

स्वास्थ्यमन्त्री र आन्दोलित चिकित्सकबीच वार्ता जारी

काठमाडौं – निजी मेडिकल कलेजमा कार्यरत आवासीय चिकित्सक र स्वास्थ्यमन्त्री प्रदीप पौडेलबीच स्वास्थ्य मन्त्रालयमा वार्ता जारी छ । चिकित्सकहरुले सरकारी सेवासरह आठौँ तहको निर्वाह भत्ता माग गर्दै २९ दिनदेखि आन्दोलन गर्दै आएका छन् ।
आज बिहान माइतीघर मण्डलामा प्रदर्शनपछि स्वास्थ्यमन्त्री पौडेलले आन्दोलनरत चिकित्सक प्रतिनिधिहरुलाई मन्त्रालयमा छलफलका लागि बोलाएका थिए । वार्तामा नेपाल चिकित्सक संघका अध्यक्ष डा. अनिल कार्की, आवासीय चिकित्सकले गठन गरेको स्वास्थ्यकर्मीका लागि सुरक्षित कार्यस्थल संघर्ष समितिका संयोजक शेषराज घिमिरे, कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका पूर्व उपकुलपति डा. मंगल रावललगायतको उपस्थिति रहेको छ ।
चिकित्सकहरुले २४ घण्टाभित्र आफ्ना माग सम्बोधन नभए शुक्रवारदेखि देशभर आकस्मिकबाहेक सबै सेवा ठप्प पार्ने चेतावनी दिएका छन् । नेपाल चिकित्सा शिक्षा आयोगको १६औं बैठकले आवासीय चिकित्सकलाई सरकारी आठौँ तह बराबरको भत्ता दिन निर्देशन दिएको भए पनि निजी मेडिकल कलेज सञ्चालकहरुले त्यो सम्भव नभएको अडान लिएका छ न्।
उक्त समस्या समाधानका लागि शिक्षा सचिव दीपक काफ्लेको संयोजकत्वमा ११ सदस्यीय कार्यदल गठन गरिएको छ । कार्यदलले वैशाख १५ गतेभित्र अधिकतम सिट संख्या र शुल्क निर्धारणको प्रतिवेदन बुझाउनु पर्नेछ।
समाधान नभए स्वास्थ्य सेवा अवरुद्ध हुने जोखिम बढ्दै गएको चिकित्सक संघले चेतावनी दिएको छ ।

