

यी नेतालाई उम्मेदवार बनाउन गठबन्धन भित्रै सकस
शीर्ष र बरिष्ठकाे क्षेत्र सुनिश्चित गर्न नेतृत्वमाथि दबाब

काठमाडौं – सरकारले आगामी मंसिर ४ गते प्रतिनिधि सभा र प्रदेशसभा निर्वाचनको घोषणा गरेसँगै सत्तारुढ गठबन्धन भित्रका केन्द्रीय तहका नेताहरुबीच एउटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दाबी गर्दा गठबन्धन भित्रै सकस निम्तिएको छ ।
पाँच दलिय गठबन्धनका शीर्ष नेताले नेपाली कांग्रेसका नेता कृष्णप्रसाद सिटौलालाई संयोजक तोकेर ११ सदस्यीय कार्यदल गठन गरी सिट सङ्ख्यामा सहमति निर्माण गर्ने गरी सुझाव पेश गर्ने जिम्मेवारी दिएका छन् ।
गठबन्धन दलबीच सिटको दाबी अघिल्लो संघिय निर्वाचनमा विजयी सांसदको दल र स्थानीय तहको निर्वाचनमा गठबन्धन दललाई प्राप्त मतलाई मूल आधार बनाउने भनिरहँदा पार्टीकै नेताबीच एउटै क्षेत्रमा चुनाव लड्ने दाबी गर्दा गठबन्धन भित्र सकस चुलिएको हो ।
हाल प्रतिनिधि सभामा कांग्रेसका २३, माओबादीका ३३, जनता समाजबादी पार्टीका ११, नेकपा (एस) का १३ र राष्ट्रिय जनमोर्चाका १ गरी ८१ निर्वाचित सांसद छन् । तीमध्ये तीन जना सांसद निलम्वित छन् ।
एमालेका सांसद पाल्पाका सोमप्रसाद पाण्डे नेकपा एसमा आबद्ध छन् भने जसपाका २ सांसद डा.बाबुराम भट्टराई र निम्बनमा परेका सांसद रेशम चौधरीले बेग्लै राजनीतिक दल खोलिसकेका छन् । कांग्रेसका २ र जसपाका दुई सांसद निलम्बित छन् ।
राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले पुनः प्युठानबाट संघीय निर्वाचनमा उम्मेदवारको दाबी गरिरहकी छन्। तर, कांग्रेसका केन्द्रीय सदस्य तथा राष्ट्रिय योजना आयोगका पूर्वउपाध्यक्ष डा.गोविन्द पोखरेल र चलचित्रकर्मी समेत रहेका नेता रोज राणाले कांग्रेसले स्थानीय तहको निर्वाचनमा उल्लेख्य सफलता पाएको आफूले टिकट पाउनु पर्ने भन्दै दाबी गरेका छन् ।
कांग्रेस बरिष्ठ नेता रामचन्द्र पौडेल र नेकपा एसका कृष्णकुमार श्रेष्ठ (किसान) दुवैले तनहुँको क्षेत्र नम्वर १ बाट संघीय संसदको लागि उम्मेदवारी दाबी गरेका छन् । यहाँ कांग्रेस र नेकपा एसका शीर्ष नेतालाई समेत तनहुँ १ मा कसलाई उम्मेदवार बनाउने भन्ने विषय टाउको दुखाई बनेको छ ।
अघिल्लो संघीय संसदको निर्वाचनमा कांग्रेस नेता पौडेललाई एमालेको तर्फबाट उम्मेदवार बनेका श्रेष्ठले पराजित गरेका हुन् । नेकपा एसले आफ्ना निर्वाचित सांसदलाई यो पटक पुन सोही क्षेत्रबाट टिकट दिनु पर्ने भनी माग गरेको छ ।
