मुडभरीद्वारा बाढी प्रभावित क्षेत्रमा अत्यावश्यक औषधि हस्तान्तरण


नुवाकोट- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको बाढीका कारण प्रभावित तटीय क्षेत्रका बासिन्दालाई लक्षित गरी अत्यावश्यक औषधि उपलब्ध गराइएको छ। नुवाकोटको बेलकोटगढी नगरपालिका वडा नं. ३ कुमारी निवासी तथा वीर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी दीपक मुडभरीले बाढी प्रभावित क्षेत्रका स्वास्थ्य संस्था तथा होल्डिङ सेन्टरहरूमा उक्त औषधि हस्तान्तरण गरेका हुन्।

बाढीका कारण सिर्जित कठिन परिस्थितिमा दीर्घरोगीहरूलाई पर्न सक्ने समस्यालाई मध्यनजर गर्दै स्थानीय जनप्रतिनिधि र स्वास्थ्यकर्मीहरूको माग बमोजिम औषधि उपलब्ध गराइएको मुडभरीले बताए। हस्तान्तरण गरिएका औषधिहरूमा मुख्यगरी मुटुरोग, मधुमेह, दम, थाइराइड, प्रोस्टेट र छालासम्बन्धी दीर्घरोगीहरूले दैनिक रूपमा सेवन गर्नुपर्ने अत्यावश्यक औषधिहरू रहेका छन्।

उनले तल्लोपिप्लाटारमा रहेको आयुर्वेद चिकित्सालय, विदुर नगरपालिका वडा नं. १ को शहरी स्वास्थ्य केन्द्र तथा गेर्खुसार शहरी स्वास्थ्य केन्द्र लगायतका विभिन्न स्वास्थ्य संस्थाहरूलाई उक्त औषधिहरू हस्तान्तरण गरेका हुन्।

बाढी र प्राकृतिक विपद्पछि तटीय तथा प्रभावित क्षेत्रमा सरुवा रोगको संक्रमण तीव्र रूपमा फैलने जोखिम उच्च रहने हुनाले तीनै तहका सरकार समयमै सतर्क हुनुपर्नेमा स्वास्थ्यकर्मी मुडभरीले जोड दिए।

विपदपछिको स्थितिमा हुनसक्ने सम्भावित स्वास्थ्य संकट टार्न संघीय स्वास्थ्य मन्त्रालय, बागमती प्रदेश सरकार र स्थानीय तहहरूले अहिल्यैदेखि एकीकृत रूपमा काम सुरु गर्नुपर्ने उनको भनाइ छ। विशेषगरी प्रभावित क्षेत्रमा जनचेतना अभिवृद्धि, शुद्ध खानेपानीको व्यवस्थापन, मानसिक स्वास्थ्य काउन्सिलिङ (परामर्श) र खानपानमा स्वच्छता जस्ता विषयमा तत्काल ध्यान दिन आवश्यक रहेको उनले बताए।

प्रतिक्रिया