एसपीको सरुवा संशोधनः विवादित अधिकृतलाई जिल्ला इन्चार्ज!


काठमाडौं – आइतबार राती प्रहरी प्रधान कार्यालयले १८ जना प्रहरी उपरीक्षक (एसपी)को सरुवा निकालेको सूची सार्वजनिक गर्यो। तर, केही समयमै उक्त सरुवा सूची संशोधन गर्न बाध्य भयो।

सुरुमा जिल्ला प्रहरी कार्यालय गुल्मीमा दीपक कुमार बस्नेतलाई पठाइएको थियो। तर, एकैछिनमा संशोधन गरी एसपी भिम दाहाललाई गुल्मीमा पठाइएको छ। बस्नेत यसअघि पनि एसपी हुँदा गुल्मी बसेको खुलेपछि सरुवा सूची संशोधन गरिएको हो।

यसरी सरुवा संशोधन गरिएपछि सरुवाको सूची नै प्रहरी प्रधान कार्यालयले आफ्नो वेभसाइटमा सार्वजनिक गरेको छैन। तर, यससम्बन्धि परिपत्र भने भइसकेको छ। सरुवा सूची संशोधन भएपछि सार्वजनिक नगरिएको हो।

यता प्रहरी प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) विष्णु केसीले भने सरुवा भएको सूचीबाट एसपी बस्नेतको नाम सच्याइएको बताए। केही प्राविधिक कारणले त्यस्तो भएको हुनसक्ने एसएसपी केसीको भनाइ छ।

‘संशोधन भएपछि बस्नेतको ठाउँमा एसपी भीम दाहालको सरुवा भएको छ,’ एसएसपी केसीले भने।

आइतबार निस्केको सरुवा सूचीमा गुल्मीसहित सात जिल्लाका एसपी फेरिएका छन्। गोरखा, बागलुङ, सिन्धुली, रुपन्देही, धनकुटा र डोटीका एसपीको सरुवा भएको प्रधान कार्यालयले सार्वजनिक गरेको सूचीमा देख्न सकिन्छ।

सरुवामा जिल्ला इन्चार्ज पाउनेहरुमा बदनाम प्रहरी अधिकृतहरु छन्। बाग्लुङमा एसपी दयानिधी ज्ञवालीलाई पठाइएको छ। उनी घुसकाण्डमा परेका प्रहरी अधिकृत हुन्। ललितपुरमा हुँदा उनी पैसा असुलीमा परेका थिए। चितवनमा खटिँदा पनि उनी विवादमै तानिए।

दंगा नियन्त्रण गण बेलचौतरा तनहुँका प्रमुख हुँदा ज्ञवालीमाथि आफ्नै कार्यालयकी एक विवाहित महिला प्रहरी जवानमाथि यौन दुर्व्यवहार गरेको उजुरी समेत परेको थियो।

त्यस्तै बाग्लुङबाट गत वर्ष कारबाही स्वरुप तानिएका शारदा चौधरीलाई डोटी पठाइएको छ। बाग्लुङमा बस्दा चौधरीमाथि आर्थिक लेनदेनमा मुद्दा मिलाएको आरोप लागेको थियो।

जिल्ला प्रहरी कार्यालय गोरखा पठाइएका एसपी केदार खनाल पनि पटक–पटक कारबाहीमा परेका अधिकृत हुन्। कीर्तिपुर वृत्तको प्रमुख हुँदा कार्यालयमै मदिरा पिएको खुलेपछि तत्कालिन काठमाडौं परिसर प्रमुख रमेश खरेलले उनलाई पक्राउ गरेर थुनेका थिए।

धनकुटा पठाइएका लक्ष्मीराज अधिकारी कार्यक्षमतामा कमजोर अधिकृत मानिन्छन्। सिन्धुली पठाइएका विमलराज कँडेल पनि पटक–पटक कारबाही भोगेका अधिकृत हुन्।

त्यस्तै, विवादमा तानिएपछि स्याङ्जाबाट ६ महिनामै कँडेललाई तानिएको थियो। ठाकुरप्रसाद ज्ञवाली प्रहरी महानिरीक्षक (आईजी) भएपछि उनलाई स्याङ्जा पठाइएको थियो। सरुवा भइसकेपछि सामान्यतया १ बर्षसम्म सरुवा हुँदैन।

यस्तै गृहमन्त्री बालकृष्ण खाणको निर्देशनमा जिल्ला प्रहरी कार्यालय रुपन्देहीमा एसपी रवीन्द्र रेग्मीलाई पठाइएको छ। रेग्मी पनि विवादित प्रहरी अधिकारी हुन्। आफु निकटकालाई नजिक राख्न सक्ने रेग्मी पत्रकारहरुलाई पनि उत्तिकै नजिक राखेर काम गर्ने गर्छन्।

कमजोर कार्यसम्पादनलाई कारण देखाउँदै ९ असोज २०७७ मा एसपी रेग्मीलाई जिल्ला प्रहरी कार्यालय धादिङबाट काठमाडौं तानिएको थियो।

यस्तै गुल्मी सरुवा भएका एसपी दाहाल पूर्व क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय इटहरीमा कार्यरत रहँदा विवादमा तानिएका थिए। यस्तै उदयपुर प्रहरी प्रमुख रहँदा समेत दाहालको कार्यसम्पादनप्रति प्रहरी प्रधान कार्यालय सन्तुष्ट थिएन।

प्रतिक्रिया