श्रीलङ्काको जस्तो अर्थतन्त्र बनाउने केहीको रहर पूरा हुँदैन : अर्थमन्त्री


काठमाडौं – अर्थमन्त्री जर्नादन शर्माले नेपालको अर्थतन्त्र श्रीलङ्काको जस्तो धरासायी नहुने प्रष्ट पारेका छन् । नेपाल राष्ट्र बैंकले आज राजधानीमा आयोजना गरेको कार्यक्रममा उनले नेपालको अर्थतन्त्र तुलनात्मकरूपले आन्तरिकरूपमा बलियो, उत्पादन र राजस्व प्रणालीमा सुदृढ तथा ऋणको ठूलो चाप नरहेकाले श्रीलङ्का जस्तो नेपालको अर्थतन्त्र हुने कुरामा कुनै सत्यता नरहेको बताए ।

‘अहिलेको अर्थतन्त्रमा समस्या आउला कि भनेर चिन्ता गर्नेहरुलाई धेरै धन्यवाद दिनुपर्छ । किनभने यस्तो चिन्ता र सुझावले सरकारसँगै सबै सरोकारवालाई सतर्क बनाइरहेको छ’, उनले भने,’कतिपयलाई भने नेपालको अर्थतन्त्र श्रीलङ्का जस्तो बनाउने रहर छ, तिनको सपना पूरा हुँदैन।’ नेपाल र श्रीलङ्काबीच तुलनै नहुने भएकाले अर्थतन्त्र श्रीलङ्का जस्तो नहुने उनको भनाइ थियो ।

‘हाम्रो ऋण र उत्पादनको अवस्था, विदेशी लगानी, ऋण सहायतालगाायत तथ्याङ्क हेर्‍यौँ भने श्रीलङ्कासँग तुलना नै हुन सक्दैन । तुलना हुनै नसक्ने विषयलाई लिएर एकथरीले जनतालाई जुन हिसाबले आतङ्कित बनाउने काम गरिरहेका छन् त्यसको तपाईं हामी सबै मिलेर खण्डन गर्नुपर्छ’, उनले भने ।

श्रीलङ्कासँग तुलना गर्दै नेपालको अर्थतन्त्र पनि धरासायी हुन्छ भन्दै बहस गर्नेहरुलाई सकारात्मक भई दबाबमा रहेको नेपालको अर्थतन्त्र सुधारका विषयमा चिन्तन गर्न उनले अपिल गरे ।

क्रिप्टोकरेन्सी, हाइपर फण्डलगाायत कारण नेपालबाट ‘क्यापिटल फ्लाई’ भइरहेको सूचना आफूले पाँच महिनाअघि नै थाहा पाएर राष्ट्र बैंकलाई जानकारी गराएको पनि उनले बताए । यो समस्या समाधान गर्न उचित कदम चाल्न नसक्दा अहिले अवैधरूपमा पैसा बाहिरिन थालेको उनको भनाइ थियो ।

प्रतिक्रिया