

पहिले ठमेलमा प्रहरीलाई कुटपिट गर्ने शाही अहिले बने नक्कली परीक्षार्थी

काठमाडौं – प्रहरीमाथि कुटपिट गरेको अभियोगमा धरौटीमा रिहा भएका नेकपा एमाले निकट विद्यार्थी नेता गोपालबहादुर शाही फेरि अर्को विवादमा मुछिएका छन् । ठमेलमा प्रहरी कुटपिट गरेको केही समयमै उनी नक्कली परीक्षार्थीको रूपमा पक्राउ परेका हुन् ।
माघ २५ गते काठमाडौंको छाया सेन्टर अगाडि प्रहरी हवल्दार जगुलाल घर्ती र प्रहरी जवान नगेन्द्रराज विष्टमाथि भएको आक्रमणमा संलग्न भएको आरोपमा अनेरास्ववियुका नेता शाहीसहित अन्य चार विद्यार्थी नेता धरौटीमा रिहा भएका थिए। काठमाडौं जिल्ला अदालतले शाहीसहित कमलराज जोशी, नविन सिं ऐर, दिनेश सिग्देललाई १०/१० हजार र रमेश कुमार फुलारालाई १५ हजार रुपैयाँ धरौटीमा छाड्ने आदेश दिएको थियो ।
त्यही गोपाल शाही चैत १० गते भएको स्ववियु निर्वाचनमा अनेरास्ववियुका तर्फबाट अमृत साइन्स क्याम्पस (अस्कल) का सचिवमा निर्वाचित भएका थिए । तर, वैशाख ६ गते काठमाडौँको नयाँ बानेश्वरस्थित रत्नराज्य माध्यमिक विद्यालयबाट उनी नक्कली परीक्षार्थीको रूपमा पक्राउ परे ।
जिल्ला प्रहरी परिसरका अनुसार शाही कालिकोटको शुभकालिका गाउँपालिका वडा नम्बर ७ घर भई हाल काठमाडौँको लैनचौरमा बस्दै आएका थिए। उनीसहित अन्य पाँच जनालाई नक्कली परीक्षार्थीको आरोपमा पक्राउ गरिएको थियो ।
शाहीको पछिल्लो गतिविधिपछि अनेरास्ववियुले उनलाई स्ववियु सचिव पदबाट निष्कासन गरेको छ । एकै वर्षभित्र दुई आपराधिक घटनामा मुछिएका शाहीले विद्यार्थी नेताको छवि माथि गम्भीर प्रश्न खडा गरेका छन् ।

