घट्यो शेयर बजार, १६ अंकले परिसूचक घट्दा साढे ८ अर्बको कारोबार


काठमाडौं – अघिल्ला तीन कारोबार दिन लगातार बढेको सेयर बजार आइतबार घटेको छ ।

साताको पहिलो दिन सेयर बजारको परिसूचक नेप्से १६.६८ अंक घटेको हो । सो गिरावटपछि नेप्से २७०६ मा कायम भएको छ ।

आज परिसूचकका साथसाथै कारोबार रकम पनि घटेको छ । बिहीबार १० अर्ब ७९ करोडको कारोबार भएकोमा आज ८ अर्ब ४३ करोडको भयो ।

५३ कम्पनीको मूल्य बढ्दा १९२ को घट्यो भने एउटाको स्थिर रह्यो । बैंकिङ, विकास बैंक, फाइनान्ससहित अधिकांश सेक्टर घटेका छन् । बैंकिङ ०.७०, विकास बैंक ०.७९, फाइनान्स १.२७, होटल तथा पर्यटन १.३६, हाइड्रोपावर १.२२, जीवन बीमा ०.८७, लगानी ०.०६, माइक्रोफाइनान्स ०.५४, निर्जीवन बीमा ०.२२ र अन्य १.०३ प्रतिशत घटे ।

व्यापार १.०२ र उत्पादन ०.५२ प्रतिशत बढे । दुई कम्पनीको मूल्य १० प्रतिशत बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रोलाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत बढेको हो । यी दुवै कम्पनी बजारमा हालै सूचीकृत भएर कारोबार भएकाले केही दिनयता मूल्य १० प्रतिशत बढ्ने क्रम जारी छ ।

त्यस्तै कर्पोरेट डेभलपमेन्ट बैंकको ७.४९, बोटलर्स नेपाल बालाजुको ६.११, राधि विद्युतको मूल्य ५.९३ प्रतिशत बढ्यो । हिमालयन पावर पार्टनरको मूल्य सबैभन्दा धेरै ७.३३ प्रतिशत घट्यो । बलेफी हाइड्रोपावरको ७.२७, सप्तकोशी विकास बैंकको ४.९८ प्रतिशत मूल्य घट्यो ।

रकमका आधारमा धेरै कारोबार भएका पाँच कम्पनीमा क्रमशः राधि विद्युत्, बलेफी हाइड्रोपावर, ङादी ग्रुप पावर, निफ्रा र सानिमा माइ हाइड्रोपावर कम्पनी छन् ।

प्रतिक्रिया