

राजतन्त्र अब कहिल्यै फर्किँदैन : प्रधानमन्त्री

काठमाडाैं- प्रधानमन्त्री केपी शर्मा ओलीले जनताको सङ्घर्षबाट वर्तमान लोकतन्त्र प्राप्त भएसँगै राजतन्त्र अन्त्य भएकाले अब राजतन्त्र कहिल्यै नफर्किने बताएका छन् ।
राष्ट्रिय जनसांस्कृतिक महासङ्घ नेपालको नवौं राष्ट्रिय महाधिवेशनको आज उद्घाटन गर्दै नेकपा एमालेका अध्यक्षसमेत रहेका प्रधानमन्त्री ओलीले गणतन्त्र आइसक्दा पनि स्वतन्त्र हुन नचाहेर ‘रैती हुन पाऊँ’ भन्नेहरूको समूहले व्यवस्थाको विरोध गर्ने र वर्तमान व्यवस्थामा नकारात्मकता देख्ने गरेका बताए । जनताको समृद्धि, स्वतन्त्रता र शान्तिका लागि आफ्नो सृजनात्मक अभियानलाई तीव्रता दिन उनले आग्रह गरे । ‘रातिमा चारवटा स्याल कराउँदा वनै घन्किएजस्तो हुन्छ । तिनले कराएर केही हुँदैन । अब राजा हुने सपना कसैले देख्छ भने त्यो सपना मात्रै हुनेछ,’ उनले भने, ‘त्यस्ता प्रवृत्तिविरुद्ध सशक्त रूपमा सांस्कृतिक ढ्याङ्ग्रो बजाउनु पर्नेछ । यो काममा तपाईं, हामी, सबैले सहकार्य गर्दै अघि बढ्नुपर्छ ।’
प्रधानमन्त्री ओलीले देश र जनताको पक्षमा सकारात्मक र प्रेरणामूलक चलचित्र र नाटक बनाउँदा हेर्ने दर्शकको कमी नहुने धारणा राख्दै सांस्कृतिक, कला, भाषालगायत मुलुकका विविधता संरक्षण र प्रवर्द्धन गर्ने किसिमका चलचित्र र नाटक निर्माण गर्नुपर्नेमा जोड दिए ।

