पल शाह प्रकरणः ‘हनि ट्रयाप’ कि बलात्कार?

घुस लिने र दिने दुवै दोषी मानिन्छन् भने 'सेक्स' प्रलोभनमा पार्ने र पर्ने दुवैजना दोषी होइनन्?


यौन सम्पर्क राख्नको लागि कम्तीमा १८ वर्ष सहि उमेर हो या होइन। यदि हो भने अहिलेको कानुनले अहिलेको समाज र युवायुवतीलाई १८ वर्षभन्दा पहिला यौनसम्पर्क राख्न रोकेको छ। यदि त्यस्तो हो भने १६ वर्षे जवानी भन्ने जस्ता गीतहरुलाई किन प्रोत्साहित गरियो त ? यस्ता गीतहरुले १६/१७ वर्षका कलिला युवायुवतीहरुलाई उक्साउने नै भयो। अनि १८ वर्ष माथिका युवाहरु फस्ने भए।

कतिपयले भन्छन् मलाई बिहे गर्छु भनेर फकाएर यौनसम्पर्क राख्यो। त्यसपछि के बिहे गर्नैपर्छ ? होइन भने त्यहि घटनामा बिहे गर्यो भने बालविवाहको कानुन लाग्छ, बिहे गरेन भने त्यसलाई बलात्कारको मुद्दा लाग्छ, आखिर कसरी ?

के विवाह एउटा सेक्सको लागि लाइसेन्स मात्र हो ? यदि यस्तो हो भने त वास्तविक पीडितले पनि न्याय चाहिँ पाइरहेको छैन। १८ वर्ष कटेकाहरुले पनि भन्छन् मलाई प्रलोभनमा पारेर सेक्स गरियो। सेक्स गरेको प्रमाण त भेटिएला, तर प्रलोभनमा पारेको प्रमाण के ? ल मानौं प्रमाण भेटियो। जसरी घुस लिने र दिने दुवै दोषी ठहरिन्छन् त्यस्तै गरी प्रलोभनमा पार्ने र पर्ने दुईजना दोषी ठहरिनुपर्दैन ?

नेपालको समाजमा महिलाहरु सुरक्षित छैनन्। यो सहि कुरा हो। यसका लागि हामी रातदिन लडिरहन्छौं। तर, जबसम्म एउटा कानुनले एउटा घटना कसरी घट्छ, घटाइन्छ र फसाइन्छ भन्ने कुराको डेप्थमा पुगेर स्टडी गरिन्न तबसम्म घरभित्रै पुरुषहरु पनि सिकार भइरहेका छन्।

जोडिऔं पल शाह प्रकरणमा

अभिनेता पल शाहको ‘म यस्तो गीत गाउँछु–२’ चलचित्र आजदेखि देशभर प्रदर्शन हुँदैछ। गत बुधबार चलचित्रको ‘प्रिमियर सो’ थियो। तर, पल शाह ‘प्रिमियर सो’ मा उपस्थित हुन सकेनन्। उनै शाह एउटा जघन्य आरोप (बलात्कार) मुद्दामा मुछिएपछि पछिल्लो समय चर्चाको केन्द्रमा छन्। सोही कारण पल शाह ‘प्रिमियर सो’ मा उपस्थित हुन नसकेका हुन्।

माथिको हरफहरु पल शाह प्रकरण चर्चामा रहेको भएर लेखिएको हो। अर्को कुरा शाहविरुद्ध (प्रिमियरकै) सोहीदिन जिल्ला प्रहरी कार्यालय तनहुँमा बलात्कारको आरोप लगाउँदै जाहेरी परेको थियो। जाहेरी परेपछि पल कार्यक्रममा उपस्थित हुन नसक्दा नायिका एवं निर्मात्री पुजा शर्मा भावुक बनिन्। पुजाले उक्त चलचित्रमा पल शाहसँगै मुख्य भूमिकामा अभिनय गरेकी छन्।

