एक करोड मात्राभन्दा बढी खोप ल्याउने सरकारको तयारी, कुन देशबाट कति ?


काठमाडौं – कोरोना भाईरस कोभिड-१९ का संक्रमितको संख्यामा कमी आएपनि सरकारले खोप ल्याउने कार्यलाई निरन्तरता दिएको छ ।

पछिल्लो समय अमेरिकाबाट थप ६२ लाख मात्रा कोरोनाविरुद्धको फाइजर खोप आउने भएको छ। कोभ्याक्स सुविधाबाट आउन लागेको सो खोप चैतसम्म आउने स्वास्थ्य सेवा विभाग व्यवस्थापन महाशाखाको आपूर्ति शाखाका वरिष्ठ फार्मेसी अधिकृत बडेबाबु थापाले बताए।

उनका अनुसार ९२ लाख मात्रा खोप कोभ्यास सुविधाबाट दिने बताए पनि हाल आवश्यकता हेर्दा ६२ लाखले पुग्ने अनुमान भएका कारण त्यतिसम्म ल्याउने तयारी भएको बताए।

उनका अनुसार ६२ लाख मात्रा खोपमध्ये १५ लाख मात्रा खोप आगामी चैत ११ गतेसम्म नेपाल आउने बाँकी खोप क्रमशः ल्याइनेछ। यो खोप १२ वर्षभन्दा माथिका लागि यसअघि नलगाएका वा बुस्टर डोजका लागि प्रयोग गरिने समेत उनले बताए। यसअघि पनि अमेरिकाले नेपाललाई जन्सन एण्ड जन्सन, मोर्डना लगायतको खोप दिइसकेको छ।

यस्तै, चीनबाट पनि अनुदान स्वरूप ४० लाख मात्रा साइनोभ्याक आउँदै छ। यो खोप नेपालमा पहिलोपटक आउन लागेको खोप हो। यसअघि चीनमै निर्मित भेरोसेल खोप चीन सरकारले अनुदान दिएको थियो भने सरकारले पनि थप भेरोसेल खोप खरिद गरेर ल्याएको थियो।

साइनोभ्याक चीनले दिने तय भइसेको छ तर खोप लिनका लागि भने नेपालबाट नै जहाज जानुपर्ने भएको हुनाले सो खोप कहिले आउने भन्ने कुरा यतैबाट तयारी गर्ने र त्यसको लागि गृहकार्य समेत गरिएको आपूर्ति शाखाले जनाएको छ।

यस्तै, सरकारले ५ देखि ११ वर्ष उमेर समूहका बालबालिकालाई दिनका लागि ८४ लाख मात्रा फाइजर खोप खरिद गर्ने तयारी समेत गरिरहेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको विवरणअनुसार हालसम्म नेपालमा कुल जनसंख्याको ६१ प्रतिशत कोरोनाविरुद्धको पूर्ण खोप लगाएका छन् भने लक्षित जनसंख्याको ७९ प्रतिशतले पूर्ण लगाएका छन्। यस्तै १३ लाख १२ हजार ११८ जनाले कोरोनाविरुद्धको बुस्टर डोज अर्थात् तेस्रो मात्रा खोप लगाइसकेका छन्।

प्रतिक्रिया