गगन थापा भन्छन्-डाँडामा बसेर लाखौँ कमाउन सम्भव छ


काठमाडौं — नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सीप र ज्ञानको प्रयोगमार्फत कुनै डाँडाबाटै बसेर पनि लाखौँ रुपैयाँ कमाउने सपना अब सम्भव भएको बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालय सानेपामा विपन्न वर्गको उत्थानसम्बन्धी नीतिगत सुझाव प्रतिवेदन बुझ्दै उनले भने, “मैले कीर्तिपुरको डाँडा बसेर दुई–तीन लाख कमाउने कुरा गर्दा कतिपयले रमाइलो माने, तर त्यो केवल कल्पना होइन, सम्भव सपना हो ।”

उनले हरेक व्यक्तिलाई सीप र क्षमता विकास गरिएमा लाखौँ कमाउने सम्भावना साकार हुन सक्ने बताए। “विश्व अहिले ज्ञानमा आधारित अर्थतन्त्रतर्फ अघि बढेको छ,” उनले भने, “जहाँ नयाँ प्रविधि र सिर्जनाले नयाँ अवसर सिर्जना गर्छ।”

थापाले चीनमा जन्मेका एक व्यक्तिले एआई उपकरण ‘डिपसिक’ निर्माण गरेर सिलिकन भ्यालीको समर्थन नपाउँदा पनि च्याटजीपीटीसँग प्रतिस्पर्धा गर्ने अवस्थामा पुगेको उदाहरण दिँदै, ज्ञान अर्थतन्त्रले सीमित स्रोतसाधनका बीचमा पनि ठूलो सम्भावना खोलेको बताए।

उनले विपन्न समुदायलाई पनि यस्ता अवसरहरूबाट वञ्चित हुन नदिन विशेष ध्यान दिनुपर्नेमा जोड दिए। “हामीले सीप विकास, पहुँच, प्रविधि र अवसरमा समावेशीता ल्याउन सके भने लाखौँ नेपालीको जीवन बदल्न सक्छौं,” थापाको भनाइ थियो।

प्रतिक्रिया