४ महिनामै गैरसरकारी संस्थामार्फत २९ अर्ब रुपैयाँ वैदेशिक सहायता
काठमाडाैं – सरकारले पछिल्लो चार महिनामा गैरसरकारी संस्थाहरूमार्फत २९ अर्ब रुपैयाँ वैदेशिक सहायता भित्रिएको बताएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री उमा रेग्मीले याे जानकारी गराए।
आज सोमवार सिंहदरबारमा बसेको राष्ट्रिय सभा अन्तर्गतको दिगो विकास तथा सुशासन समितिको बैठकमा बोल्दै उनले अघिल्लो आर्थिक वर्षमा झन्डै नाै अर्ब रुपैयाँमात्रै विदेशी सहयोग आएको स्मरण गराए । मन्त्री रेग्मीले समाज कल्याण परिषद् र मन्त्रालयबीचमा काम गर्ने सबालमा दोहोरोपन देखिएको र त्यसलाई हटाउन आफूले एकद्वार प्रणाली लागू गरिएको दाबी गरे । दातृ संस्थाहरूले देशका लागि केही दिँदैछन् भने हामीले झन्झटिला प्रक्रियालाई हटाउनुपर्ने उनको भनाइ थियो ।
मन्त्री रेग्मीले भने, ‘म आउनुभन्दा पहिला वैदेशिक सहयोग झन्डै नाै अर्ब रुपैयाँ भित्रिएको थियो । मैले कार्यभार सम्हालेको दिनदेखि चार महिनामा २९ अर्ब रुपैयाँ जति वैदेशिक सहयोग भित्रिएको अवस्था छ । अहिले म मन्त्री भएर आएपछि सकेसम्म धेरैभन्दा धेरै छिटो काम गरिरहका छौँ । तर दुई वटा निकायमा उस्तै–उस्तै डुब्लिकेशन भएको हुनाले अलि अप्ठ्याराे अवस्था छ । त्यस कारणले एकद्वार प्रणालीअनुसार काम हुनुपर्छ । हाम्रो देशमा आउने, हाम्रै गाउँघरमा जाने पैसा छ भने झन्झटिलो प्रक्रियालाई समाप्त गरेर छिटो छरितो बनाउनुपर्छ ।’
बैठकमा बोल्दै नेकपा (माओवादी केन्द्र) का सांसद दीनानाथ शर्माले गैरसरकारी संस्थाहरूलाई पारदर्शी बनाउन सरकारको गम्भीर ध्यानाकर्षण गराए । गैरसरकारी संस्थाहरूमा अपारदर्शिता बढ्दै गएको उल्लेख गर्दै उनले नियमन गर्नुपर्ने बताए । सांंसद शर्माले नेपालमा गैरसरकारी संस्थामा बजेट कहाँबाट कसरी आउँछ केही ठेगान नै नभएको दाबीसमेत गरे ।
त्यस्तै नेपाली कांग्रेसका सांसद रमेशजंग रायमाझीले अहिले समाज कल्याण परिषद्लाई भूमिकाविहीन बनाउने काम सरकारले गरेको भन्दै आपत्ति जनाए । उनले पछिल्लो चार महिनामा २९ अर्ब रुपैयाँ वैदेशिक सहयोग कसरी आयो भनेर मन्त्री रेग्मीलाई प्रश्न गरे ।
महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयका सचिव हरिप्रसाद मैनालीले सरकारसँग गैरसरकारी संस्थाहरूको यकिन तथ्याङ्क नभएको बताए । गृह मन्त्रालयले त्यसको तथ्याङ्क लिने काम गरे पनि नवीकरण नगरि खारेज हुने संस्थाहरूका कारण त्याे काम पनि सफल हुन नसकेको उनले बताए ।
उनले एक पटक दर्ता गर्ने तर नवीकरण नगर्ने र फेरि अर्को नयाँ दर्ता हुने भएकाले अहिले कति यस्ता गैरसरकारी संस्थाहरू क्रियाशील भए/नभएको ठम्याउन कठिन रहेको स्मरण उल्लेख गरे ।