पूर्व अर्थमन्त्री शर्मामाथि सकियाे अनुसन्धानको काम, फेला पारेन प्रमाण


काठमाडाैं – बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति संलग्न रहेको भन्ने आरोपका सम्बन्धमा गठित संसदीय छानबिन समितिले अनुसन्धानको काम सम्पन्न गरेको छ । अहिलेसम्मको अनुसन्धानमा बजेट निर्माण प्रक्रियामा अनधिकृत व्यक्ति सहभागी भएको प्रमाण फेला नपरेको समिति स्रोतले बताएको छ ।

समितिले निवर्तमान अर्थमन्त्री जनार्दन शर्मा र बजेट निर्माणमा संलग्न अर्थ मन्त्रालयका अधिकारीसँग छलफल गरेको थियो । समितिले प्रमाणको रुपमा अर्थ मन्त्रालयको सीसीटीभी फुटेज हेरेको थियो । समितिको अनुसन्धान सकिएको र अहिलेसम्म भएका कामबारे बुधबार छलफल हुने समिति सचिव सुरेन्द्र अर्यालले जानकारी दिए । छलफलपछि बुधबार नै प्रतिवेदन लेखनको काम गर्ने समितिको तयारी छ ।

मंगलवार साँझ बसेको समितिको बैठकले नेपाल प्रहरीको फरेन्सिक ल्याबका विज्ञसँग छलफल गरेको थियो । अर्थ मन्त्रालयको सीसीटीभीबाट डिलिट भएको फुटेजबारे अध्ययन गरेको प्रहरीको फरेन्सिक ल्याबका प्राविधिकसँग समितिले मंगलवार साँझ छलफल गरेको थियो । सीसीटिभी फुटेजमा पनि प्रष्ट केही नदेखिएको संसदीय समिति स्रोतले बतायो ।

बजेट निर्माणको क्रममा अनधिकृत व्यक्ति सहभागी भएको भन्ने एमालेको आरोपपछि जनार्दन शर्माले अर्थमन्त्रीबाट राजीनामा दिएका थिए । संसदीय समितिले गरेको सोधपुछमा शर्माले बजेट निर्माणमा आधिकारिक व्यक्तिहरु सहभागी भएको बताएका थिए । संसदीय समितिले सफाइ दिएमा प्रधानमन्त्री शेरबहादुर देउवाले शर्मालाई नै अर्थमन्त्रीमा निरन्तरता दिन चाहेका स्रोतले बतायो । संसदीय समितिको रिपोर्ट कुरेर अर्थ मन्त्रालय अहिले देउवाले नै सम्हालेका छन् ।

प्रतिक्रिया