पूर्वप्रधानमन्त्री तथा नेकपा एसका सम्मानित नेता झलनाथ खनाल इलाम १ बाट पुनः उम्मेदवार हुन चाहेका छन् । ०७४ मा निर्वाचित खनालको क्षेत्रमा स्थानीय तह निर्वाचनमा नेकपा एस निकै कमजोर भएको भन्दै कांग्रेस इलामका सभापति डम्बर खड्काले आफूले संघीय संसदको चुनावमा टिकट पाउनु पर्ने दाबी गरेका छन् ।
कांग्रेस महामन्त्री विश्वप्रकाश शर्मासँग ०७४ को आमनिर्वाचनमा झापा क्षेत्र नम्वर १ मा प्रतिष्पर्धा गरी निर्वाचित माओबादी केन्द्रका सुरेन्द्रकुमार (राम) कार्कीले यस पटक पनि दाबी गरेका छन् । यहाँ कांग्रेसका उम्मेदवार उठाउने कि माओबादीको भन्ने विषय जटिल बनेको छ ।
प्रतिनिधि सभाका सभामुख अग्नीप्रसाद सापकोटा अघिल्लो निर्वाचनमा सिन्धुपाल्चोक क्षेत्र नम्वर १ मा माओबादीको तर्फबाट निर्वाचित भए । सापकोटासँग पराजित कांग्रेसका प्रभावशाली नेता मोहनबहादुर बस्नेतले सोही क्षेत्रबाट उम्मेदवार बन्ने अडान लिएका छन् ।
कांग्रेस प्रवक्ता डा.प्रकाशशरण महत यो पटक नुवाकोटको क्षेत्र नम्वर १ बाट प्रत्यक्ष निर्वाचनमा उम्मेदवार बन्ने सार्वजनिक घोषणा गरेका छन् । तर सो क्षेत्रमा ०७४ को आमनिर्वाचनमा माओबादीका हितबहादुर तामाङ निर्वाचित भएका थिए । तामाङ आफ्नो क्षेत्र छाड्न चाहँदैनन् ।
कांग्रेस प्रवक्ताले नै दाबी गरेपछि उम्मेदवार छान्न गठबन्धनलाई सकस हुने देखिन्छ । महत यसअघि काठमाडौं क्षेत्र नम्वर ५ बाट संघीय संसदको निर्वाचनमा उम्मेदवार भई एमालेका नेता इश्वर पोखरेलसँग पराजित भएका थिए । महतले संसदीय इतिहासमा प्रत्यक्षबाट निर्वाचित भएको अभिलेख छैन ।
जनता समाजबादी पार्टीका सांसद रामबाबु कुमार यादव ०७४को आमनिर्वाचनमा बारा ३ बाट संघीय संसदमा निर्वाचित भए । यादवसँग पराजित कांग्रेस सहमहामन्त्री फर्मुला मन्सुर यसपटक पुनः सोही क्षेत्रबाट प्रतिष्पर्धा गर्ने अडानमा छन् । दुवैको दाबीपछि कसका लागि सहमति गर्ने भन्ने विषय कठिन भएको छ।
नेकपा एसका नेता तथा पूर्वमन्त्री विरोध खतिवडा र कांग्रेसकी सहमहामन्त्री महालक्ष्मी उपाध्याय दुवैले मकवानपुर २ मा उम्मेदवारीको दाबी गरेका छन् । दुवैको दाबी रहँदा गठबन्धनले कसलाई टिकट दिने भनेर निर्णय गर्न चुनौति थपिएको छ ।
पूर्वअर्थमन्त्री महेश आचार्य पुनः मोरङको क्षेत्र नम्वर ४ बाट उम्मेदवार दाबी गर्छन । तर, अघिल्लो पटक आचार्यलाई पराजित गरेका माओबादी सांसद अमनलाल मोदी आफू निर्वाचित भएको क्षेत्र सुरक्षीत भन्दै दाबी छाडेका छैनन् ।
दाङ क्षेत्र नम्वर २ मा पूर्वसभामुख एवम् माआबादी नेता कृष्णबहादुर महरा र कांग्रेस नेता राजु खनाल दुवैले एउटै क्षेत्रबाट संघीय संसदमा टिकटको दाबी गरेका छन् ।
