एचआइभी नियन्त्रण गर्न पञ्चवर्षीय रणनीतिक योजना सार्वजनिक


काठमाडौं – स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले राष्ट्रिय एचआइभी रणनीतिक योजना सार्वजनिक गरेको छ । राष्ट्रिय एड्स तथा यौनरोग नियन्त्रण केन्द्रले सन् २०२१ देखि २०२६ सम्म पञ्चवर्षीय रणनीतिक योजनाअन्तर्गत एचआइभी सङ्क्रमणलाई नियन्त्रण गर्ने लक्ष्य लिएको छ ।

आज मन्त्रालयका सचिवद्वय डा रोशन पोखरेल र देवकुमारी गुरागाईंले संयुक्तरूपमा सो सार्वजनिक गर्नुभयो । सचिव गुरागाईंले एचआइभी दिगो विकास लक्ष्यमा पुग्नका लागि एचआइभी सङ्क्रमण नियन्त्रण गर्न योजनाले महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए । उनले नेपाल सरकारले एचआइभी नियन्त्रण गर्न लागि परेको र यसमा दातृ निकायको पनि सहयोग आवश्यक भएको बताए ।

स्वास्थ्य मन्त्रालयका प्रमुख विशेषज्ञ डा गुणराज लोहनीले एचआइभी सङ्क्रमितप्रति समाजले हेर्ने व्यवहारमा परिवर्तन आवश्यक रहेको बताए । स्वास्थ्य सेवा विभागका महानिर्देशक डा दीपेन्द्ररमण सिंहले रणनीतिक योजनाले एचआइभी नियन्त्रण गर्न सहयोग गर्ने बताए । उनले एचआइभी रोग स्वास्थ्य रोग मात्र नभएर सामाजिक रोग भएकोले सबैको सहयोगबाट नियन्त्रण गर्न सकिने बताए ।

केन्द्रका निर्देशक डा सञ्जयकुमार ठाकुरले अहिलेको रणनीतिक योजना यसअघिको सन् २०१६ देखि २०२१ रणनीतिक योजनाकै निरन्तरता रहेको भन्दै सन् २०३० सम्म एचआइभी/एड्सको अन्त्य गर्ने लक्ष्य हासिल गर्ने सहयोगी बन्ने बताए ।

उनले रणीतिक योजनाअनुसार सन् २०२६ सम्म एचआइभी सङ्क्रमितमध्ये ९५ प्रतिशतमा एचआइभीको अवस्था पहिचान गर्ने, ९५ प्रतिशतलाई उपचारको व्यवस्था गर्ने र ९५ प्रतिशत सङ्क्रमितमा भाइरसको भार न्यूनीकरण गर्ने बताए । उनले यस रणनीतिक योजनाले नयाँ एचआइभी सङ्क्रमण र एड्सबाट हुने मृत्युदरमा कमी ल्याउँदै एचआइभी सङ्क्रमितको स्वास्थ्य र समग्र अवस्थाको सुधार ल्याउने बताए ।

योजनामा नयाँ एचआइभी सङ्क्रमणलाई ९० प्रतिशतले कम गर्ने, आमाबाट बच्चामा एचआइभी सङ्क्रमण उन्मूलन गर्ने, जन्मजात भिरङ्गीको केस दर प्रतिलाख जीवित जन्ममा ५० वा सोभन्दा कम गर्ने लक्ष्य राखिएको छ । योजनामा एचआइभी सङ्क्रमित व्यक्तिको स्वास्थ्यसम्बन्धी परिमाणमा सुधार ल्याउने, एचआइभी सङक्रमित तथा मुख्य समूहमा एचआइभी सम्बन्धित असमानतामा कमी ल्याउने उल्लेख छ ।

यस्तै १५ देखि २४ वर्ष उमेर समूहका युवामा एचआइभी व्याप्तता दर ०.०२० प्रतिशतमा ल्याउने तथा प्रतिएक हजार जनसङ्ख्यामा एचआइभी सङ्क्रमण ०।०२० प्रतिशतमा ल्याउने लक्ष्य राखिएको छ । अहिले १५ देखि ४० वर्ष उमेर समूहमा एचआइभी व्याप्तता दर ०।१३ प्र्रतिशत रहेको छ ।

नेपालमा सुईद्वारा लागुऔषध लिनेलगायत मुख्यतः असुरक्षित यौन सम्पर्क गर्ने, यौनकर्मी पुरुष तथा महिला र तिनका ग्राहक, पुरुष समलिङ्गी तथा तेस्रो लिङ्गी, आप्रवासी कामदार र कैदीबन्दी एचआइभी सङ्क्रमणको उच्च जोखिममा छन् । अहिले नयाँ सङ्क्रमण दर प्रवासीमा २५ प्रतिशत, पुरुषसँग यौन सम्पर्क गर्ने पुरुष तथा ट्रान्सजेण्डर व्यक्तिमा १९ प्रतिशत छ ।

महिला यौनकर्मीमा नौ प्रतिशत, पुरुष यौनकर्मीमा आठ प्रतिशत र सुईबाट लागुपदार्थ लिने व्यक्तिमा दुई प्रतिशत रहेको छ । नेपालमा अहिलेसम्म ३७ हजार ५९६ जना सङ्क्रमित रहेका छन् । सरकारले सन् २०३० को अन्त्यसँगै एचआइभी तथा एड्सको महामारीको पनि अन्त्य गर्ने लक्ष्य लिएको छ ।

प्रतिक्रिया