आफूलाई बलात्कार गरेको भन्दै पल शाहविरुद्ध उजुरी दिने भर्खर १७ वर्षकी किशोरी हुन्। ती किशोरी पछिल्लो समय दर्शक एवं स्रोतासामू रुचाइएकी गायिका हुन्। (पीडित गायिकाको नाम धेरैलाई थाहा भएपनि यहाँ गोप्य राखिएको छ।)

म्युजिक भिडियोहरुमा सँगै काम गर्ने क्रममा पोखरा, चितवन, बाग्लुङ, तनहुँलगायतका स्थानमा सुटिङ सकेर राति होटलहरुमा बास बस्ने क्रममा पटक–पटक करणी गर्न खोजेको तर सफल हुन नसकेको पीडित गायिकाले दिएको जाहेरीमा उल्लेख छ।

गाडीमा एउटै सिटमा यात्रा गर्दा समेत संवेदनशील अंगमा चलाउने कार्य गरेको पनि जाहेरीमा जनाइएको छ। जाहेरीअनुसार गत वैशाख १४ गते तनहुँको शुक्लागण्डकी नगरपालिका–४ दुलेगौंडास्थित पलको चिनजानको व्यक्ति प्रदीप थापाको घरमा उनीहरु बास बसेका थिए।

त्यसक्रममा राति १२ बजे उनको कोठामा छिरेर विवाहको विश्वास दिलाएर पल शाहले जबर्जस्तीकरणी गरेका थिए। त्यसपछि पनि विभिन्न स्थानमा पटक–पटक जबरजस्ती गरेको जाहेरीमा उल्लेख छ।

जाहेरीपछि पल शाहलाई प्रहरीले खोजी गरेको छ। प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआईबी), काठमाडौं प्रहरी, अपराध महाशाखा र जिल्ला प्रहरी कायालय तनहुँको टोली खटिएको छ। तर, पनि पल शाह पक्राउ परेका छैनन्।

पल शाहमाथि गम्भीर आरोप लागेपछि सिने क्षेत्र सबैभन्दा धेरै तातेको छ। नेपाली सांगीतिक क्षेत्रमा मात्र होइन सामाजिक सञ्जालमा समेत विभिन्न कोणबाट टिकाटिप्पणी भैरहेका छन्। ती नाबालिग गायिका र पल शाहका आ–आफ्नै फ्यान फल्ओर्सहरु छन्।

पल शाह नेपाली फिल्म क्षेत्रका चर्चित नायक भएको कुरा आजको यो अवस्थामा पनि उनीप्रति आफ्ना समर्थकले गरेको समर्थनले प्रष्ट पारिसकेको छ। त्यस्तै सानो उमेरमै कतिपय जीवन्त गीतमार्फत आफ्नो कलाकारितालाई अब्बल साबित गराएकी पीडित नाबालिग गायिकालाई पनि उत्तिकै समर्थन छ।

पल शाहका समर्थकहरुले ती नाबालिग गायिकालाई अनेकथरी भनेर गाली गरेका छन् भने गायिकाका समर्थकहरुले पल शाहलाई गाली गरेका छन्। अधिकांश सामाजिक सञ्जालकर्ताहरुले यो मुद्दा बलात्कार नभएर पल शाहलाई फसाउन खोजिएको पनि भनेका छन्।

अब विषयवस्तुतिर प्रवेश गरौं

नाबालिगसँगको सम्बन्धलाई समाज र कानूनले जायज मान्दैन। सहमतिमै ती नाबालिग गायिकासँग शारीरिक सम्पर्क राखेपनि नेपालको कानूनी व्यवस्था अत्याधिक महिलामैत्री भएकाले पल शाह उम्किन सक्ने सम्भावना न्यून छ।

