थारु बस्तीमा प्रचण्डको खाना: खुडिक कपुवादेखि मुसाको चटनीसम्म


कैलाली- तराई–मधेश हुलाकी मार्ग जागरण अभियानको उत्तरार्धमा नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ नेतृत्वको टोली सोमवार साँझ सुदूरपश्चिमको कैलाली प्रवेश गरेको छ। टोली बर्दियाको राजापुर हुँदै कैलाली आइपुगेको हो, जहाँ राति टीकापुरस्थित बस्तीमा बसोबास गरियो।

मंगलवार बिहान प्रचण्डले टीकापुर नगरपालिका–८, धनसिंहपुरमा शहीद परिवार, बेपत्ता व्यक्तिका आफन्त, घाइते, अपाङ्ग र यातना पीडितहरूसँग अन्तरक्रिया गरेपछि टीकापुर–९ झुँगामा आयोजित खबरदारी सभालाई सम्बोधन गरे। त्यही दिन टोली कैलारी गाउँपालिका–५ बैजपुरतर्फ प्रस्थान गर्‍यो, जहाँ बिहानको खानासहित भव्य स्वागतको तयारी गरिएको थियो।

बैजपुर थारु बस्ती भएकाले स्थानीयवासीहरूले पाहुनालाई आफ्नै परम्परागत तरिकामा स्वागत गर्न चार दिनअघिदेखि तयारी थालेका थिए। मुसा खोज्न खेत खनियो, घोंघी र गंगटा संकलन गर्न नदी र तालतलैया चहारियो र माछा मारियो। पाहुनाहरूलाई खुवाउन एक सामूहिक भान्छाघर सञ्चालन गरिनुका साथै सातवटा घरमा थारु मौलिक परिकारहरू तयार गरियो।

प्रचण्डले पनि स्थानीय घरमै दालको सट्टामा खुडिक कपुवा, मुसा र गंगटाको चटनी, लोकल कुखुराको मासु, घोंघी, बयरको चटनी, खरिया लगायतका परिकार ग्रहण गरे।

माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा कैलाली इन्चार्ज नेपबहादुर चौधरी ‘सिंहराज’ का अनुसार प्रचण्डसहित सबै नेताहरूले सालको टपरीमा भात र दुनामा तरकारी खाए। पाहुनालाई खटियामा बसालियो, पंखाको सट्टा बेनाले हावा गरियो, र खाना बरन्डामै खुवाइयो। “जनताको घरमा जे पाक्छ, त्यही खानु, जनताको बीचमा बस्नु । यही नै जागरण अभियानको सार हो,” चौधरीले बताए।

प्रतिक्रिया