डा. मिश्रविरुद्ध अवैध सम्पत्तिको आर्जनको आरोप, अख्तियारलगायतका निकायमा उजुरी


काठमाडौं – भ्रष्टाचार र अनियमितताका घटना सार्वजनिक भइरहने वीर अस्पतालमा पछिल्लो समय अर्को घटना सार्वजनिक भएको छ । मेडिकल माफियासँगको मिलेमतोमा अवैध सम्पत्ति आर्जन गरेको आरोपमा कार्डियोलोजिस्ट कन्सल्ट्यान्ट डा. दिपक कुमार मिश्रविरुद्ध विभिन्न निकायमा उजुरी परेको छ ।

अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायत विभिन्न निकायमा डा. मिश्र विरुद्ध निमित्त निर्देशक नै दबाब दिएर अवैध सम्पत्ति आर्जन तथा गैरकानुनी लगानी गरेको उजुरीमा उल्लेख गरिएको छ । साथै उजुरीमा डा. मिश्रले आफ्नो अधिकारक्षेत्रबाहिर गएर खरिद, लेखा, प्रशासन र स्टोरमा हस्तक्षेप गर्ने गरेको उल्लेख गरिएको छ । साथै उनले मेडिकल माफियासँगको मिलेमतोमा अस्पतालका लागि आवश्यक पर्ने विभिन्न खरिदहरुमा बिचौलियाको भूमिका निर्वाह गरी करोडौं रुपैयाँ असुली गरेको उल्लेख गरिएको छ ।

त्यस्तै डा. मिश्रविरुद्ध प्रधानमन्त्री कार्यालय, स्वास्थ्य मन्त्रालय, राष्ट्रिय सतर्कता केन्द्र, सम्पत्ति शुद्धिकरण विभाग, अख्तियार दुरुपयोग अनुसन्धान आयोगलगायतका निकायमा छानबिन तथा कारबाहीको माग गरिएको छ ।

साथै उनले श्रीमतीको नाममा गैरकानुनी संस्था स्थापना गरी विभिन्न मेडिकल उपकरण तथा सामाग्रीहरुको खरिदमा अनियमितता गरेको पनि उल्लेख गरिएको छ । साथै डा. मिश्रले लेखा तथा खरिद शाखामा अनावश्यक दबाब दिई विभिन्न सामाग्रीको खरिदको भुक्तानीमा कमिशन लिने गरेको पनि उल्लेख गरिएको छ ।

यस बारेमा डा. मिश्रसँग सम्पर्क गर्ने प्रयास गर्न सम्पर्क भने हुन सकेन ।

 

प्रतिक्रिया