दलालहरुले घुस नपाएपछि भ्रम फैलाउन अर्थमन्त्रीसँग जोडियो : शाह


काठमाडाैं – अमेरिकाबाट आएको शंकास्पद ४० करोड रुपैयाँ छुटाउन अर्थमन्त्री नै सक्रिय भन्ने समाचारले भ्रम फैलाउन खोजेको र समाचारमा गलत तथ्य राखिएको पृथ्वीबहादुर शाहले बताएका छन् । दलालहरुले घुस नपाएपछि भ्रम फैलाउन अर्थमन्त्रीसँग जोडेर बदनाम गर्ने गरी समाचार लेखाएको हुनसक्ने बुझाइ शाहको छ ।

नेपालमा होली डे एण्ड ट्राभल, पे सेफ रेमिट्यान्स, हार्डवेयरको एक्सपोर्ट/इम्पोर्ट गर्ने, रियल स्टेट र सहकारी समेत सञ्चालन गर्ने शाहको नाममा अमेरिकाबाट शंकास्पद रकम भित्रिएको भन्ने विषय अतिरञ्जित गरेर सार्वजनिक भएको उनले बताएका छन् ।

अर्थमन्त्रीको नाम जोडेर सार्वजनिक भएको विषयको तथ्यांक बंग्याएर समाचार सार्वजनिक गरेको र आफूलाई सोध्दै नसोधी उदृत गरिएको विषयमा पनि शाहले असहमति जनाएका छन् । शाहले बिहीवार राजधानीमा पत्रकार सम्मेलन गरेरै अर्थमन्त्रीको नाम जोडर झूटा र भ्रामक तथ्यहरू सार्वजनिक भएको बताएका छन् ।

उनका अनुसार ४० करोड रकम रोकिएको नभएर १४ करोड रुपैयाँ मात्रै रोकिएको छ । यस्तो रकम २ महिनादेखि नभएर २ वर्षदेखि रोकिएको र कुनै राजनीतिमा नै नभएको व्यवसायीलाई माओवादी कार्यकर्ता भनिएकोमा पनि उनले असन्तुष्टि व्यक्त गरेका छन् ।

शाहले विगत २ वर्ष बन्दाबन्दी हुनुपूर्वदेखि विभिन्न बैंकहरूमा ट्राभल्स र रेमिट्यान्स प्रयोजनका लागि रकम आएको बताए। नेपाल घुम्न आउने र लगानी गर्न आउने विदेशी कम्पनीमार्फत विदेशी नागरिकले आफ्नो कम्पनीमा पठाएको रकम रोकिएको उनले बताए । यस्तो रकमलाई राष्ट्र बैंकले खातामा रोक्का राखेर केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) र सम्पत्ति शुद्धीकरण विभागमा अनुसन्धानका लागि पठाएको थियो ।

अनुसन्धानबाट आफ्नो खातामा रोकिएको रकम वैध भएको र अवैध हुने कुनै आधार नदेखिएको भन्दै २०७८ माघ १७ गते राष्ट्र बैंकलाई पत्र लेखेरै फुकुवा गर्न आग्रह गर्दा समेत अझै खाता रोकिइराखेको बताएका छन् ।

शाहले आफ्नो खातामा २ वर्षदेखि रोकिएको रकम फुकुवा नभएपछि अर्थमन्त्रीलाई सम्बोधन गरेर रकम फुकुवा गराई आफूलाई न्याय दिलाउन आग्रह गरेको बताएका छन् । सम्पत्ति शुद्धीकरणले खाता नम्बर नै उल्लेख गरेर आफ्ना कुमारी बैैंक र एनसीसी बैंकमा रहेको रकम फुकुवा गर्न राष्ट्र बैैंकलाई २०७८ चैत २० गते नै सम्पत्ति शुद्धीकरणले पत्र लेखेको थियो ।

कम्पनीको नाममा आएको पैसा फुुकुवा नभएको र उल्टै राष्ट्रबैंकका अधिकारीहरूलाई पैसा दिएर काम गरिदिने भन्दै विभिन्न दलालहरूमार्फत २५ प्रतिशत अर्थात ३ करोड घुस मागिएको पनि शाहले दाबी गरेका छन् । आफूले घुस दिन इन्कार गरेपछि सबै रकम जफत गर्ने धम्की आएको र सोही समूहले अर्थमन्त्री समेतलाई जोडेर बदनाम गर्ने गरी समाचार लेखाएको हुनसक्ने बुझाइ शाहको छ ।

यस्तो भ्रामक समाचार लेखाउने तथा विदेशी लगानीलाई निरुत्साहित गर्न खोजिएको अर्थमन्त्रीका प्रेस संयोजक अजित अधिकारीले जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ । विज्ञप्तिमा गैरजिम्मेवार तथा कानूनकै बर्खिलाप हुने गरी समाचार लेखिएको पनि उल्लेख गरिएको छ ।

प्रतिक्रिया