका थिए।

 

 

प्रतिक्रिया