कांग्रेसको कर्णाली प्रदेश सभापतिमा निर्वाचित ललितजंग शाही जुम्लाको एक मात्र निर्वाचन क्षेत्रबाट संघीय संसदमा प्रतिष्पर्धा गर्ने चाहना राखेका छन् । तर, सोही क्षेत्रबाट माओबादीका निर्वाचित सांसद गजेन्द्रबहादुर महतले पनि निरन्तरताको दाबी छाडेका छैनन् ।
माओबादी नेता चक्रपाणि खनाल र कांग्रेसका नेता पूर्वमन्त्री दीपकुमार उपाध्याय दुवैले कपिलबस्तु १ बाट संघीय संसदको उम्मेदवार बन्ने दाबी गरेका छन् । यहाँ गठबन्धनलाई खनाल र उपाध्यायमध्ये एकलाई रोज्न कठिन हुने देखिन्छ । अघिल्लो निर्वाचनमा खनालले उपाध्यायलाई हराएका थिए।
माओबादीवको तर्फबाट ०७४ को संघीय निर्वाचनमा हालका शिक्षा मन्त्री देवेन्द्र पौडेल विजयी भए । यस पटक पनि उनले दाबी छाडेका छैनन् तर, कांग्रेसले प्रभु गु्रपका अध्यक्ष देवी भट्टचनलाई उम्मेदवार बनाउन खोजेको छ भने पार्टीका जिल्ला अध्यक्ष जीत शेरचनले पनि दाबी गरेका छन् ।
उर्जा, जलश्रोत तथा सिँचाई मन्त्री पम्फा भूषाल अघिल्लो संसदीय निर्वाचनमा जितेकै क्षेत्र ललितपुर ३बाट पुन प्रतिष्पर्धा गर्ने योजनामा छिन् । तर त्यसबेला एमालेसँग गठबन्धनगरी उम्मेदवार भएकी भूषालसँग झिनो मतले पराजित कांग्रेस केन्द्रीय सदस्य मदन अमात्यले यस पटक पुन उम्मेदवारीको दाबी गरेका छन् । स्थानीय तहको नजिता हेर्दा माओबादी सो क्षेत्रमा अत्यन्तै कमजोर छ ।
माओबादी नेता तथा संसदीय दलका प्रमुख सचेतक देवप्रसाद गुरुङ र कांग्रेसका बरिष्ठ नेता दीलबहादुर घर्ती दुवैले लम्जुङ –१ बाट संघीय संसदको लागि उम्मेदवारीको दाबी गरेका छन् । ०७४ को निर्वाचनमा उनै गुरुङले घर्तीले पराजित गरेका थिए ।
माओबादी नेता मातृका यादव र कांग्रेसका केन्द्रीय सदस्य तथा पूर्वमन्त्री आनन्दप्रसाद ढुंगाना दुवैले धनुषाको क्षेत्र नम्वर ४ मा उम्मेदवार बन्न दाबी गरेका छन् । यादवले आफूले नपाए माओबादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डलाई सो क्षेत्रबाट उम्मेदवार बन्न सार्वजनिक अभिव्यक्ति दिइसकेका छन् ।
माओबादी नेता शक्तिबहादुर बस्नेत र नेपाली कांग्रेसका केन्द्रीय सदस्य राजिप शाह दुवैले जाजरकोटको एक मात्र निर्वाचन क्षेत्रबाट प्रतिनिधि सभा सदस्यमा उम्मेदवार बन्ने दाबी गरेका छन् । अघिल्लो निर्वाचनमा शाह माओबादीका बस्नेतसँग पराजित भएका थिए ।
कांग्रेस केन्द्रीय सदस्य अमृत अर्याल र माओबादी सांसद शिवकुमार मण्डल केवटले मोरङको ५बाट उम्मेदवारी पाउनु पर्ने दाबी गरेका छन् । अघिल्लो निर्वाचनमा केवटले अर्याललाई पराजित गरेका थिए ।
पूर्वउपसभामुख तथा कांग्रेसकी पूर्वकोषाध्यक्ष चीत्रलेखा यादव र माआबादीका निर्वाचित सांसद सुरेशचन्द्र दासले सिरहाको क्षेत्र नम्वर २ बाट उम्मेदवारीको दाबी गरेका छन् । अघिल्लो निर्वाचनमा दास निर्वाचित भएका थिए भने यादव कांग्रेसबाट समानुपातिक सांसद भएकी थिइन् ।
