

आवासीय चिकित्सकहरूको आन्दोलनमा सरकारी मेडिकल कलेजहरूको ऐक्यबद्धता

काठमाडौं – निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सकहरूको चलिरहेको आन्दोलनमा पाँचवटा सरकारी मेडिकल कलेज र स्वास्थ्य प्रतिष्ठानका आवासीय चिकित्सकहरूले ऐक्यबद्धता जनाएका छन्।
चिकित्सा शिक्षा आयोगको १६औं बैठकको निर्णय कार्यान्वयनका लागि जारी दवाव र आन्दोलनमा आफ्नो समर्थन रहेको एलाइन्सले जनाएको छ।
गठबन्धनद्वारा जारी विज्ञप्तिमा निजी क्षेत्रका आवासीय चिकित्सकहरूले आफ्नो मागको कार्यान्वयनका लागि निरन्तर आन्दोलन गरिरहँदा समस्या समाधानतर्फ कुनै प्रभावकारी प्रगति नदेखिएको र त्यसैले ऐक्यबद्धता पुर्याउने निर्णय गरिएको जनाइएकाे छ । विज्ञप्तिमा भनिएको छ, “हामी विगत दुई दिनदेखि अस्पतालको आकस्मिक सेवा बाहेक अन्य सेवामा सहभागी भएका छैनौँ।”
विज्ञप्तिमा बिरामीहरूको समस्याप्रति आफूहरूलाई पूर्ण बोध रहेको र आन्दोलनका कारण सिर्जना भएको असुविधाप्रति दुःख व्यक्त गरिएको छ। एलाइन्सले भनेको छ, “आजसम्म सरोकारवालाबाट कुनै उपलब्धिमूलक परिणाम नआएपछि भोलिदेखि सम्पूर्ण आवासीय चिकित्सकहरूले इमर्जेन्सी सेवा बाहेक अन्य सेवा बहिष्कार गर्ने निर्णय गरेका छौँ।”
साथै, विज्ञप्तिमा स्नातकोत्तर सञ्चालन निर्देशिका तुरुन्त तयार गरी लागू गर्न, जसमा वैज्ञानिक कार्य समय र बिदा प्रावधानसमेत समावेश हुने माग गरिएको छ। माग सम्बोधन नगरेमा अझ सशक्त आन्दोलनात्मक कार्यक्रमहरू घोषणा गर्ने चेतावनी दिइएको छ।

