

एक खर्ब ६ अर्ब पुनर्कर्जा प्रवाह, सबैभन्दा धेरै पर्यटन क्षेत्रमा

काठमाडौं – नेपाल राष्ट्र बैंकले चालु आर्थिक वर्षको ७ महिनामा १ खर्ब ६ अर्ब १० करोड रुपैयाँ पुनर्कर्जा प्रवाह गरेको छ । चालु आर्थिक वर्षको माघ मसान्तसम्म ग्राहकको मूल्यांकनका आधारमा प्रदान गरिने पुनर्कर्जा १३ अर्ब ६४ करोड र बैंक तथा वित्तीय संस्थालाई एकमुष्ट रुपमा प्रदान गरेर ऋणीले प्राप्त गर्ने पुनर्कर्जा ९२ अर्ब ४६ करोड गरी कुल १ खर्ब ६ अर्ब १० करोड रुपैयाँ पुनर्कर्जा प्रवाह गरेको हो ।
कुल ४४ बैंक तथा वित्तीय संस्थाका २९६० शाखा कार्यालयका २४ हजार २६८ ऋणीले उक्त पुनर्कर्जा प्राप्त गरेको केन्द्रीय बैंकले जनाएको छ । ग्राहक मूल्यांकनका आधारमा प्रदान भएको पुनर्कर्जामध्ये विशेषतर्फ १३ बैंकका २० जना ऋणीले ३ अर्ब ५० करोड प्राप्त गरेका छन् । यस्तै साधारणतर्फ २९ बैंकको ८३ जना ऋणीले १० अर्ब १४ करोड प्राप्त गरेका हुन् ।
आर्थिक वर्षको ७ महिनामा स्वीकृत भएको कुल पुनर्कर्जामध्ये सबैभन्दा धेरै पर्यटन क्षेत्रमा प्रवाह भएको छ । पर्यटन क्षेत्रमा कुल स्वीकृत पुनर्कर्जाको ४९.९७ प्रतिशत प्रवाह भएको छ । यस्तै, जलविद्युत् क्षेत्रमा २३.७६ प्रतिशत र उत्पादनमुलक क्षेत्रमा ८.८२ प्रतिशत पुनर्कर्जा स्वीकृत भएको छ । सोही अवधिमा शिक्षामा ६.२७, अस्पतालमा ५.०४ र निर्माण व्यवसायमा २.४७ प्रतिशत पुनर्कर्जा प्रवाह भएको राष्ट्र बैंकले जनाएको छ ।
गत माघसम्म स्वीकृत भएको कुल पुनर्कर्जामध्ये सबैभन्दा धेरै ५२.५३ प्रतिशत वाग्मती प्रदेशमा प्रवाह भएको छ । दोस्रोमा गण्डकी प्रदेशमा १८.२१ प्रतिशत, लुम्बिनी प्रदेशमा १३.०२, प्रदेश १ मा १२.२०, मधेश प्रदेशमा ३.६१ प्रतिशत र सूदुरपश्चिम प्रदेशमा ०.७२ प्रतिशत पुनर्कर्जा प्रवाह भएको छ । गत पुससम्म ४४ वटा बैंक तथा वित्तीय संस्थामार्फत २ हजार ९ सय ६० शाखाबाट करिब २४ हजार २ सय ६८ जना ऋणीले पुनर्कर्जा सुविधा लिएको राष्ट्र बैंकको तथ्यांक छ ।

