

गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका विश्व पौडेलविरुद्ध सर्वोच्चमा रिट

काठमाडौं – नेपाल राष्ट्र बैंकको गभर्नर सिफारिस समितिबाट राजीनामा दिएका अर्थशास्त्री विश्व पौडेलविरुद्ध सर्वोच्च अदालतमा रिट दायर गरिएको छ। अधिवक्ताद्वय प्रतिभा उप्रेती र विशाल थापाले पौडेलको प्रस्तावित गभर्नर नियुक्तिलाई लिएर सर्वोच्चमा रिट पेस गरेका हुन्।
राष्ट्र बैंक ऐन २०५८ को दफा २१ (क) अनुसार कुनै पनि राजनीतिक दलको सदस्यलाई गभर्नर नियुक्त गर्न नपाइने कानुनी प्रावधान विपरीत पौडेललाई नियुक्त गर्न लागिएको भन्दै रिटमा उक्त प्रक्रिया रोक्न माग गरिएको छ।
रिट दर्ता प्रक्रिया अझै पूरा भइनसकेको सर्वोच्च अदालत प्रशासनले जनाएको छ। साथै, अधिवक्ताद्वयले राष्ट्र बैंकका कार्यकारी निर्देशक डा. गुणाकर भट्टको योग्यताको विषयमा पनि पूरक निवेदन दर्ता गरेका छन्।
यसअघि सरकारले गभर्नर नियुक्तिका लागि आवश्यक मापदण्ड संशोधन गर्दै ६५ वर्षे उमेरहद हटाउने निर्णय गरेपछि त्यसविरुद्ध पनि उनीहरूले रिट दायर गरेका थिए। उक्त रिटमा अन्तरिम आदेश जारी गर्दै संशोधित मापदण्ड तत्काल लागू नगर्न अदालतले सरकारलाई निर्देशन दिएको थियो।
डा. भट्टले दिएको राजीनामा कायम मुकायम गभर्नर नीलम ढुंगानाले स्वीकृत नगरेपछि, प्रधानमन्त्री केपी शर्मा ओली र कांग्रेस सभापति शेरबहादुर देउवाबीच नयाँ गभर्नरका रूपमा पौडेललाई ल्याउने सहमति भएको थियो। त्यसैको आधारमा कांग्रेसको तर्फबाट सिफारिस समितिमा सहभागी रहेका पौडेलले सदस्य पदबाट राजीनामा दिएका थिए।
राजनीतिक प्रभावमा नियुक्ति गर्न खोजिएको भन्दै आलोचना भइरहेका बेला सर्वोच्चमा रिट दर्ता भएको हो। रिटमा पौडेलको सम्भावित नियुक्ति तत्काल रोक्नुपर्ने माग गरिएको छ।