कांग्रेस नेता बलबहादुर केसी र माओबादी सांसद हेमकुमार राई दुवैले सोलुखुम्वुबाट प्रतिनिधिसभाको निर्वाचनमा उम्मेदवार हुने दाबी गरेका छन् । अघिल्लो निर्वाचनमा उनै राईले नेता केसीलाई पराजित गरेका थिए ।
नेकपा एसका नेता तथा पूर्वमन्त्री प्रेमबहादुर आले यसपटक पुनः डोटीबाट संघीय संसदको निर्वाचनमा प्रतिष्पर्धा गर्ने दाबी गरेका छन् । तर, स्थानीय तहको निर्वाचनमा कांग्रेसले दुई तिहाई बढी स्थानीय तहमा जित हासिल गरेको भन्दै कांग्रेसका सुदूरपश्चिम प्रदेश सभापति बीरबहादुर बलायर पुन संघीय संसदको लागि उम्मेदवार हुने दाबी पेश गरेका छन् ।
माओबादीका निर्वाचित सांसद हरिराज अधिकारी गोरखा १बाट संघीय संसदको चुनाव लड्ने तयारीमा छन् । तर सोही क्षेत्रबाट कांग्रेस केन्द्रीय सदस्य चीनकाजी श्रेष्ठले पनि दाबी गरेका छन् ।
जनता समाजबादीका नेता तथा कृषि तथा सहकारी मन्त्री भएका प्रदीप यादव र कांग्रेसका नेता अजयकुमार चौरसिया दुबैले पर्षा १ बाट दाबी गरेका छन् ।
जसपाका नेता तथा सिरहा ४ बाट प्रत्यक्षमा निर्वाचित सांसद राजकिशोर यादवको क्षेत्रमा कांग्रेस नेता अमर रेग्मी र माओबादी नेता तथा पूर्वमन्त्री अजयशंकर नायकको दाबी रहेको छ ।
जसपाका नेता महिन्द्र राय यादवको सर्लाही २ मा कांग्रेस नेताहरु जंगीलाल राय, नागेन्द्र राय र सियाराम यादवले दाबी गरेका छन् । यो क्षेत्रमा जसपा र कांग्रेसमध्ये कसले टिकट पाउने भन्ने स्पस्ट छैन ।
जसपाका महामन्त्री तथा सांसद रामसहाय प्रसाद यादव र कांग्रेसका पूर्वकेन्द्रीय सदस्य राधेचन्द्र यादव दुवैले बारा २ मा उम्मेदवार हुने दाबी गरेका छन् ।
जसपाका निर्वाचित सांसद सुरेन्द्रकुमार यादव र कांग्रेसका महेन्द्रकुमार राय यादव दुवैले महोत्तरी ४बाट दाबी गरेका छन् ।
नेकपा एसबाट कृष्णलाल महर्जन ललितपुर २ बाट निर्वाचित भएका थिए । उनले पुन सो क्षेत्र दाबी गरेका छन् । तर हालैको स्थानीय तहको निर्वाचनमा नेकपा एस अत्यन्तै कमजोर सावित भएसँगै कांग्रेस नेता चन्द्र महर्जनले सो क्षेत्रमा दाबी गरेका छन् ।
पर्यटन मन्त्री भएका नेकपा एसका सांसद जीबनराम श्रेष्ठ काठमाडौं ८ बाट पुनः उम्मेदवार हुन चाहन्छन् । अघिल्लो निर्वाचनमा कांग्रेसका उम्मेदवार भएका नविन्द्रराज जोशी (निधन) लाई झिनो मतले पराजित गरेका श्रेष्ठको ठाउँमा कांग्रेसका नेताहरुले दाबी गरेका छन् ।
स्वास्थ्य मन्त्री तथा नेकपा एसका सांसद भवानीप्रसाद खापुङ र कांग्रेस केन्द्रीय सदस्य सीता गुरुङ तेह्रथुमबाट संघीय संसदमा प्रतिष्पर्धाको लागि दाबी गरेका छन् ।
