

रेशम पक्राउ परेपछि नाउपा-जनमत एकता स्थगित

काठमाडौं— नागरिक उन्मुक्ति पार्टी (नाउपा)का संरक्षक रेशमलाल चौधरीको पक्राउपछी नाउपा र जनमत पार्टीबीच तय भएको एकता घोषणा कार्यक्रम स्थगित गरिएको छ। बुधबार दिउँसो काठमाडौंको कमलादीस्थित प्रज्ञा प्रतिष्ठानमा आयोजना गरिएको कार्यक्रममा चौधरीलाई सादा पोशाकका प्रहरीले पक्राउ गरेपछि कार्यक्रम रोकिएको हो।
जनमत पार्टीका अध्यक्ष डा. सीके राउतको सचिवालयले चौधरी पक्राउको कडा भर्त्सना गर्दै कार्यक्रम स्थलमा भेला भएका नेता–कार्यकर्तालाई घर फर्कन अनुरोध गरेको छ। अब एकता प्रक्रियाबारे छलफल गरेर पुनः सूचित गरिने जनाइएको छ।
चौधरी पक्राउ परेपछि जनमत पार्टीका अध्यक्ष डा. राउतले सामाजिक सञ्जालमार्फत प्रतिक्रिया दिँदै भनेका छन्, “पार्टी एकीकरण घोषणा हुन लाग्दा चौधरीलाई कार्यक्रमस्थलमै पक्राउ गरिएको घटनाको हामी घोर भर्त्सना गर्दछौं।”
प्रहरीले चौधरीलाई सर्वोच्च अदालतको आदेशअनुसार टीकापुर घटनासम्बन्धी पूरानो फैसला कार्यान्वयन गर्न पक्राउ गरिएको जनाएको छ। काठमाडौं प्रहरी प्रमुख एसएसपी विश्व अधिकारीका अनुसार बाँकी कैद अवधि भुक्तान गर्नुपर्ने भएकाले उनलाई डिल्लीबजार कारागार लगिएको हो।
२०७२ सालमा कैलालीको टीकापुरमा भएको घटनामा दोषी ठहर भई जन्मकैद सजाय पाएका चौधरीलाई सरकारले २०८० जेठमा राष्ट्रपतिको सिफारिसमा आममाफी दिएको थियो। तर, उक्त निर्णयविरुद्ध टीकापुर घटनामा मारिएका सशस्त्र प्रहरी निरीक्षक केशव बोहोराकी पत्नी शारदा कडायतले सर्वोच्च अदालतमा रिट दायर गरेकी थिइन्।