तर, उनीहरु एकले अर्कोलाई आरोप लगाइरहेका छन्। ती गायिकाले पटक–पटक आफ्नो भनाइहरु परिवर्तन गर्दै आएकी छिन्। पल शाहले आफूलाई षड्यन्त्रपूर्वक फसाउन खोज्नेहरु भन्दै दुर्गेश थापा, सरोज वलीसहित चारजनाको नाम नै सार्वजनिक गरेका छन्।

पीडित भनिएकी गायिकाले अदालतसम्म्म पुग्दा बयान फेर्नसक्ने शंका समेत उत्पन्न भएको छ। कोहीबेला आफूलाई कसैले सिकाएर नबोलेको भन्ने ती गायिका कुनै भिडिओ वा अडिओ सार्वजनिक हुँदा अरुले सिकाएर बोलेकी भन्नसमेत भ्याएकी छिन्।

गायिकाले शाहलाई बलात्कारको आरोपमा जाहेरी दिनुअघि बार्गेनिङ गरेको समेत खुलाशा भइसकेको छ । उनले अन्य कसैसँग मिलेर शाहसँग बार्गेनिङ किन गरिन्? यसले गम्भीर प्रश्न उब्जाएको छ। यस घटनालाई जोडेर कतिपयले यो मुद्दा जबरजस्तीकरणीको हुँदै होइन, बरु अहिले समाजमा ब्याप्त ‘हनि ट्रयापिङ’ को समस्या हो भनेका छन्।

(शरीरको आकर्षणमा फसाएर आफ्नो स्वार्थ साध्ने कला हो – हनिट्रयाप? प्रायः हनी ट्रयापमा महिला शरीरको सुन्दरतालाई हतियारको रुपमा प्रयोग गरिन्छ र पुरुषलाई जालमा पारिन्छ। शारीरिक आशक्तिका कारण पुरुष महिलाको मुट्ठीमा सजिलै आउँछ। सेक्सको लोभमा पुरुषलाई योजनाबद्ध रुपले उसलाई आफूअनुकूल ठाउँ र अनुकुल समयमा फसाइन्छ र स्वार्थपूर्ती गरिन्छ।)

पछिल्लो समय हनिट्रयापको घटनामा नेपालमा प्रशस्त घटेका उदाहरण छ । नेपाल प्रहरीका उच्चपदस्थ अधिकारीदेखि व्यापारी, सिने क्षेत्रका कलाकारहरू समेत यसको शिकार भइरहेको बेलाबखत सञ्चारमाध्यमहरूमा आउने गरेको छ । यस घटनालाई हनिट्रयापमा जोड्नु अन्य केही कारण नभएर ती गायिकाको अडियो सार्वजनिक हुनु हो ।

यहाँ हनिट्रयापबारे किन लेखियो भन्दा ती गायिका सुन्दर युवती हुन्। सोहीकारण पनि पल शाह सहजै ती गायिकाप्रति लोभिए होला। नजिक भए होला। नजिक हुँदाहुँदै मन मिल्यो अनि कुनै सर्तमा शारीरिक सम्पर्क राख्न समेत पछि हटेनन्। एउटा केटा मान्छे न हो एउटी सुन्दर युवती देख्नासाथ लोभिन्छ। र, ती गायिकाको पनि शाहप्रतिको मोह स्टारडम र सेलिब्रेटिजमको आशक्ति नहोला भन्न सकिन्न ।

त्यहि सर्त आज आएर पल शाहलाई घाँडो साबित भएको पनि हुनसक्छ। ती गायिकाले आफूलाई बिहेको प्रलोभन देखाएर शारीरिक सम्बन्ध राखेको भन्दै आएकी छिन्। तर, उक्त सर्त प्रमाणको रुपमा अडिओ सार्वजनिक गरिएको छ। के गायिकाको सर्त नमानेपछि यस्तो अवस्था आएको हो?

१८ वर्षभन्दा पहिला यौनसम्पर्क राख्न नेपालको कानुनले रोकेको छ हामी भनिरहेका छौं। यदि छैन भने १६ वर्षे जवानी भन्ने जस्ता गीतहरुलाई किन प्रोत्साहित गरियो। त्यस्ता गीतहरुमा ती गायिका आफैंले अभिनय गरेकी छिन्। त्यस्तो गीतमा अभिनय गर्न चाहिँ उनलाई कानुनले छेक्दैन?