शहरी विकास मन्त्री मेटमणि चौधरी गत संघीय निर्वाचनमा दाङ १ मा एमालेबाट निर्वाचित भएका हुन् । उनी हाल नेकपा एसमा छन् तर, सो क्षेत्रबाट कांग्रेसका केन्द्रीय सदस्य योगेन्द्र चौधरी र पार्बता डीसी चौधरी तथा पूर्वसांसद सुशीला चौधरीले टिकटको लागि दाबी गरेका छन् ।
नेकपा एमालेको सांसद भए पनि नेकपा एसमा लागेका सांसद सोमप्रसाद पाण्डे पाल्पा २ मा पुनः उम्मेदवार बन्न चाहन्छन् । तर सो क्षेत्रमा नेकपा एसको संगठन कमजोर भएको स्थानीय तहको निर्वाचन परिणामले देखाएको भन्दै कांग्रेसले निवर्तमान जिल्ला सभापति बीरबहादुर राना र नेपाल राष्ट्र बंैंकका पूर्वगभर्नर डा. चिरञ्जीवी नेपालमध्ये एकलाई उम्मेदवार बनाउन खोजेको छ ।
मन्त्री तथा नेकपा एसका सांसद हिराचन्द्र केसी दाङ जिल्लाको क्षेत्र नम्वर ३ बाट पुन उम्मेदवार बन्न खोजेका छन् । तर गत निर्वाचनमा झिनो मतले पराजित कांग्रेस केन्द्रीय सदस्य दिपक गिरीको बलियो दाबेदारीका कारण आधिकारिक उम्मेदवार तोक्न गठबन्धनको कार्यदललाई कठिनाई देखिएको छ ।
रामेछापको एक मात्र निर्वाचन क्षेत्रमा यस पटक माओबादी केन्द्रबाट सांसद श्यामकुमार श्रेष्ठ संघीय संसदमा दोहोर्याउने पक्षमा छन् । तर, कांग्रेसले जिल्ला सभापति कान्छाराम तामाङ र लब न्यौपानेमध्ये एकलाई उम्मेदवार बनाउन चाहेको छ ।
विगत तीन पटक भोजपुरबाट संघीय संसदमा निर्वाचित हुँदै आएका माओबादी सांसद सुदन किराँति यस पटक पुनः उम्मेदवारीको दाबी गरिरहँदा कांग्रेसले स्थानीय तहको निर्वाचनमा राम्रो नतिजा आएको भन्दै उमेशजंग रायामाझीलाई उम्मेदवार बनाउन चाहेको छ ।
माओबादीबाट प्रतिनिधि सभामा कालिकोटबाट निर्वाचित दुर्गबहादुर रावतसँगै संसदीय निर्वाचनमा कांग्रेस नेता भूपेन्द्रजंग शाही र पूर्वजिल्ला सभापति हर्ष बमले सांसदमा उम्मेदवारीको दाबी गरेका छन् ।
माओबादीका रामेश्वर राय यादव ०७४ मा निर्वाचित सर्लाही ३ बाट कांग्रेसका हरेस महतो, विनोद खनाल र जंगीलाल रायले उम्मेदवार बन्न दाबी गरेका छन् ।
पूर्वमन्त्री तथा माओबादी सांसद गिरिराजमणि पोखरेल महोत्तरी १ बाट पुनः उम्मेदवार बन्न खोजेका छन् । तर महोत्तरीमा माआबादी केन्द्रले एउटा पनि स्थानीय तहको नेतृत्व विजय हासिल गर्न नसकेको अवस्थामा कांग्रेसले सो क्षेत्रमा दाबी गरेको छ ।
जसपाका सांसद प्रमोद साह सर्लाही १ बाट निर्वाचित हुन् । तर पूर्वराज्यमन्त्री तथा कांग्रेस केन्द्रीय सदस्य शम्भुलाल श्रेष्ठ र पूर्वसांसद रामचन्द्र चौधरीले स्थानीय तहको निर्वाचनमा कांग्रेसलाई अत्यधिक सफलता मिलेको भन्दै आफूहरुले टिकट पाउनु पर्ने दाबी गरेका छन् ।

