५ सयभन्दा बढी संक्रमित रहेका नेपालका यी १७ जिल्ला
काठमाडौं – पछिल्ला दिनमा कोरोना संक्रमितको संख्या बढ्दै गएको नेपालमा ५ सय भन्दा बढी संक्रमित रहेका १७ जिल्ला पुगेका छन् ।
स्वास्थ्य मन्त्रालयका अनुसार पछिल्लो अपटेडमा थपिएका ८४५४ संक्रमितपछि नेपालका ६ प्रदेशका १७ जिल्लामा पाँच सय भन्दा बढी संक्रमित देखिएका छन् । कर्णाली प्रदेशका कुनै पनि जिल्लामा ५ सय भन्दा बढी संक्रमित पुगिसकेका छैनन् ।
मन्त्रालयका अनुसार प्रदेश नं. १ का मोरङ, सुनसरी र झापा, मधेश प्रदेशको धनुषा, त्यस्तै बागमती प्रदेशको काठमाडौं, भक्तपुर, ललितपुर, मकवानपुर, चितवन, काभ्रेपलाञ्चोक र नुवाकोटमा ५ सय भन्दा बढी संक्रमित रहेका छन् ।
त्यस्तै गण्डकी प्रदेशका कास्की र नवलपरासी पूर्व, लुम्बिनी पदेशमा बाँके, रुपन्देही र दाङ र सुदूरपश्चिम प्रदेशमा कैलालीमा ५ सय भन्दा बढी संक्रमित रहेको मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार कर्णाली प्रदेशका कुनै पनि जिल्लामा ५ सय भन्दा बढी संक्रमित रहेका छैनन् ।
नेपालमा अहिले कोरोनाको शून्य संक्रमित जिल्ला कुनै पनि नरहेको जनाइएको छ ।
मन्त्रालयका अनुसार गत २४ घन्टामा देशभर ८४५४ जनामा कोरोना पुष्टी भएको छ भने ५ जनाको मृत्यु भएको छ । त्यस्तै ४४३३ जना कोरोनामुक्त भएको पनि मन्त्रालयले जनाएको छ ।
अहिले नेपालमा सक्रिय संक्रमितको संख्या ९० हजार ६७ पुगेको पनि मन्त्रालयले जनाएको छ ।