


चुनाव हुनुभन्दा १० दिनअघि नेपाल प्रहरी र सशस्त्रमा आईजीपी फेरिने, त्यसपछिको नेतृत्वमा को?

काठमाडौं – सरकारले आगामी ३० वैशाखमा स्थानीय तहको निर्वाचनको मिति घोषणा गरेको छ। चुनाव सम्पन्न गराउन नेपाल प्रहरी र सशस्त्र प्रहरीको ठूलो भूमिका रहन्छ।
नेपाल प्रहरी र सशस्त्र प्रहरी दुवैमा स्थानीय तह निर्वाचनको मुखमा नेतृत्व परिवर्तन हुँदैछ। दुवै प्रहरीमा नेतृत्व चयनका लागि अहिलेदेखि नै दौडधुप र चलखेल सुरु भइसकेको छ।
निर्वाचन हुनुभन्दा १० दिन पहिले नेपाल प्रहरीको नेतृत्व फेरिनेछ भने एक महिना पहिले सशस्त्र प्रहरी प्रमुख पनि घर जानेछन्।
आगामी १९ वैशाखमा नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजी) शैलेश थापा क्षेत्रीले अवकाश पाउँदैछन्। नेपाल प्रहरीका आईजी क्षेत्रीसँगै प्रहरी नायब महानिरीक्षक (डिआईजी)माथिका धेरैजसो पद रिक्त हुन्छ।
जतिबेला आईजीपी थापासँगै उनको ब्याचका १६ जनाले अवकाश पाउँछन्। ३० वर्षे सेवाहदका कारण अनिवार्य अवकाश पाउनेमा ३ प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी), १२ डिआईजी र एकजना प्रहरी बरिष्ठ उपरीक्षक (एसएसपी) छन्।
त्यसपछि मुख्यगरी दुई एआईजी स्वभाविक नेतृत्वको लागि प्रतिस्पर्धामा छन्। एआईजीद्वय विश्वराज पोखरेल र सहकुलबहादुर थापा। दुवै जनालाई तत्कालिन केपी ओली सरकारले विशेष दरबन्दी थपेर बढुवा गरेको थियो।
त्यही बीचमा सत्ता फेरबदल भयो। दुवै एआईजी हालको गठबन्धनका रोजाइका भने होइनन्। तर अहिलेसम्म विकल्प पनि छैन। दुवैजना त्यतिबेला नेकपा एमाले निकट रहेकोमा अहिले कांग्रेस निकट बन्ने प्रतिस्पर्धामा छन्।
यता, लामो प्रयासपछि गत बिहीबारको मन्त्रिपरिषद्को बैठकले एआईजीको दरबन्दी थप्ने निर्णय गरेको छ। एआईजी बढुवामा एक दर्जन डिआईजीहरु प्रतिस्पर्धामा छन्। पोखरेल र थापाकै ब्याचका डिआईजीको सम्भावना बलियो छ।
जसमा धीरजप्रताप सिंह, उत्तम सुवेदी, रवीन्द्र धानुकलगायत छन्। उनीहरुको सत्ता गठबन्धनसँग राम्रो सम्बन्ध भएकाले पनि बढुवामा सम्भावना बढेको हो। अहिले एआईजी भए वैशाखमा आईजीको प्रतिस्पर्धामा भइने उनीहरुको विश्वास छ।
एआईजीको दरबन्दी थप हुनुले नेतृत्व चयन प्रक्रिया झन् पेचिलो बन्ने निश्चित छ। प्रधानमन्त्री शेरबहादु देउवा चुनावमा आफूअनुकुलका व्यक्तिलाई प्रहरी नेतृत्व बनाउन लागिपरेका छन्।
जसमा डिआईजी सिंहको सम्भावना बढ्दो रहेको छ।
सशस्त्र प्रहरीमा अर्याल, पौडेल र गौतमबीच प्रतिस्पर्धा!
आगामी २८ चैतमा सशस्त्र प्रहरी महानिरीक्षक (आईजी) शैलेन्द्र खनालले चार वर्षे सेवाअवधि पुरा गरी अवकाश पाउँदैछन्।
त्यसपछि तीन हप्ताका लागि उनकै ब्याची सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) पुष्पराम केसी र रामशरण पौडेलमध्ये एक आईजी हुनेछन्।
तर, निर्वाचनको मुखमा तीन हप्ताका लागि आईजी नियुक्त गर्न नहुने भनेर समेत लबिङ भइरहेको छ। खनालसँग आईजीको प्रतिस्पर्धामा रहेका केसी सशस्त्र प्रहरी महानिरीक्षकका रुपमा आफ्नो नाम लेखाउने रहरमा छ।
तर, उनलाई अर्का एआइजी पौडेलले पनि टक्कर दिइरहेकाले तीन हप्ता आईजीमा समेत चलखेल हुने सम्भावना देखिएको छ।
खनालपछि केसी आईजीपी भए उनको कार्यकाल जम्मा २२ दिनमात्र हुनेछ। वैशाख १९ पछि सशस्त्र प्रहरीले पनि नयाँ नेतृत्व पाउनेछ।
त्यसपछि सशस्त्र प्रहरीको नेतृत्वमा डिआइजीहरु राजु अर्याल, नारायदत्त पौडेल तथा चन्द्रप्रकाश गौतमबीच प्रतिस्पर्धा हुनेछ।
प्रतिस्पर्धाको एक नम्बरमा छन्, डिआईजी अर्याल। अर्यालपछिको वरियतामा छन्, डिआईजी पौडेल र तेस्रोमा गौतम। दोस्रो र तेस्रो नम्बरमा रहेका पौडेल र गौतम पनि आईजीका प्रतिस्पर्धी हुन्।
आफ्ना ब्याचमेटहरु मध्येबाट एक नम्बरमा भएको हुनाले अर्यालको सम्भावना बढी रहेको छ।
उनीहरुमध्ये एकलाई अहिले नै एआईजीको एक दरबन्दी थपेर भावी आइजीपीमा पक्का गर्ने भनेर केही बिचौलियाहरु सक्रिय भएका छन्। यसले सशस्त्र प्रहरी नेतृत्व चयनमा आर्थिक चलखेल हुने संकेत देखिएको छ।