मन मिल्दा खाउ मायालु, मन भरिएपछि यौन शोषणको बहानामा यति दिन्छस् कि फसाइदिम् भनेर पल शाहलाई धम्क्याएको कुरामा दुईमत छैन।

यता पल शाहले सार्वजनिक गरेको एउटा अडिओमा एक करोड रुपैयाँको कुरा गरेको सुनिन्छ। उक्त समयमा ती गायिका आफैं बोलीरहेकी छन्। सरोज वलीको नाम जोडिएको छ। एक वर्षअघिको घटनालाई किन बार्गेनिङ गर्दै बसिरहिन् ती गायिका?

सरोज वली या अरु कसको सहयोगमा गायिकाले पल शाहसँग १ करोड रुपैयाँ बार्गेनिङ गरिन्? यहीबाट सिधा बुझिने कुरा के हो भने बर्ष दिनसम्म बार्गेनिङ भयो। उनको मागहरु थेग्न नसकिने भएपछि पल साइड लागे। अनि उनलाई फसाउने प्रपञ्च रचिएको हुनसक्छ ।

गायिकामाथि तेर्सिएको केही प्रश्नहरु

१. दिदीहरुले घर हिँड भन्दा किन होटेलमा बस्न राजी भएको?

२. चुकुल नलगाएर एक्लै कोठामा किन सुतेको? चुकुल लगाउनपर्दैन? या अरु महिला साथीको कोठामा जानू पर्दैन?

३. पलले हातपात गर्ने नियत देख्दा किन नचिच्याएको?

४. आफ्नो उमेरको ख्याल आफैले किन नगरेको?

५. बलात्कार नै भएपनि अर्को दिन किन केही भन्न नसकेको?

६ किन बार्गेनिङ गर्दै वर्षौं समय बिताएको?

यी प्रश्नहरु ती गायिकालाई सोधिएको हो। गायिका एउटा नाबालिक हुन्, नाबालिकलाई एउटा होटेलमा छाडेर आउने ती दिदीहरुको कसुरको भागीदार बन्नु पर्छ कि पर्दैन? घटनापछि बिहे गरे ठिक नत्र बेठिक भन्ने परिवारको मानसिकता ठीक हो ?

अब एकथरीले भन्न सक्छन् ती गायिकाको जस्तै समस्या तेरो घरमा परेको भए चाल पाउँथिस्। तर, कुरा त्यस्तो होइन, अर्काको कुरा सुनेर आफ्नो करियर बनाउने उमेरमा ती गायिकाले यौवन साँट्दै हिँड्नु राम्रो होइन भनेर सोच्नुपर्ने होइन?

पल शाह पीडक या पीडित जे भए पनि अहिलेको समयमा महिला अधिकारको दुरुपयोग भएको हो कि ? पल शाहले विवाह गर्छु भन्दा ती गायिका नाबालिग नहुने, अहिले आएर चाहिँ नाबालिग भन्ने। जतिबेला उनीहरुको मन मिल्यो केही भएन, मन मिलेन अनि मुद्दा?

यतिकुरा लेखिरहँदा यहाँ एउटा कुरा लेख्नैपर्ने हुन्छ।

ग्ल्यामर क्षेत्रमा लागेकाहरु सबै यस्तै हुन्छन्, यसले अर्थात् गायिकाले सोझो मान्छे पल शाहलाई फसाइन् भन्न खोजिएको चाहिँ होइन । यो प्रकरण कानुनी प्रक्रियामा गइसकेको हुँदा ‘दोषी नउम्किउन् र निर्दोष नफसुन्’ भन्ने अदालतको मान्यता यस मुद्दामा सार्थक सिद्ध होस् ।

 

प्रतिक्रिया