नेप्सेमा सामान्य गिरावट, कारोबार रकम २ अर्ब ४९ करोडमा खुम्चियो


काठमाडौं – साताको पहिलो कारोबार दिन आईतबार शेयर बजार परिसूचक नेप्से सामान्य घटेको छ । आइतबार नेप्से ३.६६ अंकले घटेको हो । आज नेप्से सूचक ३.६६ अंकले घटेर २५ सय ४३.३९ विन्दुमा झरेको नेपाल स्टक एक्सचेन्जले जनाएको छ । तर, आज यता क वर्गको सेन्सेटिभ इन्डेक्स भने १.३१ अंकले बढ्दै ४९०.१३ विन्दुमा उक्लिएकोे छ ।

आइतबार ४५ हजार ६ सय २२ वटा कारोबारमार्फत ५१ लाख ३९ हजार २ सय ३९ कित्ता शेयर किनबेच भएको छ । जसबाट कारोबार रकम २ अर्ब ४९ करोड ३२ लाख रुपैयाँमा खुम्चिएको छ । अघिल्लो दिनको तुलनामा कारोबार रकम कम हो । गत बिहीबार शेयर बजारमा ३ अर्ब ६२ करोड रुपैयाँ बराबरको शेयर कारोबार भएको थियो ।

यस दिन बैंकिङ, होटल तथा पर्यटन, विकास बैंक, अन्य समूहको उपसूचक धनात्मक भएका छन् भने बाँकी सबै उपसूचक ऋणात्मक भएका छन् । आज कारोबारमा आएकामध्ये १ सय १ वटा कम्पनीको शेयर मूल्य घटेको छ भने ७८ वटा कम्पनीको बढेको छ । बाँकी १३ कम्पनीको शेयर मूल्य स्थिर रहेको छ ।

आज शिवम् सिमेन्टको शेयर मूल्य ७  प्रतिशतभन्दा धेरैले घटेको छ । यस्तै रिलायन्स लाइफ इन्सोरेन्स कम्पनीको शेयर साढे ५ प्रतिशतले घटेको छ । समग्र बजार घटे पनि मैलुङ खोला जलविद्युत् कम्पनीको शेयर झन्डै ८ प्रतिशतले बढेको छ ।

कारोबारका आधारमा शिव्म सिमेन्ट अगाडि रहेको छ । कम्पनीको शेयर आज खरिदबिक्री गर्न मिल्नेभएसँगै सर्वाधिक १५ करोड २२ लाख ८२ हजार २२ रुपैयाँको कारोबार भएको छ । त्यस्तै, नेपाल लाइफ इन्स्यारेन्सको १४ करोड २७ लाख, अपि पावरको ११ करोड १७ लाख, हिमालयन डिस्टिलरीको ८ करोड ३६ लाख र एनटिसिको ८ करोड ३१ लाख रुपैयाँ माथिको कारोबार भएको छ ।

प्रतिक्रिया