पल शाहविरुद्ध नवलपुरमा दोस्रो जाहेरी, रक्सी खुवाएर बलात्कार!


काठमाडौं – अभिनेता पल शाहविरुद्ध इलाका प्रहरी कार्यालय नवलपुरको गैंडाकोटमा दोस्रो जाहेरी परेको छ। चार दिनअघि उनीविरुद्ध तनहुँमा बलात्कार आरोपमा नाबालिग एक गायिकाले उजुरी दिएकी थिइन्।

उनकै उजुरीका आधारमा प्रहरीले शाहलाई पक्रन सर्कुलर जारी गरेको थियो। प्रहरीको सर्कुलरसँगै फरार रहेका अभिनेता शाहले जिल्ला प्रहरी कार्यालय तनहुँमा आइतबार आत्मसमर्पण गरेका थिए। अहिले उनी प्रहरी हिरासतमै छन्।

जिल्ला प्रहरी कार्यालय नवलपुरका प्रहरी नायब उपरीक्षक (डिएसपी) दिलिप गिरीले गैँडाकोटमा उजुरी परेसँगै अब आरोपित शाहलाई तनहुँबाट झिकाएर अनुसन्धान गर्ने बताए।

दोस्रो जाहेरीमा पल शाहले जबरजस्ती मादक पदार्थ सेवन पिलाएर बलात्कार गरेको उल्लेख छ। इलाका प्रहरी कार्यालय नवलपुरमा दिइएको जाहेरीमा नाबालिका छोरीलाई माया प्रेम गरेको, विभिन्न झूटा नाटक गरी जबरजस्ती करणी गर्ने पूर्ण विक्रम शाह भनिने पल शाहलाई मुलुकी अपराध संहिता २०७४ को दफा २१९ (१) विपरितको कसुर आधारमा कारबाही गर्न माग गरिएको छ।

यस्तै जाहेरीमा २०७७ चैत ३१ मा बागलुङको गलकोट महोत्सवमा जाँदा र फर्किँदासमेत शाहबाट गाडीमा बाल यौन दुरुपयोग भएको पनि उल्लेख छ। यस्तै २०७८ पुस १४ गते प्रतिवादीले अन्तिम पटक बलात्कार गरेको जाहेरीमा उल्लेख छ।

प्रतिक्रिया