अब समुन्द्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउँछ : अर्थमन्त्री शर्मा


काठमाडौं – अर्थमन्त्री जनार्दन शर्माले आजदेखि काठमाडौं उपत्यका सडकमार्फत् समुन्द्रसम्म जोडिएको बताएका छन् । मंगलबार काठमाडौंको चोभार सुख्खा बन्दरगाहको उद्घाटन गर्दै अर्थमन्त्री शर्माले समुद्रमा लोड भएका कन्टेनरहरु सडकमार्फत् बन्दरगाह आउने भएकाले काठमाडौं समुद्रसँग जोडिएको बताएका हुन् ।

उनले अब समुन्द्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउँने बताए । मन्त्री शर्माले सुख्खा बन्दरगाह सञ्चालनमा आएसँगै व्यापार/व्यवसायको प्रबद्र्धधनमा सहयोग पुग्ने बताए । चोभार सुख्खा बन्दरगाह आयातको केन्द्रका रूपमा नभइ निर्यातको केन्द्रका रूपमा विकास हुनुपर्ने भन्दै अर्थमन्त्री शर्माले बन्दरगाहबाट नेपालमा उत्पादित वस्तु अन्तर्राष्ट्रिय बजारसम्म निर्यात गर्ने बाटो खुल्ला भएको बताए ।

उनले यतिबेला नेपालको अर्थतन्त्रलाई कोरोना महामारी र रुस युक्रेन युद्धले असर गरेकाले चुनौती थपिएको बताए । रुस र युक्रेनबीचको युद्धले पेट्रोलियम पदार्थको मूल्य बृद्धि र रेमिट्यान्स खुम्चिए पनि फागुन मसान्तमा रेमिट्यान्समा केही सुधार भएको दाबी गरे ।

उनले थपे, ‘अब समुन्द्रबाट छुट्ने कन्टेनर सिधै चोभार सुख्खा बन्दरगाहमा आउँछ । हामी सडकमार्फत अब सिधै समुद्रसँग जोडिएका छौं । समुद्रको किनारबाट भरिने कन्टेनरहरु सिधै यस बन्दरगाहमा आउने छन । जाँच पास लगायतका कुराहरु यहीबाट हुने छन । व्यापार सहजिकरणमा महत्वपूर्ण योगदान पु¥याउने छ । लागत र समयका देष्ट्रिकोणले हामी थप उपलब्धी लिने छौं । लागत पनि कम हुने छ ।’

त्यस्तै उनले बन्दरगाह उद्घाटन गर्दै गर्दा एउटा प्रतिबद्धता जनाउनुपर्ने भन्दै भने, ‘कोरोनाले एउटा शिक्षा दिएको छ । त्यसपछि अहिले रुस र युक्रेनको युद्धले हामीलाई चुनौती दिइरहेको छ । हाम्रो अर्थतन्त्रमा गहिरो प्रभाव पारेको छ । त्यस कारण यो सुख्खा बन्दरगाह आयातको केन्द्रविन्दु मात्रै नभएर निर्यातको एउटा महत्वपूर्ण केन्द्र बन्नु पर्दछ । हामीले खाद्याय वस्तुहरु विशेषगरी कृषिमा आधारित वस्तुहरु तरकारी तथा फलफूलहरु यो बन्दरगाह मार्फत आयात गरेर खाने कुरालाई क्रमश अन्त्य गर्दै निर्यात गर्ने ठाउँमा पुर्‍याउनु पर्छ ।’

त्यस्तै, नेपाल इन्टर मोडल यातायात विकास समितिका कार्यकारी निर्देशक आशिष गजुरेलले २०७८ असारमा नै बन्दरगाह संरचनाको निर्माण सम्पन्न भएको बताए । उनले बन्दरगाहमा ५ सय कन्टेनर ५ सय ट्रकको अट्ने गरी ६५ हजार वर्गकिलोमिटरको पाकिङ क्षेत्र रहेको बताए ।

प्रतिक्रिया